PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

चुनाव हारेर जीवन जितिरहेका हेमराज : ‘सास’ बोकेर दिइरहेछन् सेवा



स्वेच्छा राउत

चुनाव हारेर जीवन जितिरहेका हेमराज : ‘सास’ बोकेर दिइरहेछन् सेवा

आमाको उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगेका थिए जगदीश सेठी। तर, आमासँगै उनलाई पनि च्याप्यो ज्वरोले। सास फेर्न गाह्रो हुँदै गयो। आमा छोरा दुवैको रगतमा हुनुपर्ने अक्सिजनको मात्रा कम देखिँदै थियो। ‘ब्लड अक्सिजन स्याचुरेसन’ को सूचक ९० भन्दा मुनि पुगिसकेको थियो।

सेती अस्पतालमा पीसीआर परीक्षण तीन दिनका लागि बन्द रहेछ। रिपोर्ट बिना घर फर्कनु झनै जोखिमपूर्ण हुन्थ्यो। त्यसमाथि शय्या र अक्सिजन अभावलाई कारण  देखाउँदै भर्ना गर्न पन्छिरहेका थिए अस्पताल।

उनले फोन घुमाए हेमराज ओझालाई। ओझाको पहलपछि नोभा अस्पताल, धनगढीले जगदीश र उनकी आमालाई आइसोलेसनमा ठाउँ दियो। तर, अस्पतालसँग अक्सिजन थिएन। त्यसको जानकारी अस्पतालले गरायो।

भर्ना भएको केहीबेरपछि हेमराज आफैँ अस्पताल पुगे। ओम्नी भ्यानबाट दुईवटा अक्सिजन सिलिन्डर निकाले र पुर्‍याए आइसोलेसन वार्डसम्म। छट्पटाहट कम गर्न एकअर्कालाई थुम्थुमाइ रहेका ३६ वर्षीय जगदीश र उनकी ६५ वर्षीया आमाका लागि कसैले सास बोकेर ल्याइदिए सरह भयो।

'दाइले न आफूलाई पर्नसक्ने अप्ठ्यारोको पर्वाह गर्नु भयो। न राजनीतिक मत भिन्नता नै केलाएर बस्नु भयो। एक कलको आग्रह टार्नु भएन। खर्च त छ नै। जोखिम मोलेर सहयोग गर्नुभयो,' जगदीशले आइसोलेसनबाटै पहिलोपोस्टलाई सुनाए। उनी र उनकी आमाका लागि हेमराजले कहिल्यै बिर्सन नसक्ने गुन लगाएका छन्। 'बाँचेर फर्किएँ भने यो गुनको बदला पटकपटक तिर्नेछु,' उनी भावुक सुनिए।

हेमराज भने आफ्नो खटनलाई गुनभन्दा बढी कर्तव्यका रुपमा व्याख्या गर्छन्। 'समाजप्रतिको दायित्व निभाएको हुँ,' उनले भने। दायित्व निर्वाहको यो चरणमा राजनीतिक विचार भने बाधक बनेन।

जगदीश माओवादी निकट हुन् भने हेमराज नेपाली काङ्ग्रेसका।

हेमराजको परिवारले माओवादीका कारण ठूलो वियोग भोगेको थियो। सशस्त्र द्वन्द्वताका २०५८ मा हेमराजका दाइको विभत्स हत्या भयो, माओवादी पक्षबाट।

दाजु वियोगको पीडा उनको मनमा गडेर बसेको छ। राजनीतिक हत्याका कारण आजसम्म ओभाएका छैनन् आमाको आँखा। तर, पार्टीको बद्मासीका कारण त्यस दलमा आवद्ध कोही एक व्यक्तिमाथि द्वेष नपालेको बताउँछन् उनी। 'यो समय विचार, पार्टीगत् संलग्नता, जात, धर्म र रीसबिना एकअर्काको लागि गर्ने समय हो,' उनी प्रष्ट सुनिए।

कसैप्रति पनि बदला वा रीसको भावना राख्नुले आफ्नो आदर्शलाई कमजोर बनाउने कथन छ उनको। त्यसैले अभाव र समस्याबाट गुज्रिरहेकाहरूलाई सघाउन दौडिरहेका छन्।

कसैले फोन गर्छ र भन्छ – मेरी आमा बचाइदिनुस् न दाइ। कोही शय्या नपाएको गुनासो गर्छन्। कोही अक्सिजनको याचना। रोदन सुन्छन् अनि अक्सिजन उत्पादक कहाँ लाम बस्न जान्छन् हेमराज। उनले जगदीश र उनकी आमाको लागि पुर्‍याएको अक्सिजन आइतवार ५ घण्टा रुँगेर पाएका थिए। विहानै तीन बजे उठे र लागे मालिका अक्सिजन उद्योगतर्फ। ८ बजेसम्म पर्खिए आठ वटा सिलिन्डरमा आधा अक्सिजन भर्न।

एक साता भयो उनको दैनिकी उस्तै छ। आफ्नै निजी भ्यानमा बोक्छन् ती सिलिन्डर। अस्पतालमा सास फेर्न संघर्ष गरिरहेकाहरूसम्म पुर्‍याउँछन्। संक्रमितका लागि हुने यो दौडधुपको जोखिममा पर्न चाहेनन् उनका चालक। त्यसैले गाडी आफै हाँक्छन्। भरेको सिलिन्डर दिएर रित्तो लिन्छन् र उस्तैगरी पुग्छन् लाम लाग्न, फेरि अर्को एउटा बिरामीका लागि सास भर्न।

सबै गर्दा हुने खर्च पनि आफ्नो गोजीबाटै हाल्छन्। 'चन्दा वा राहत रकम संकलन गर्ने समय होइन यो। लकडाउनका कारण सबैको खल्ती र चुल्होमा प्रभाव पारेको छ। त्यसैले आफूले जति सकिन्छ दिने हो। मुख ताक्ने होइन,' उनले भने।

एक सातामा करिव ४५ जना संक्रमितका लागि सिलिन्डरको जोहो गरिदिए उनले।

नि:शुल्क र निस्वार्थ यात्रा कहाँसम्म पुग्छ उनलाई नै पत्तो छैन। तर, सेवा र सद्भाव बाँड्ने उनको यो यात्रा नयाँ भने होइन।

२०७६ सालको चैतदेखि कोरोना भाइरस संक्रमण र लकडाउन प्रभावितका लागि लागिपरेका छन्। सुरुमा संक्रमणविरुद्ध चेतनामुलक सन्देश प्रवाह गरे। पोस्टर, पम्पलेट, मास्क तथा खाद्यान्न बाँडे। लकडाउन बढ्दै गयो। फरक समूहमा फरक आर्थिक, सामाजिक एवं मनोवैज्ञानिक प्रभाव पर्दै गयो। हेमराजको सामाजिक सक्रियताको स्वरुप बद्लिँदै गयो।

लकडाउनको सुरुवाती दिनमा गाउँका बिरामीलाई आफ्नै गाडीमार्फत् अस्पताल पुर्‍याए, उपचार गराए। घरघरमा स्थानीय मेडिकलबाट औषधी किनेर लगिदिए। कतिका लागि भारतबाट समेत औषधि मगाइदिए।

सुरुवामा त कञ्चनपुरको कृष्णपुरमा सीमित थियो उनको सेवा। बिस्तारै लागे नाकातर्फ। त्यतिबेला नेपाल-भारतको सीमामा अलपत्र थिए हजारौं नेपाली। रोगको त्रास परको कुरा भोकले बिरामी पारिरहेथ्यो धेरैलाई।

दयनीय अवस्था देखेपछि हरेक बिहान पीपीई सेट लगाएरै खटिए। दैनिक ५/६ सय मानिसको पेट भरे। आवश्यकता अनुरुप खाना, पानी, चाउचाउ बिस्कुट दिए।

त्यतिबेला अलपत्र नेपालीलाई परिवारसँग जोड्न टेलिफोन सुविधा पनि उपलब्ध गराएका थिए उनले।

'अहिले अवस्था त्यो रहेन। मान्छे बाँचे न खाना खाने हुन्। सास नै अड्केकाहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेछु,' उनले भने।

उनको भोकालाई खुवाउने अभियानमा पनि पूर्णविराम् त कहाँ लागेको हो र? अहिले पनि अस्पतालमा भएका बिरामी र कुरुवालाई खाना उपलब्ध गराइरहेका छन्।

स्थानीय तहको निर्वाचनमा कृष्णपुर नगरपालिकाको मेयर पदमा हारेका हुन् उनी। हार्नु उनको हकमा काम नगर्नुको कारण बनेन। व्यक्तिगत् खर्चमा विद्यार्थीहरूलाई छात्रवृत्ति दिए। स्थानीयका लागि धारा जडान गरिदिए। महामारी वा कुनै संकट नआउँदै मान्छेले भोगिरहेको दु:ख मेटाउन खोजे।

प्रोत्साहन दिइरहिन् ७८ वर्षीया आमा महेश्वरीदेवीले। 'आमाले राजनीतिका कारण बुवा जेल परेको देख्नु भयो। दाइको राजनीतिक हत्या भोग्नु भयो। उहाँले दु:ख छाम्नु भएको छ। त्यस्तै अवस्था अरुले भोग्न नपरोस् भनेरै मलाई सामाजिक कामका लागि प्रोत्साहित गर्नुहुन्छ,' उनले भने।

उनलाई उसैगरी साथ दिएका छन् भाइ विष्णु ओझाले।

महामारी यता उनको सक्रियता उदाहरण बनेको छ 'जनताका लागि राजनीति गर्छु' भन्ने धेरैका लागि। कतिले चाहिँ – संक्रमणको त्रास देखाउँछन्। उनी हाँसी हाँसी जवाफ दिन्छन् – 'समाजका लागि गर्छु भन्नेले भाग्ने समय होइन यो। आम सर्वसाधारणले उठाउन नसक्ने जोखिम हामीले उठाउने समय हो।'

हेमराजको धेरैले तारिफ गर्छन्। तर क्षणिक तारिफ र प्रचारमा अलमलिन नहुने वोध छ उनमा। 'कसैले एकछिन राम्रो वा नराम्रो भन्दैमा दङ्ग पर्नु वा दु:खी हुनुको तुक के? म काममा विश्वास गर्छु। जबसम्म मसँग पुग्दो स्रोत र साधन हुन्छ तबसम्म काम नै गरिरहन्छु,' उनले भने।

चुनावी हारसँग हारेनन् हेमराज। आफूभित्रको मानवता र समभाव जगाएर बलियो उभिए। कहिले भोकाका लागि गाँस बोकेर गाउँगउँदेखि सीमासम्म खटे। पहिले भोकाका लागि गाँस बोकेर गाउँगाउँदेखि सीमासम्मै खटिए। अहिले संक्रमणले गालेकाहरूको लागि 'सास' बोकेर अस्पताल अस्पताल धाउँदैछन्

यो सबैबाट उनले चाहेको मानिसको जीवन मात्र हो। 'आत्मसन्तुष्टि वा प्रचार प्रसार खोज्न थाले त म पनि स्वार्थी कहलिन्छु नि। कसैले अभावकै कारण आफ्नो मान्छे गुमाउन नपरोस् त्यतिका लागि हो म फिल्डमा उत्रिएको,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell