PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

शय्या खोज्दै पहाडतिर बिरामी : उपचार गर्न सुर्खेतबाट जुम्ला पुग्दै संक्रमित



स्वेच्छा राउत

शय्या खोज्दै पहाडतिर बिरामी : उपचार गर्न सुर्खेतबाट जुम्ला पुग्दै संक्रमित

गत साता सुर्खेतबाट ५ जना कोरोना भाइरस संक्रमित जुम्ला पुगे, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि। त्यसो त कर्णाली प्रदेशको राजधानी सुर्खेत आफैँमा सम्पन्न शहर अस्पताल सहितको। अस्पतालका दुईवटा भवन कोरोना संक्रमितको उपचारका लागि मात्रै छुट्याइएको छ यहाँ। संक्रमितकै लागि २५ वटा आइसीयू र ८ वटा भेन्टिलेटरसहितको शय्या छुट्याइएको अवस्थामा पनि किन संक्रमित सुर्खेतबाट २ सय ७० किलोमिटरभन्दा टाढाको जुम्ला पुगे त? 

कारण – अक्सिजन अभाव।

प्रदेश अस्पतालसँग ४० वटा अक्सिजन सिलिन्डर थियो तर पर्याप्त अक्सिजन थिएन। बिरामी विकल्प खोज्दै जुम्ला पुगे। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भए। त्यहाँको आइसोलेसन बसाइपछि ठीक भएर घर फर्किए।

मे ६ मा डाक्टर भूमेश काफ्लेले ट्वीट लेखे : सुन्दैछु आज पोखराबाट एकजना बिरामी हेली रेस्क्युमार्फत् जुम्ला आउँदै छन् रे। शहरहरूमा आइसीयू, भेन्टिलेटरहरूको अभाव भइरहेको बेला जुम्ला आउने कुराले बिरामीलाई पक्कै पनि फाइदा हुनेछ। अस्ति पाँच जना सुर्खेतमा बेड नपाएर जुम्ला आएका थिए।

पोखराका ती संक्रमित जुम्ला पुग्न पाएनन्। मौसममा खराबीका कारण पोखरामै छुटे। अभाव बिच बाँच्न संघर्ष गरे। तर, जुम्लास्थित प्रतिष्ठानमा शय्या खोज्दै फोन गर्छन् धनगढी, नेपालगञ्जदेखिका बिरामीहरू। अस्‍पतालका डाक्टर राजीव साहका अनुसार अस्पतालमा कोरोना भाइरस संक्रमितको उपचारका लागि उचित व्यवस्थापन गरिएको छ। तत्काल देशका अन्य अस्पतालहरूमा जस्तो शय्या अभाव छैन।

'कोभिड-१९ को महामारी फैलन सुरु भएदेखि हामी सक्रिय छौं। हरेक समस्याविरुद्ध छलफलमार्फत् समाधानको खोजी गर्दै आयौं। त्यसैले अहिले देशका सुगम ठाउँहरूबाट सेवा खोज्दै बिरामी आउन सम्भव भएको छ,' डाक्टर साहले भने।

व्यवस्थापन समितिदेखि चिकित्सक, स्वास्थ्यकर्मी एवं सर- सफाइ कर्मचारीहरू बिचको समन्वयनले प्रतिष्‍ठानका लागि कोरोना भाइरस संक्रमणको उपचार सहज बनेको सुनाए।

यहाँ पनि अस्पतालमा संक्रमणको लक्षणसहित आएका बिरामीहरूलाई सुरुमा फिभर क्लिनिकमा राखिन्छ। त्यहाँ उनीहरूको पीसीआर परीक्षणका लागि स्वाब लिइन्छ। रिपोर्ट नेगेटिभ आएका बिरामीलाई जेनेरल वार्डमा सारिन्छ र पोजेटिभ आएका बिरामीहरूलाई आइसोलेसनमा पुर्‍याइन्छ।

अस्पतालमा संक्रमितहरूका लागि १ सय २० वटा शय्या व्यवस्थापन गरिएको छ। हाल त्यहाँ २७ जना संक्रमितको उपचार भइरहेको छ। अक्सिजन लेभल ९० भन्दा कम भएका वा स्वास प्रस्वासमा समस्या भएका बिरामीलाई मात्र अस्पतालले भर्ना लिइरहेको छ। जति आइसोलेसनमा छन् सबैलाई अक्सिजन अत्यावश्यक छ।

'गम्भीर अवस्थामा पुग्न सक्ने बिरामीलाई शय्या वा अक्सिजन अभाव नहोस् भनेर सबै संक्रमितको भर्ना नलिएका हौं। सबैतिर संकट छ। स्रोत साधन जोगाउँदै प्रयोग गर्नुको विकल्प छैन,' साहले सुनाए।

संक्रमितको चाप कम भएका कारण अस्पतालले ओपीडी र इलेक्ट्रिक सर्जरीबाहेक अन्य स्वास्थ्य सेवा स्थगित गर्नु परेको छैन। डाक्टर साहका अनुसार आकस्मिक कक्षमा संक्रमितबाहेक अरु समस्या लिएर आएका बिरामीको उपचार भइरहेको छ। त्यस्तै प्रसुतितर्फको सेवा पनि निरन्तर चलिरहेको छ।

'संक्रमण र त्यसपछि निम्तन सक्ने अवस्थालाई ध्यानमा राख्दै हामीले सुरक्षा नीति र उपकरण अपनाएका छौं। संयमित र सुरक्षित सेवामा जोड दिइरहेका छौं,' साहले भने।

त्यहाँ जुम्ला, कालिकोट, मुगु, सुर्खेतलगायत ठाउँका बिरामी उपचाररत् छन्। नयाँ भेरियन्टको कोरोना भाइरस सुरुवातमा भारतबाट फर्किएकाहरूमा बढी देखिएको थियो भने हाल संक्रमण समुदाय स्तरमै फैलिएको डाक्टरको दाबी छ। बिस्तारै अस्पतालमा परीक्षणका लागि आउने र भर्ना गर्नुपर्ने अवस्थाका बिरामी बढ्दो छन्। तर, यहाँ पनि मुख्य चुनौती उही, अक्सिजन व्यवस्थापन।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग आफ्नै अक्सिजन प्लान्ट छ। जसबाट २० जना संक्रमितको शय्यामा पाइफमार्फत् प्रत्यक्ष अक्सिजन पुर्‍याइन्छ। हाल 'हाइ फ्लो'मा अक्सिजन चाहिने संक्रमितको संख्या बढ्दो छ। जसलाई अस्पतालको प्लान्टले धान्न सकेको छैन। पाइपलाइन बाहेक अस्पतालसँग दुई सय सिलिन्डर छ तर अक्सिजन छैन। अस्पतालले ती सिलिन्डर नेपालगञ्ज पठाएको छ, भर्नका लागि।

'लाइनमा राखिएको छ। कहिले पालो आउँछ टुङ्गो छैन। देशव्यापी अभावको मारमा हामी पनि परेका हौं। यसमा सरकारको साथ रहन्छ भन्ने आशा छ, ' साहले भने, 'अक्सिजन जोहो भए जहाँबाट बिरामी आए पनि उपचार सम्भव छ।'

अक्सिजन अभाव देशव्यापी बनेको छ। चर्को पैसा तिरेर हेलिकप्टरबाट उपचारका लागि काठमाडौं आउने पनि अस्पतालमा अक्सिजन नहुँदा ज्यान गुमाउनु परेको छ। उपत्यकाका अस्पतालहरूमा अक्सिजनसँगै संक्रमितलाई आवश्यक भेन्टिलेटरसहित सघन उपचार कक्ष आईसीयूको पनि अभाव छ। अनि देशको विकट ठाउँको अस्पतालसम्म भने मानिस आशा बोकेर धाइरहेका छन् टाढाबाट।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell