- सरोजकुमार महतो-
रगत शरीरमा रहेको रातो तरल पदार्थ हो, यो प्लाज्मा र रक्तकोषहरुको समिश्रणबाट बनेको हुन्छ। जसमा ५४.३ प्रतिशत प्लाज्मा, ४५ प्रतिशत रातो रक्तकोष र ०.७ प्रतिशत सेतो रक्तकोष रहेको हुन्छ। मानव जीवित रहन रगत नभई नहुने पदार्थका रुपमा रहेको हुन्छ।
कुनै पनि देशको 'सम्पूर्ण जनसंख्याको २ प्रतिशतले निरन्तर रक्तदान गर्यो' भने उक्त देशको रगत अभाव हुदैन। तर नेपालको कुरा गर्दा कोभिड-१९ महिमारीभन्दा अगाडिसम्म लगभग १ प्रतिक्षतले रक्तदान गर्ने गरेको थियो। अनुपातकै हिसाब गर्दा आधीमात्रै। रगत व्यवस्थापनमा हालसम्म नेपाल रेडक्रसले अद्धितिय भूमिका खेलेको छ। केही समय यता नीजिस्तरमा पनि रक्तसंचार केन्द्रहरु संचालित छन्।
सामान्य अवस्थामा दिनहुँ रगतको अभाव जुन हामीलाई विदित नै छ, झनै महामारीको समयमा नियमित रगत सम्बन्धि कार्यक्रम नभएको हुनाले अभाव अत्याधिक छ। जुन अवस्था भए पनि मान्छे बिरामी हुन कम हुदैन, यस विषम परिस्थितिमा रगत व्यवस्थपन गर्न असहज भएको देखिन्छ। रगतको अभाव अवस्था हुँदाहुँदै कोरोना संक्रमितलाई प्लाज्मा थेरापिबाट उपचार गर्यो भने केही हदसम्म प्रभावकारी भएको देखिन्छ, जसका लागि कोरोनाबाट मुक्त भएको प्लाज्मादाता खोज्नु पर्ने हुन्छ, जुन पाउन गाह्रो छ।
नेपालमा हाल(वैशाख २८ गतेको अपडेट)सम्म कोरोना संक्रमितको संख्या ४,१३,१११ पुगेको छ, ३,१२,०१९ जना स्रंक्रमित निको भएर घर फर्की सकेका छन र ४,०८४ जनाको मृत्यु भएको छ। दिनानिदिन स्थिति नाजुक हुँदैछ। कोरोनाको महामारीलाई नियन्त्रण होस् भनेर देशको प्राय ठाउँमा निषेधज्ञा लगाईएको छ। यसबाट विभिन्न कुराहरु प्रभावित भएसँगै रगत व्यवस्थापन पनि एक रहेको छ।
महामारीले गर्दा नियमित रक्तदान कार्यक्रम हुन सकेको छैन। स्वःइच्छाले रक्तदान गर्न जानको लागि सहजता छैन। तर रगतको मागमा कमी छैन। दिनहुँको अपरेसन, थेलेसिमियाका बिरामी, डेलिभेरीजस्ता अवस्थामा रगतको अवश्यकता परिरन्छ, साथै वर्तमान समयमा कोरोना संक्रमितलाई प्लाज्मा थेरेपीबाट केही सुधार हुने गरेको हुँदा प्लाज्माको माग पनि अत्याधिक रहेको छ।
रक्तदान गर्न १८ वर्ष पार गरेको ६० वर्ष ननाघेका, ४६ केजीभन्दा बढी तौल भएका, स्वास्थ्य अवस्था ठीक भएकाले हरेक तीन महिनाको अवधिमा रक्तदान गर्न सकिन्छ। प्लाज्मादाताका लागि कोरोना संक्रमनबाट मुक्त गरी १४ दिन पार गरेको, १८ देखि ६० उमेर भएको, कम्तीमा ५० केजी तौल हुनु, मधुमेह, क्यान्सर अर्थात कुनै अन्य रोगबाट संक्रमित नभएका, महिलाको हकमा गर्भवती नभएको र शरीर स्वस्थय भएकोले प्लाज्मा दान गर्न सक्छ।
रगत अभाव कम गर्नक नियमित रक्तदाताहरु आआफ्नो नजिकको रक्तसंचार केन्द्रमा पुगेर रक्तदान गरिनुपर्छ, जसका लागि प्रशासनले सहजता प्रदान गरिदिनु पर्छ। किनकि केहि दिन अगाडि चितवनमा रक्तदान गरेर फर्किने क्रममा रक्तदातालाई ४ घण्टा रोकेर ५०० रुपैयाँको चिट काटेर पठाएको थियो, यसले रक्तदाता रक्तसंचार केन्द्र पुग्न मान्दैनन्। स्वस्थ्य प्रोटोकल अपनाई सीमित मान्छेलाई आलोपालो बोलाई रक्तदान कार्यक्रम गराउन सकिन्छ, जसका लागि नजिकको रक्तसंचार केन्द्रले आवश्यक सहजीकरण गरिदिनुपर्ने हुन्छ।
हरेक व्यक्तिले चाहियो भने आफ्नो रक्तको समस्या आफै व्यवस्थापन गर्न सक्छ। सुरुमा आफ्नो रक्त समूह बुझ्नु पर्छ, त्यसपछि आफ्नो रगत समूहको कम्तीमा १० जना साथी बनाउने, समाजिक संजाल प्राय हामीले प्रयोग गर्छौ साथीहरु सक्ने जतिको सबैको रगत समूह सोधेर सम्पर्क नम्बरसहित राख्ने, फोनमा कसैको नम्बर सेभ गर्दा उसको रगत समूहसहित नम्बर सेभ गर्ने। जब रगत आवश्यक पर्यो यदि नजिकको रक्तसंचार केन्द्रमा पाएन भने यी माथिका विधि प्रयोग गरेर रगत व्यवस्थापन गर्न सकिन्छ। हरेक परिवारमा कोही न कोही गर्भवती हुने गरेको छ, उनिहरुलाई डेलिभेरीका बेला रगतको अवश्यकता पर्ने सम्भावना बढी हुने गर्छ नै, जसको लागि केहि दिन या महिना अगाडि सम्बन्धित रगत समूहको रक्तदाता खोजेर राख्यो भने परेको बेला उपयोग गर्ने।
प्लाज्मा थेरापी नयाँ भए पनि प्लाज्मादान पहिले पनि हुने गरेको थियो। जुन नगन्य मात्रामा हुने गरेको छ। वर्तमान समयमा प्लाज्मा मागको अत्याधिक रहेको छ तर यसको व्यवस्थापन कसरी गर्ने भनेमा प्राय अन्योल देखिएको छ। जसरी रक्तदान गर्न रक्तदाता नै अगाडि आएर गर्ने गर्छ त्यसरी प्लाज्मा दान गर्नको लागि न्युन दाताहरु आउने गरेको छ। न प्लाज्मादान जस्ता कार्यक्रम हुने गरेको छ। तर अहिलेको अवस्थामा दिनहुँ देशभर २० भन्दा प्लाज्मा थेरापिका लागि प्लाज्माको माग आउने गरेको छ। जसको व्यवस्थापन अत्यन्त कठिन भएको छ।
प्लाज्मा व्यवस्थापनका लागि केहि उपायहरु 'कोरोनाको लागि टेष्ट गर्ने बेलामा नै सोधपुछ गरी उनीहरुको रगत समूह थाह हुन्छ, जसले गर्दा निको भएपश्चात चाहिएको समूहको प्लाज्मादाता खोज्न सजिलो हुन्छ, कोरोना संक्रमितको तथ्यांक हरेक स्थानीय तहमा हुने गरेको छ जुन ठाउँमा प्लाज्मा चाहिएको त्यहाँको स्थानीय तहबाट डाटा लिएर व्यवस्थापन गर्न सकिन्छ, लगभग देशको प्रायजसो अस्पताल कोरोना अस्पताल भएको छ, जुन अस्पतालामा प्लाज्मा चाहिएको त्यही अस्पतालका निको भएको संक्रमितको डाटा प्रयोग गर्न सकिन्छ, कयौ व्यक्तिहरु संक्रमित भई सकेपछि प्राय समाजिक संजालमा पोष्ट गर्ने गरेको हुन्छ, उनीहरुको विवरण राखी चाहिएको बेला प्रयोग गर्न सकिन्छ।' यी विधि अपनाएर प्लाज्माको व्यवस्थापन गर्न सकिन्छ।
अझै पनि विश्व स्वस्थ्य संगठनले प्लाज्मा थेरापी पनि कोरोना संक्रमितको उपचारका लागि एक उपाय हो भनेर मान्यता नदिए पनि नेपाललगायत अन्य देशहरुमा प्रभावकारी देखिएको छ। नेपालमा प्लाज्मादान गर्न र प्लाज्मा बनाउने प्रविधि अन्य देशको तुलनामा राम्रो छैन। देशको केन्द्रबिन्दु मानिने काठमाडौमा जहाँ ४ वटा रक्तसंचार केन्द्र र अस्पतालमा बनाउने मेसिन रहेको छ, अन्य ठाउँमा रक्तसंचार केन्द्रको सक्रियताअनुसार बनाउने गरेको छ। कतिपय ठाउँमा बनाउन नसकेर नजिकको शहरमा भएको रक्तसंचार केन्द्रको भरमा छ, जस्तो दाङमा प्लाज्मा आवश्यक पर्दा चितवन कि नेपालगन्ज जानुपर्ने हुन्छ।
देशको प्रत्येक जिल्लामा नेपाल रेडक्रस सोसाइटीको शाखा उपशाखा रहेको छ। सबैलाई आवश्य संसाधन उपलब्ध गराई सक्रिय नभएकोहरुलाई सक्रिय बनाई रगत तथा प्लाज्मा व्यवस्थापन गराउन सकिन्छ। देशमा स्वयंसेवा भई विभिन्न समूहहरु ग्रुपहरु रगत व्यवस्थापन क्षेत्रमा काम गर्दै छन सबै एकीकृत भई काम गर्यो भने अझै सहज हुने छ।
विभिन्न संचार माध्यम, समाजिक संजालमा रगत तथा प्लाज्मा सम्बन्धी जानकारी चेतनामुलक कुराहरु निरन्तर प्रभाह गरिँदा हुने छ। हरेक मान्छेले अरुमा भर नपरी आफै सुरुमा प्रयास गर्यो भने सहज हुने छ। समाजिक संजालको पोष्टलाई अन्तिम विकल्पको रुपमा प्रयोग गरिनपर्छ। सबै जना मिलेर गर्यो भने अवश्य पनि सक्छौ र महामारी बाट पनि निस्किेने छौ। -महतो 'ब्लड फर नेपाल'का संस्थापक अध्यक्ष हुन्।