PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

वीरगंजमा बिहानै ३ जना संक्रमितको मृत्यु



वीरगंजमा बिहानै ३ जना संक्रमितको मृत्यु

वीरगंज : वीरगंजमा मंगलवार बिहान थप तीन जनाको उपचारको क्रममा मृत्यु भएको छ। नारायणी अस्पताल वीरगंजमा तीन जनाको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। नारायणी अस्पतालका कोभिड फोकल पर्सन डा. सरोजरोशन दासका अनुसार बाराको बुनियादका एकजना, पर्साको जगरनाथपुरका एकजना र वीरगंज महानगरपालिकाका एकजना गरी तीनजनाको मृत्यु भएको हो।

पर्साको वीरगंज–९ का ३५ बर्षीय पुरुषको मंगलवार बिहान पौने पाँच बजे मृत्यु भएको छ। बैशाख २१ गते नारायणी अस्पतालमा भर्ना गरिएको उनको त्यही दिन एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको थियो। कडा निमोनियाका कारण दुवै फोक्सोले काम नगरेपछि उनको आज बिहान पौने पाँचबजेतिर मृत्यु भएको छ। त्यसैगरी, वीरगंज– ९ का ५५ बर्षीय पुरुषको पनि मृत्यु भएको छ। बैशाख २१ गते नारायणी अस्पतालमा भर्ना गरिएको उनको त्यही दिन परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो।मंगलवार बिहान २ बजेर १० मिनेटमा उनको मृत्यु भएको डा. दासले बताए।

यसैगरी, बारा, बुनियादका ५५ बर्षीय पुरुषको बिहान ३ बजे मृत्यु भएको छ। बैशाख २६ गते उनको त्यहिदिन एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो। नारायणी अस्पतालमा उपचारकै क्रममा उनकोमा मृत्यु भएको हो। वीरगंजमा हिजो मात्रै कोरोना भाइरस संक्रमणका कारण थप १० जनाको मृत्यु भएको थियो। हिजो नारायणी अस्पताल ५, नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा ३ जना, वीरगन्ज हेल्थ केयर हस्पिटलमा १ जना र एडभान्स हस्पिटलमा १ जनाको मृत्यु भएको थियो। कोरोनाको दोस्रो लहर शुरु भए यता, वीरगंजमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८६ पुगेको छ जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी तथा प्रशसकीय अधिकृत विनयकुमार श्रीवास्तवका अनुसार मृतक ८६ मध्ये पर्सा जिल्लाका मात्र ५४ जना हुन्। मृतकमध्ये अन्य ३२ जना भने बारा,रौतहट,सर्लाही र भारतीय रहेका छन्।

थप १५० संक्रमित पहिचान

पछिल्लो पटक नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा एकसय ५० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। पर्साबाट संकलन गरिएको २८८ स्वाब नमूनाको पीसीआर परीक्षण गर्दा पर्साका ११० जना सहित १५० जना नयाँ संक्रमित थपिएका हुन्। १३४ जनाको पीसीआर र १६ जनाको एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ। उनका अनुसार संक्रमित मध्ये पर्साका ११० जना, ३३ जना बाराका, ४ जना रौतहट, २ जना सर्लाही र एकजना धनुषाका रहेका छन्। संक्रमितहरु ६ वर्षदेखि ८२ वर्ष उमेर समूहका रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell