PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

काठमाडौंका अस्पतालहरुमा सकिँदै अक्सिजन, भन्न थाले : बिरामीलाई अन्यत्र लैजानुस्



काठमाडौंका अस्पतालहरुमा सकिँदै अक्सिजन, भन्न थाले : बिरामीलाई अन्यत्र लैजानुस्

काठमाडौं : कोरोना भाइरस संक्रमणको नयाँ लहर फैलिएसँगै अहिले देशभरका अधिकांश अस्पताल बिरामीले भरिएका छन्।

दैनिक करिब ३ हजारको संख्यामा संक्रमित पहिचान भइरहेको काठमाडौं उपत्यकामा समेत अस्पताल भरिएका छन्। जसकारण संक्रमितहरुको उपचार प्रभावित भएको छ। अस्पतालमा बेड र अक्सिजन खोज्दै गर्दा संक्रमितको ज्यान जाने र अवस्था गम्भीर हुने क्रम बढेको छ।

हाल काठमाडौंमा संक्रमण दर उच्च भएका कारण अक्सिजनको अभाव भएको छ। अस्पतालमा अक्सिजन नहुँदा बिरामीहरुले ज्यान गुमाउनु परेको छ। निजी अस्पतालहरुमा अक्सिजन अभाव हुँदा बिरामीहरुलाई डिस्चार्ज हुन भनिएको छ।

गोकर्णेश्वर नगरपालिकामा रहेको नेपाल मेडिकल कलेजले आफूललाई अक्सिजन उपलब्ध गराउँदै आएको कम्पनीको मेसिन बिग्रिएकाले अहिलेको अवस्थामा अक्सिजन उपलब्ध हुने सम्भावना निकै न्यून रहेको भन्दै आज दिउँसो ४ बजेसमम्म बिरामीहरुलाई अन्यत्र लग्न विज्ञप्ती नै निकाल्यो।

यस्तै, निजी लगानीमा खुलेको नेपालकै सुविधासम्पन्न र अत्याधुनिक अस्पताल मानिने नेपाल मेडिसिटी अस्पतालमा समेत अक्सिजन अभाव भएको छ। अस्पतालले एक विज्ञप्ती जारी गर्दै आफूहरुको माग बमोजिम अक्सिजन प्राप्त नभएको र नयाँ बिरामीहरुलाई भर्ना गर्न नसक्ने जनाएको छ।

यस्तै, अन्य निजी अस्पतालहरुले समेत यसअघि विज्ञप्ती निकालेर बिरामीहरुलाई अक्सिजनको अभावमा उपचार सम्भव नहुने बताइसकेका छन्।

सरकार र अक्सिजन उत्पादन कम्पनीहरुले अक्सिजनको अभाव नहुने दाबी गरिरहँदा उपत्यकामा अक्सिजनको अभावमा बिरामीको ज्यान नै जाने घटना बढ्दो छ। साथै, संक्रमितका आफन्त आफैले अक्सिजन खोज्नुपर्ने, एउटा अस्पतालमा अक्सिजन सकिँदा अर्को अस्पताल खोज्नुपर्ने अवस्थाका कारण संक्रमित र संक्रमितको परिवारलाई दबाब थपिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell