PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

चर्को पैसा तिरेर हेलिकप्टरबाट उपचारका लागि काठमाडौं आए पनि अस्पतालमा अक्सिजन नहुँदा कोरोनासँग हार्न वाध्य भए कृष्णमान



स्वेच्छा राउत

चर्को पैसा तिरेर हेलिकप्टरबाट उपचारका लागि काठमाडौं आए पनि अस्पतालमा अक्सिजन नहुँदा कोरोनासँग हार्न वाध्य भए कृष्णमान

पोखराका कृष्णमान गुभाजुमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। संक्रमणसँगै स्वास्थ्यमा खराबी देखिएपछि उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो, सहजै उपचार होस् भनेर। वैशाख २० गते कौशलटारस्थित भक्तपुर अन्तर्राष्ट्रिय अस्पतालको आइसीयूमा उनलाई भर्ना गरियो।

बिहीवार साँझ भतिज अवेश बज्राचार्य गुभाजुलाई खाना लिएर अस्पताल पुगे। खाना खुवाए र लाजिम्पाटस्थित घर फर्किए। उनी घर पुग्नासाथ खबर आयो - 'अस्पतालमा अक्सिजन सक्कियो रे! तत्काल अर्को अस्पतालमा सार्नु भनेका छन्।'

कोभिड-१९ महामारीका बेला कहाँ तत्काल पाउनु आइसीयूमा शय्या? त्यसमाथि संक्रमितका लागि।

अवेश काठमाडौंका अन्य अस्पतालमा सम्पर्क गर्दै, शय्या खोज्दै कौशलटार पुगे। त्यहाँ पुग्दा आइसीयूका दश जना बिरामीलाई पालैपालो बाहिर निकालिँदै रहेछ।

बल्लबल्ल कृष्णमानका लागि अल्का अस्पतालमा शय्या मिल्यो। उनलाई अक्सिजन सपोर्टमै एम्बुलेन्समा राखियो। तर, जाँदाजाँदै एम्बुलेन्सभित्र जडित सिलिन्डरको अक्सिजन रित्तियो। अल्का अस्पताल पुग्दा उनी मृत घोषित भए।

यसरी पोखराबाट चर्को मूल्य तिरेर हेलिकप्टरबाट गुणस्तरीय उपचार खोज्दै देशको केन्द्रमा आइपुगेका कृष्णमानले सासको अभावमा ज्यान गुमाउन बाध्य भए। ६० वर्षीय उनमा अरु कुनै दीर्घरोग थिएन।

'आधा घण्टा अगाडिसम्म अक्सिजन अभावबारे कुनै जानकारी दिएको थिएन अस्पतालले। पूर्व जानकारी गराएको भए हामीले त्यही अनुसार तयारी गर्थ्यौं,' अवेशले भने, 'यो व्यवस्थापकीय कमजोरी र गैरजिम्मेवारी हो।'

बिहीवार भक्तपुर अन्तर्राष्ट्रिय अस्पतालले अन्यत्र लैजान सुझाएको केहीबेरमै अर्का संक्रमितले पनि ज्यान गुमाए, आइसीयूमै। यी दुई मृत्युलाई अस्पतालको लापरवाहीको संज्ञा दिँदै सामाजिक सञ्जालमा विरोध भइरहेको छ। सुरेश नामक फेसबुक प्रयोगकर्ताले अस्पतालले रेफर गरेपछि संक्रमित र उनीहरूको आफन्त अन्यौलमा रहेको दृश्य सहित फेसबुक पोस्ट गरे।

'अक्सिजन नभएको जानकारी आधा घण्टा अगाडि मात्र दिएर आइसीयूका सम्पूर्ण बिरामीलाई अलपत्र पारी, एक जनाको अस्पतालमै र अर्को बाटोमा मृत्युवरण गर्न बाध्य तुल्याएको भक्तपुर इन्टरनेशनल हस्पिटल। मृतकको जिम्मेवारी कस्ले लिन्छ?'

अस्पताल भने निकै प्रयास गर्दा पनि अक्सिजन जोहो गर्न नसकेको जवाफ दिएको छ। अस्पतालका कोभिड-१९ वार्डका व्यवस्थापक अभिषेक खड्काले भने, 'अक्सिजनको अभाव देशव्यापी बनेको छ। हामीले निकै कोसिस गर्दा पनि आवश्यक मात्रा जोहो गर्न नसक्ने भएपछि बिरामी रेफर गरेका हौं।'

खड्का भने अक्सिजन अभावबारे सम्पूर्ण बिरामीको आफन्तलाई पूर्व जानकारी दिएको दावी गर्छन्।

अस्पतालसँग ५० वटा अक्सिजन सिलिन्डर छ। सधैँ १० देखि १५ वटा सिलिन्डर खाली हुनासाथ प्लान्टमा पुर्‍याएर भर्ने गरेको जानकारी दिए खड्काले। 'तर बिहीवार बिहानैदेखि पनौतीको नवज्योति र ललितपुरको सगरमाथा प्लान्टमा पर्खिएका हौं। प्लान्टबाटै नआएपछि गाह्रो भयो,' उनले भने।

हाल अस्पताल प्रशासनले जिल्ला प्रशासन कार्यालय, भक्तपुर, स्वास्थ्य सेवा विभाग र भक्तपुर जनस्वास्थ्य कार्यालयमा अक्सिजन अभावबारे जानकारी दिएका छन् र सहयोगको अपिल पनि। 'तर सरकारको तर्फबाट तत्काल केही हुन नसक्ने बताइएको छ। चीनबाट आएपछि मात्र उपलब्ध गराउन सक्छौं भन्ने जवाफ आएको छ,' उनले भने।

तर, चीनले नेपाल पठाउन लागेको सिलिन्डर मात्र हो। हाल, देशमा अभाव अक्सिजनको भइरहेको छ।

चीनले अनुदान स्वरुप २० हजार अक्सिजन सिलिन्डर दिने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कार्ययोजना अनुरुप वैशाख ३१ गतेभित्र पहिलो लट अक्सिजन सिलिन्डर ल्याउने जनाइएको छ। तर, पहिलो चरणमा कति संख्यामा सिलिन्डर आउँछ खुलाइएको छैन।

अक्सिजन अभाव एउटा अस्पतालको मात्र व्यथा होइन। ललितपुरको अल्का अस्‍पतालमा कोभिड-१९ का संक्रमितको संख्या ६१ पुगिसकेका छन्। अस्पतालसँग ४६ वटा मात्र अक्सिजन सिलिन्डर छ। अस्पतालकी प्रशासन प्रमुख रोजिका प्रधानका कोभिड-१९ र अन्य बिरामीलाई एक सय बीसभन्दा बढी अस्पतालको आवश्यकता हो।

अस्पतालको आफ्नै अक्सिजन प्लान्ट भएको अवस्थामा पनि व्यवस्थापन हम्मेहम्मे परेको बताउँछिन् उनी। ललितपुरमा भएका अन्य तीन सप्लायर मध्ये दुईले बिग्रिएको जानकारी दिएका छन्। 'मेसिन चौबीसै घण्टा चलेकाले बिग्रिएको भन्ने सुनेँ। कहिलेसम्म बन्छ थाहा छैन। आवश्यक अक्सिजन कसरी जोहो गर्ने विकल्पसमेत पाइरहेको छैन,' उनले भनिन्।

प्राय संक्रमित अक्सिजन सपोर्टमा भएको र तीमध्ये धेरैको अवस्था गम्भीर भएको प्रधानले बताइन्।

भारतमा कोरोना भाइरस संक्रमणको नयाँ लहर सुरु भएसँगै अक्सिजन अभाव सुरु भयो। नेपालमा पनि नयाँ भेरियन्टको संक्रमण देखिएसँगै प्रश्न उठेको थियो – कतै अक्सिजनको उस्तै अभाव भोग्नु पर्दैन?

त्यतिखेर नेपाल अक्सिजन ग्यास उत्पादक संघले पर्याप्त अक्सिजन भएको र अभाव नहुने जनाएको थियो। पहिलोपोस्टसँगको कुराकानीमा नेपाल अक्सिजन ग्यास उत्पादक संघका अध्यक्ष गौरव शारडाले भनेका थिए, 'अक्सिजनको अभाव छैन। अक्सिजनका बन्द हुन लागेको उद्योगलाई कोभिडले पुनः सञ्चालनमा ल्याए पनि पर्याप्त सिलिन्डर नपाउनु नै समस्या भएको छ।'

उनका अनुसार गत वर्ष महामारी सुरु भएसँगै माग बढेजस्तो देखियो। तर, अपेक्षित परिमाणमा खपत नहुँदा कतिपय अक्सिजन प्लान्ट अझै पूर्ण रूपमा सञ्चालन नभएको उनले बताए।

उपत्यकामा मात्र ८ वटा र उपत्यकाबाहिर १८ वटा प्लान्टहरुबाट अक्सिजन उत्पादन हुन्छ। जसमा दैनिक ८ हजारभन्दा बढी सिलिण्डर उत्पादन हुँदै आएको छ।

त्यस्तै, एक साताअघि मात्र शंकर अक्सिजन ग्यास प्रालिका प्रवन्धक शम्भु भण्डारीले पनि अक्सिजनको उत्पादन पहिलेभन्दा बढेको बताएका थिए।

'हाल बजारमा अक्सिजनको अभाव भएको भन्दै हाइलाइट गरियो, त्यो हुँदै होइन,' उनले भने, 'त्यस्तो अवस्था आइसकेको छैन।'

अक्सिजन नपाएर मानिसले ज्यान गुमाइरहेको अवस्थामा भने भण्डारीले अभावबारे केही बोल्न नसक्ने बताए।

'सिलिन्डर नभएको हो कि अक्सिजन नै नभएको? यतिमात्र भनिदिनुस्' भन्ने प्रश्नमा उनले भने – 'म अहिले यसबारे केही भन्न सक्दिँन।'

उत्पादक मौन र अस्पतालहरू उद्योगले अक्सिजन नदिएको बताइरहँदा शुक्रवार नेपाल अक्सिजन ग्याँस उत्पादक संघले विज्ञप्ति जारी गर्‍यो। जसमा आफूहरू अक्सिजनको सुलभ आपूर्तिमा प्रतिबद्ध रहेको जनाएको छ। संघले सिलिन्डर अभावका कारण अक्सिजन उपलब्ध गराउन नसकेको जनाएको छ साथै खाली सिलिन्डरको माग गरेको छ।

भक्तपुर इन्टरनेशनल अस्पतालका कोभिड-१९ वार्ड व्‍यवस्थापक अभिषेक खड्का भने आफूहरू सिलिन्डर लिएरै जाँदा पनि अक्सिजन नपाएको दावी गर्छन्।

निजी अस्पतालहरूको छाता संगठन (अफिन) का उपाध्यक्ष भने यो सबैलाई कृत्रिम अभावको संज्ञा दिन्छन्। 'अक्सिजन उत्पादकहरू पर्याप्त उत्पादन भएको छ भन्ने। अरुलाई ल्याउन नदिने। अस्पतालमा बिरामी छट्पटाइ रहने अनि हामी कहाँ हारगुहार गर्न जाने?,' उनको प्रश्न छ।

यस विषयमा सरकारले निजी अस्पतालहरूलाई कुनै सहयोग नपुर्‍याएको गुनासो गरे उनले। चीनबाट हजारौं सिलिन्डर आए पनि अक्सिजन उद्योगहरूलाई उपलब्ध नगराएसम्म अक्सिजन अभावका कारण बिरामीहरूको ज्यान गइरहने उनको तर्क छ।

'सरकारले अरु केही गर्ने पर्दैन जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीको समन्वयनमा प्लान्टहरू अनुगमन गरे पुग्छ। त्यसपछि अक्सिजन अभावको अन्त्य हुन्छ भन्ने हाम्रो अनुमान हो,' उनले भने, 'छानविनका लागि कदम नचालेसम्म अस्पतालहरूको संगठन बोलेर केही हुँदैन। अभाव उस्तै रहन्छ।'

अक्सिजनको अभावबारे स्वास्थ्य मन्त्रालय जानकार छ। उसले पटकपटक विज्ञप्ति जारी गर्दै अक्सिजन अन्य उद्योगमा नपठाउन अपिल गरिरहेको छ। तर, स्वास्थ्य मन्त्रालयको आह्वान वक्तव्यबाजीमै सीमित बन्दै गएको छ।

'मान्छेको सासमाथिको यो राजनीति हामी कहिलेसम्म टुलुटुलु हेर्ने? राज्य वा व्यवसायीका लागि संक्रमित वा ज्यान गुमाउने मानिस थप एक अंकमात्र होला तर हामीले त आफ्नो मान्छे गुमाएका छौं,' अक्सिजन अभावकै कारण ज्यान गुमाएका कृष्णमानका भतिजले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell