PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

नर्सिङ दिवस : सुविधा र अधिकार नपाए पनि पीपीईभित्र गुम्सिँदै सेवामा नर्सहरू



नर्सिङ दिवस : सुविधा र अधिकार नपाए पनि पीपीईभित्र गुम्सिँदै सेवामा नर्सहरू
FILE PHOTO

चितवन : आज विश्व नर्स दिवस। विश्वभर विभिन्न कार्यक्रम गरि यो दिवस मनाइरहँदा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा देशभरका नर्सहरु भने संक्रमितको उपचारमा खटिएका छन्। पीपीईभित्र गुम्सिँदै नर्सहरु ‍निरन्तर सेवामा खटिइरहेका छन्।

 जिल्लाका अस्पतालहरूमा अहिले कोभिड संक्रमित बिरामीको संख्या उल्लेख्य छ। अस्पतालहरूलाई बिरामीका लागि श्यया पुर्‍याउन धौधौ भइरहेको छ। मुख्य रूपमा चौबिसै घण्टा सेवामा तल्लीन नर्सहरूलाई न गर्मीका प्रवाह छ, न त आफ्नो पीडाको नै। विगतमा गर्दै आएका काममा नर्सहरूलाई दोब्बर कामको जिम्मेवारी थपिएको छ। जिल्लामा यसरी दुई हजार हाराहारी नर्सहरूले काम गरिरहेका छन्।

 भरतपुर अस्पतालमा विगत लामो समयदेखि बिरामीको सेवा गर्दै आउनुभएकी सरिता भण्डारी अहिले कोभिडका बिरामीका कारण बस्ने फुर्सदसमेत पाउन कठिन भएको बताउँछिन्। अस्पतालले संचालन गरेको कोभिड वार्डमा नर्सिङ प्रमुखका रूपमा कार्यरत उनले ३० जना जनशक्तिले १४५ जना संक्रमितको चौबिसै घण्टा सेवा गरिरहनुपरेको बताइन्।

 भनिन्, 'हाम्रा लागि नर्सिङ दिवस बिरामीको सेवा गर्नु हो। गर्मीको समय छ। पीपीई लगाएर भित्र छिरेपछि ६ देखि ७ घण्टा त्यो नखोली काम गर्ने हो।'

बिरामीको कठिनाइ देखेर आफूहरुको दुःख हराउने गरेको भन्दै उनले नर्सहरूलाई बिरामी भएको ठाउँमा पठाउँदा पहिले नै आवश्यक खाना, नास्ता खुवाएर मात्र पठाउने गरेको बताइन्।

यस्तै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत प्रशंसा शर्मा कोभिड संक्रमितको उपचार गर्न पाउँदा खुशी लागेको बताउँछिन्। सुरुवातको समयमा केही कठिनाइ भएको भए पनि अहिले त्यस्तो नरहेको उनको अनुभव छ।

अहिले अस्पतालको क्वारेन्टिनमा बस्दै आएकी उनले भनिन्, 'एक साता १२ घण्टाका दरले काम गरे पनि थकान महसुस हुन पाएन।'

बिरामी भएको ठाउँमा जाँदादेखि आफ्नो काम नसकिन्जेल सामान्य तय पीपीई नखोली बस्नुपर्ने र खाना, पानीलगायत केही खान नपाउने भए पनि बिरामीको सेवा नै धर्म हो भन्ने महसुस गरेर उपचारमा खटिएको उनको भनाइ छ।

'संक्रमितको उपचारमा लागेर बिरामी निको भएर फर्कंदा झन् धेरै खुशी लग्छ' उनले भनिन्।

 

नेपाल नर्सिङ संघ जिल्ला शाखा चितवनका सचिव विष्णुमाया अधिकारी अहिले देशभरका नर्सहरूले खाईनखाई उच्च जोखिम मोलेर सेवामा समर्पित भइरहेको बताइन्। यद्यपि नर्सहरूप्रति आम सर्वसाधारण जनता, सरकार र व्यवस्थापकहरू सकारात्मक रूपमा नलिएको उनको गुनासो छ।

कोरोना संक्रमितको सेवामा जुट्दै गर्दा आवश्यकताअनुसार पीपीई नभएको, पारिश्रमिक समयमा प्राप्त गर्न नसकेको, सरकारले तोकेअनुसारको पारिश्रमिक नपाएको, जोखिम भत्ता पाउन नसकेको उनको दुःखेसो छ। बिरामी अस्पताल छिरेदेखि डिस्चार्ज हुँदासम्म ९० प्रतिशत उपचारमा नर्सिङ स्टाफहरु खट्ने अधिकारी बताउँछिन्।

 संघकी जिल्ला अध्यक्ष मथुरा सापकोटा उत्पादनको अनुपातमा रोजगारी कठिन भएको बताउँछिन्। बिरामी संख्याका आधारमा न्यून नर्सहरूबाट काम गर्नु परेको उनको भनाइ छ।

'थोरै संख्यालाई धेरै काम लगाइएको छ। यो नेपाल सरकारको नीति विपरीत पनि हो।' आवश्यक मात्रामा तालीम पाउन नसक्दा गुणस्तर बढाउन नसकिएको उनको भनाइ छ।

 दैनिक १२/१४ घण्टासम्म बिरामीको उपचारमा नर्सहरू लाग्नु परेको बाध्यता पनि उनले सुनाइन्।

भनिन्, 'आफू बिरामी भएर पनि बिरामीको सेवामा हाम्रा नर्सहरू लागिरहेका छन्।'

जिल्लामा मात्रै चार सयभन्दा बढी नर्सहरू कोभिड संक्रमणमा परेको भन्दै उनले यसरी जोखिममा काम गर्दासमेत सरकार र अस्पताल संचालकहरूले नर्सहरूका माग सम्बोधन गर्न नसकेको बताइन्।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी कोरोनाका बिरामीको उपचारमा नर्सहरुको भूमिका प्रशंसनीय रहेको बताउँछन्।

'दुई मिनेट मात्रै अक्सिजन छुट्यो भने बिरामीको ज्यान जान्छ, त्यो सबै व्यवस्थापन नर्सहरूले गरिरहेका छन्' उनले भने।

एउटा बिरामीको उपचारमा ९० प्रतिशतत भूमिका नर्सहरूको रहने उनको भनाइ छ। कोरोना संक्रमितहरूको छुट्टै औषधि नहुने, अक्सिजन र सेवाबाटै उपचार हुने हुँदा नर्सहरुको भूमिका थप महत्वपूर्ण भएको उनले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell