PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आमा पछि छोरा पनि रहेनन्, कोरोना कहरमै अलबिदा राजेन्द्र!



आमा पछि छोरा पनि रहेनन्, कोरोना कहरमै अलबिदा राजेन्द्र!

  • शिशिर वैद्य –

हतप्रभ छु। ओठ चल्मलाउन खोज्दैछन्, आवाज निस्किन सकिरहेको छैन। एउटा अप्रत्यासित र अकल्पनीय खबरले मन भारी भएको छ। स्तब्ध बनेको छु। आफ्नो शरीर आफ्नो बसमा नभएजस्तो लागिरहेको छ। कानले सुनेको कुरालाई पत्याउन चाहिरहेको छैन मेरो मन। दृष्यहरु धमिलिएका छन्। मुटुमाथि ढुँगा राखेर भए पनि खबर पत्याउनुको विकल्प मसँग छैन।

ऊ गयो रे! हामी सबैलाई अब कहिल्यै नभेट्ने गरी, यो सांसारिक चोलालाई चटक्क त्यागेर।

शरीरका रौं ठाडा भए। शरीरको तापक्रम एकाएक चिसियो। हात, खुट्टाहरुले आफ्नै शरीरको बोझ धान्न मानेनन्। आफु वरपरका सम्पूर्ण चिजविज एकाएक फनफन घुम्न थाले। फननन् घुमाएर थचक्क बसाए जस्तो अनुभूत भयो। म असन्तुलित भएँ। के खबर हो यो? कसरी पत्याउने यस्तो खबरलाई?

कोरोना संक्रमणका कारण दिल्लीका अस्पताल खचाखच भरिएको खबर हरेक दिन सुनिरहेकै छौं। अस्पतालमात्र हैन, अस्पतालका प्रांगणसमेत अक्सिजन लगाएका विरामीले भरिएका छन्। कोरोनाकै कारण मृत्यु हुनेको संख्या दैनिक हजारौंमा पुगेको छ। संक्रमित लाखौं छन्। मृतकका लाश लहरै जलाउन राखिएका दृश्यले दिल्ली युद्धग्रस्त क्षेत्र जस्तो देखिन्छ। अवस्था छिमेकमा पनि उस्तै छ। आफ्नै देश नेपालमा भयावह बन्दैछ अवस्था। अक्सिजनको अभाव, अस्पतालमा बेडको अभाव, श्मसानमा शव जलाउने ठाउँको अभाव। भारतको राजधानी दिल्लीमा कोरोनाले मच्चाइरहेको ताण्डब केहीपल अघिसम्म मेरा लागि त्रासद समाचार थिए। आज दिल्लीको कोरोना ताण्डब मेरा लागि बज्रपात भएको छ। त्यो कोरोना ताण्डबले मेरो आत्मीय बालसखा राजेन्द्रलाई निल्यो।

उसको घर (डेरा) घट्टेकुलोमा थियो। घर नजिकको साथी भएकाले म पुगिरहन्थेँ त्यहाँ। घर बनाएर ऊ बालुवाटार सरेपछि आउजाउ कम भयो। तर, हाम्रो आत्मीयता उस्तै थियो। भेटघाट चलिरहन्थ्यो। कलेज सकिएर उच्च शिक्षाका निम्ति ऊ भारत गयो। एक दशकदेखि दिल्लीमा थियो। कालीगण्डकी र मध्यमस्र्याङ्दी जलविद्युतको अनुभव बटुलेको राजेन्द्र भारतीय कम्पनी टाटा प्रोजेक्टसमा कार्यरत थियो।

आफ्नो कार्यक्षेत्र दिल्ली भएपछि उसले आमा, बुबा, श्रीमती र छोरीलाई पनि उतै लगेको थियो। शरीरलाई स्फुर्त राख्न ऊ हरेक शनिवार साइकल लिएर निस्किन्थ्यो। दिल्लीका सडकहरु उसको साइकल टोलीसँग परिचित बनिसकेका थिए। कहिले कता, कहिले कता। कार्यालय र छरछिमेकमा निकै प्रिय थियो। 'आरडी' उसलाई बोलाउने छोटकरी नाम। सहयोगी र विनोदी स्वभावका कारण साथीभाइको प्रिय थियो। यहाँ पनि र त्यहाँ पनि।

विनोदीमात्रै हैन, ऊ गम्भीर थियो, आफ्नो कामप्रति। परिवारको जिम्मेवारीप्रति। परिवारको एक्लो छोरा।

कस्तो विडम्बना, राजेन्द्र बित्नु तीन दिन अघि नै उसकी ममतामयी आमाको निधन भएको थियो। तर, राजेन्द्रले न आमा बितेको खबर सुन्न पायो, न आमाको अन्तिम दर्शन गर्न नै। आमा बित्दा अस्पतालमा आफैँ कोरोनासँग लडिरहेको थियो। उसलाई जन्म दिने आमाको निधन उसका लागि पक्कै पीडादायी हुने थियो। यस्तो खबर सुनाउनु उसको पीडामाथि पीडा थप्नु हुन्थ्यो।

दिल्लीका सुविधा सम्पन्न अस्पताल कोरोनाका विरामीले खचाखच भरिएका थिए। त्यसैले उसको उपचार दिल्ली शहरभन्दा अलिक बाहिर भइरहेको थियो। जहाँको चिकित्सकीय वातावरण चित्तबुझ्दो थिएन। जसोतसो शहरको अलिक सुविधायुक्त अस्पतालमा सारेपछि उसको स्वास्थमा सुधार आएको थियो। सुधार आएकै क्षण उसले श्रीमतीसँग लामो कुरा गर्‍यो। त्यो क्षण र ती वार्ता नै उसका अन्तिम आवाज बने। उसले शायद मृत्युलाई आफु नजिक आइरहेको देख्यो। आफुसँग समय नभएको अनुमान लगायो। त्यसैले उसले बोल्दाबोल्दै दोहोर्‍याएर भन्यो - 'आई ह्याभ नो टाइम।'

त्यसपछि अचानक उसको स्वास्थ्य बिग्रियो। हेर्दाहेर्दै सास फेर्न गाह्रो हुन थाल्यो। केही निमेषमा नै ऊ कृत्रिम स्वासप्रस्वासको आश्रयमा पुग्यो। भेन्टिलेटरका पाइपहरुले उसको शरीरलाई प्राणवायु दिइरहेको थियो। आशा अझै हराएको थिएन। तर, उसको स्वास्थ भेन्टिलेटरले दिएको प्राणवायुले पनि धान्न नसक्ने गरी बिग्रँदै गयो। सबैले सोचेका थिए ऊ तंग्रिएर घर फर्केपछि आमाको निधनको खबर सुनाऔंला। तर, विडम्बना। ऊ घर फर्किएन। सबैलाई स्तब्ध पारेर उसले अस्पतालमा नै शरीर त्याग्यो। अस्पताल भर्ना हुनु केही दिनअघि काठमाडौंमा रहेका दिदी भिनाजुमा कोरोना देखिएपछि उसैले दुवैलाई करबल गरेर अस्पताल पठाएको थियो। यता दिदी भिनाजु कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किए। उता अस्पताल पठाउने भाइलाई संक्रमणले च्याप्यो।

कसरी पत्याउनु? मन अझै पनि मान्न तयार छैन। तर, कोरोना महामारीले त्राहित्राहि बनाएको वर्तमान समय धेरैका लागि कहर बनेको छ। ती मध्येको एउटा कहर हामीमाथि पनि आइलाग्यो। अब मन मारेर भन्नै पर्ने भयो- ‘अलबिदा राजेन्द्र।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell