PahiloPost

Jul 3, 2024 | २० असार २०८१

माधव झलनाथ समूहले दिएको 'अल्टिमेटम' सकियो, के होला सामुहिक राजीनामा?



माधव झलनाथ समूहले दिएको 'अल्टिमेटम' सकियो, के होला सामुहिक राजीनामा?

काठमाडौं : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन माधव नेपाल समूहले दिएको अल्टिमेटमको समय सकिएको छ। माधव झलनाथ खनाल समूहले ओलीलाई २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउनुपर्ने भन्दै आज बिहान ९ बजेसम्मको समय दिएको थियो।

नेपाल समूहले आइतवार नै सामूहिक राजीनामाको तयारी गरेपनि अन्तिम समयमा रोकिएको हो। ओली पक्षबाट संसदीय दलका उपनेता सुवाष नेम्वाङ र अर्थमन्त्री विष्णु पौडेलसहितको टोलीले सिंहदरबारमा वार्ता गरेपछि राजीनामा रोकेको बताइन्छ। यद्यपि हिजै प्रधानमन्त्री ओलीले फ्लोरक्रस नगर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका थिए। ओलीले नेपाल पक्षको प्रयासलाई हानिकारक प्रयास भएको आरोप समेत लगाएका थिए।

‘आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फलोसक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्नेजस्ता हानिकारक प्रयास भएका छन्,’ विज्ञप्ति जारी गर्दै ओलीले भनेका थिए, ‘कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि आज देखा परेका छन्। यी प्रवृत्ति कुनै पनि हिसावले उपयुक्त होइनन् र यी हानिकारक छन्।’ प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल पक्षले ६ बुँदे प्रस्ताव ओलीसमक्ष राख्दै आज ९ बजेसम्मका लागि अल्टिमेटम दिएका थिए।

उक्त समयसीमामा ओलीको कुनै प्रतिक्रिया आएको छैन। अब कसरी अघि बढ्ने भन्नेबारे योजना बनाउनका लागि नेपाल समूह अहिले सिंहदरबारमा छलफलमा जुटेका छन्। प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell