
काठमाडौं : माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको शैलीका कारण भन्दै आफ्ना पक्षका सांसदहरुलाई राजीनामाका लागि तयारी अवस्थामा राखेका छन्। नेपाल पक्षले शनिवार ओलीलाई २४ घण्टाको अल्टिमेटम दिएको थियो।
यस अवधिमा अध्यक्ष ओलीसँग वरिष्ठ नेता नेपालको खासै सम्बन्ध सुध्रिने अवस्था नदेखिएपछि नेपाल पक्षले अहिले ११ बजेका लागि स्थायी कमिटी डाकेको छ। स्थायी कमिटीमा यसबारे छलफल हुने सांसद जीवनराम श्रेष्ठले जानकारी दिए।
सामुहिक राजीनामा लागि आफूहरु तयारी अवस्थामा रहेको र स्थायी कमिटीको निर्णयअनुसार अघि बढ्ने श्रेष्ठले बताए। नेपाल पक्षका २१ जना सांसदले सामुहिक राजीनामा दिनेगरी हिजो नै हस्ताक्षर संकलन गरेको थियो।
प्रतिनिधि सभाको अंकगणित
हाल प्रतिनिधिसभामा कुल सदस्य संख्या २७१ छ। एमालेका १२१ जना छन्। कांग्रेसका ६३ (२ निलम्बितसहित), माओवादीको ४९ (४ पद रिक्तबाहेक), जसपाको ३४ (दुई निलम्बितसहित), नेमकिपा, राष्ट्रिय जनमोर्चा, राप्रपा र स्वतन्त्रका एक/एक गरी ४ सांसद छन्। एमालेभित्र माधव नेपाल समूहका ३५ सांसद रहेको बताइन्छ।