PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

संक्रमितको मृत्युदेखि अस्पताल तोडफोडसम्म : प्रदेश २ जहाँ, कतै बेड छैन त कतै चलाउन नजान्दा 'भेन्टिलेटर युजलेस'



सुमित मिश्र

संक्रमितको मृत्युदेखि अस्पताल तोडफोडसम्म : प्रदेश २ जहाँ, कतै बेड छैन त कतै चलाउन नजान्दा 'भेन्टिलेटर युजलेस'

जनकपुरधाम : मंगलवार नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय २५ थपियो। सरकारले पछिल्लो समय कोभिड-१९ संक्रमितको मृत्युलाई अस्पतालमा सीमित गर्ने र अस्पताल बाहिरको मृत्यु रोक्ने दाबी गरेको छ। तर, ९३ हजार १४१ सक्रिय संक्रमित मध्ये करिव ९० हजार अस्पताल वा संस्थागत आइसोलेसन बाहिर छन्।

अस्पताल पुगेकालाई पनि सहज छैन। कोही अक्सिजन अभावका कारण छट्पटाइरहेका छन्। जनप्रतिनिधि नै शय्या अभावका कारण अस्पतालबाहिर मरेका छन्। आइसियुमा रहेका कोही संक्रमितको मृत्यु होला र ठाउँ पाइएला भन्ने आशमा पालो कुर्नेहरू पनि उत्तिकै।

प्रदेश २ का ८ वटै जिल्लामा पनि उस्तै छ अभाव। जसमध्ये सबैभन्दा बढी प्रभावित छ पर्सा। धनुषामा पनि संक्रमण दर उच्च छ। तर, संक्रमितको उपचारका लागि संघीय, प्रदेश र स्थानीय सरकारले चासो दिएका छैनन्।

संघ र प्रदेश सरकार, उपचार अभावमा कुनै पनि संक्रमितले ज्यान गुमाउन नपर्ने दावी गर्दैगर्दा मंगलवार प्रादेशिक अस्पताल जनकपुरधाममा एक कोभिड-१९ संक्रमितको मृत्यु भयो। उनको मृत्युपछि अस्पतालमा तोडफोडदेखि लिएर स्वास्थ्यकर्मीमाथि धक्कामुक्की भयो।

किन भयो प्रादेशिक अस्पतालको कोभिड कक्षमा तोडफोड?

महोत्तरीको जलेश्वर नगरपालिका वार्ड नं. ४ सुगाका एक संक्रमितलाई स्वासप्रस्वासमा समस्या देखियो। स्थानीय जलेश्वर अस्पतालमा उपचार सम्भव नभएपछि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुर्‍याइयो उनलाई।

अस्पताल पुगेको केहीबेरमै उनी मृत घोषित भए। मृतकका आफन्तहरूले आक्रोशित भए। अस्पतालमा तोडफोड गरे, स्वास्थ्यकर्मीसँग धक्कामुक्की गरे। परिवारको आरोप थियो - अस्पतालको हेलचेक्र्याइका कारण उनको मृत्यु भयो।

प्रत्यक्षदर्शी राकेश विक्रम साहले भने – ‘अस्पताल पुगेपछि उनलाई हेर्न न त कुनै डाक्टर आए न त नर्स नै। अस्पतालका कर्मचारीहरूले पनि बेवास्ता गरे। सास फेर्न गाह्रो भइरहेको थियो तर कसैले अक्सिजन लगाइदिएनन्।'

केहीबेरमा एक व्यक्ति आएर अक्सिजन सिलिन्डर त दिए। तर, अक्सिजन माक्स र पाइप नभएको बताउँदै बाटो लागेको साहको दावी छ। आवश्यक सामाग्री लिन मृतकका माइला छोरा अस्पताल बाहिरको औषधी पसलमा पुगे। त्यतिबेला जेठो र कान्छो छोरा अस्पतालमा डाक्टर खोज्दै भौतारिरहेका थिए। केहीबेरमा ती संक्रमितको मृत्यु भयो।

लगत्तै अस्पतालमा तोडफोड भयो। स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार। उनीहरूले अस्पतालको उपचार कक्षमा जडान गरिएका भेन्टिलेटरसमेत तोडफोड गरे। हाल प्रहरीले मृतकका दुई छोरालाई नियन्त्रणमा लिएको छ।

जोखिमका खटिएका स्वास्थ्यकर्मी माथिको दुर्व्यवहार दुःखद्‍

संक्रमणदर बढ्दै जाँदा अस्पतालहरूमा शय्या अभाव हुँदै गएको छ। आइसियुमा उपचाररतका लागि पनि अक्सिजनको हाहाकार छ।

‘एकातिर चिकित्सकहरू जोखिम मोलेरै दिनरात खटिरहेका छन्। संक्रमितको मृत्यु हुँदा आफन्तलाई पीडा हुनु स्वभाविक छ। आक्रोश छ। तर, अभावबिच खटिएका स्वास्थ्यकर्मीमाथिको आक्रमण। भएका सीमित स्रोत साधन माथि तोडफोड भने समस्याको समाधान होइन,’ प्रादेशिक अस्पतालको कोभिड कक्षमा खटिएका डा. कृष्ण यादवले भने।

स्रोतसँगै जनशक्तिको अभाव

वैशाख २५ गते महोत्तरीका एक संक्रमित भेन्टिलेटर नपाएर मरे। उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि जलेश्वर अस्पतालको आइसोलेसनमा राखिएको थियो। अस्पतालमा भेन्टिलेटर त थियो तर चलाउने जनशक्ति नहुँदा उनले ज्यान गुमाए।

गत वैशाख २१ गते त धनुषाको बटेश्वरबाट स्थानीय क्लिनिकहरूमा उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल जनकपुर पुगे एक बिरामी। तर, अस्पतालमा शय्या थिएन। उनका आफन्तले जनकपुरधामकै केही निजी अस्पतालहरू घुमाए। हारगुहार गर्दै चहार्दा चहार्दै बाटोमै मृत्यु भयो ती बिरामीको। परिवारले समेत संक्रमणको त्रासका कारण उनको शव बाटोमै छोडेर भाग्यो। अन्तत: नेपाली सेनाले उनको शव व्यवस्थापन गर्‍यो।

के उपचारमा लापारवाही भएकै हो?

प्रदेश सरकारका मन्त्री तथा मुख्यमन्त्रीहरूको तर्क सही मान्ने हो भने, प्रदेश सरकारले कोभिड-१९ संक्रमितहरुको उपचारका लागि पूरै शक्ति लगाएको छ। स्रोत साधन अभाव रहेका अस्पतालहरूमा स्रोत साधन उपलब्ध गराएको छ। चिकित्सकको अभाव रहेका अस्पतालहरूमा जनशक्तिहरु भर्ना गरिएको छ।

तर, महोत्तरीको जलेश्वरमा रहेको जिल्ला अस्पतालमा ५ वटा भेन्टिलेटर छन्। तर, चलाउने जनशक्ति नै छैन। जनशक्ति अभावका कारण कोभिड-१९ संक्रमितको उपचार उक्त अस्पतालमा हुन सकेको छैन। त्यहाँका गम्भीर लक्षण देखिएका संक्रमितलाई जनकपुरधाम तथा अन्य जिल्ला पुर्‍याउनुपर्ने बाध्यता छ।

प्रदेशमा हाल सबैभन्दा बढी भेन्टिलेटर चलाउने जनशक्तिको आवश्यकता रहेको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डाक्टर कमलेश यादवले बताए। उनका अनुसार प्रदेश सरकारले करारमा जनशक्ति भर्ना त गर्‍यो। तर, त्यसरी भर्ना भएका जनशक्ति भेन्टिलेटर चलाउन पूर्ण रुपमा सक्षम देखिएनन्।

उनको दावी पुष्टि गरे जलेश्वर अस्पताल, विकास समितिका अध्यक्ष सुरेश पाण्डेले। प्रदेश सरकारले २३ जना अस्थायी जनशक्ति उपलब्ध गरायो। ती स्टाफ नर्स र जनरल मेडिसिनमात्रै हुन्। एनेस्थेसिया वा रेडियोलोजिस्ट पठाइएको छैन। उनले भने, ‘एनेस्थेसिया वा रेडियोलोजिस्ट नपठाएपछि रहेका भेन्टिलेटर पनि प्रयोगविहीन अवस्थामै छन्।'

अक्सिजन आपूर्तिको अवस्था नाजुक

प्रदेश २ मा अक्सिजन आपूर्तिको अवस्था पनि नाजुक नै रहेको छ। स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक यादवका अनुसार प्राय संक्रमितहरूमा स्वासप्रस्वासको समस्या देखिएको छ। उनले भने, ‘कोभिड-१९ संक्रमितहरूलाई अहिले अक्सिजन सिलिण्डर नितान्त आवश्यक छ तर अक्सिजन सहज रुपमा आपुर्ति हुन सकिरहेको छैन।’

आफ्नै अक्सिजन प्लान्ट भएका सिराहा र लहान अस्पतालहरूमा अवस्था केही सहज भएपनि सिलिन्डर लिएर लाम लाग्नुपर्ने अस्पताललाई कठिन छ। सबैभन्दा बढी चाप भएको प्रादेशिक अस्पताल जनकपुरमा समस्या चर्कदो छ।

अक्सिजनका सिलिण्डर आपूर्ति भइरहेका अस्पतालहरुमा त्यसमा प्रयोग हुने पाइप तथा अक्सिजन मास्कको अभाव देखिएको छ। यद्यपि, प्रदेश स्वास्थ्य निर्देशनालयसँग दैनिक अक्सिजन सिलिण्डरको माग कति छ भन्ने बारे यकिन तथ्यांक पनि छैन। न त आपूर्ति कति भएको छ भन्ने जानकारी नै।

प्रदेश २ मा शय्याको अवस्था

प्रदेश २ को सप्तरीस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा ७ वटा आइसोलेसन तथा २५ एचडीयु गरी कुल ३१ शय्या कोभिड-१९ संक्रमितहरुका लागि छुट्याइएको छ।

त्यहाँ ४ वटा भेन्टिलेटर छन्। भेन्टिलेटर चलाउने जनशक्ति नै छैनन्। मलंगवा अस्पतालमा अन्य रोगका बिरामीहरुका लागि कुल १९ शय्या उपलब्ध छ। तर, कोभिडका बिरामीहरुका लागि एउटा पनि शय्या छैन।

सिराहा अस्पतालमा ५० आइसीयु, २५ आइसोलेसनगरी कुल ७५ शय्या र २ वटा भेन्टिलेटर छ। ती अस्पतालमा कोभिड-१९ संक्रमितका लागि कुनै शय्या छुट्याएको छैन।

कलैया अस्पताल बारामा कोभिड संक्रमितका लागि १ सय आइसोलेसन शय्या र १२ आइसियु शय्या गरी कूल ११२ शय्या उपलब्ध।

नेसनल मेडिकल कलेज वीरगंज २० आइसीयु, ५० आइसोलेसन गरी कूल ७० शय्या कोभिड-१९का बिरामीका लागि उपलब्ध छ। यहाँ २० वटा भेन्टिलेटरसमेत छ।

नारायणी अस्पताल वीरगंजमा १० आइसीयु, ८० एचडीयु गरी कूल ९० शय्या कोभिड-१९ का बिरामीहरूका लागि छन्। यहाँ ५ वटा भेन्टिलेटर उपलब्ध छन्।

नारायणी वयोधा अस्पतालमा १५ वटा आइसोलेसन शय्या कोभिड-१९ का रोगीका लागि छुट्याइएको छ।

गण्डक अस्पताल वीरगंज २४ आइसोलेसन शय्या, बाबा होटेल विरगंजमा १७० आइसोलेसन शय्या कोभिड-१९का बिरामीका लागि बनाइएको छ।

जलेश्वर अस्पताल ५ आइसीयु, १५ एचडीयु, २५ आइसोलेसन शय्या गरी कुल ४५ वटा शय्या कोभिड-१९ का बिरामीहरुका लागि छन्। भने ५ वटा शय्या अन्य रोगका रोगीहरुका लागि छन्। जलेश्वर अस्पतालमा ५ वटा भेन्टिलेटर समेत छ। बर्दिवास अस्पताल ५ वटा आइसियु शय्या कोभिड-१९ का संक्रमितका लागि छुट्याइएका छन्। त्यहाँ पनि ५ वटा भेन्टिलेटर छ।

गौर अस्पतालमा १५ आइसोलेसन शय्या छ भने १० वटा आइसियु शय्या निर्माणाधीन अवस्थामा रहेको छ। प्रादेशिक अस्पताल जनकपुरधाममा १२ आइसीयु, २५ एचडीयु, १२ आइसोलेस, १० प्रि आइसोलेसनगरी कुल ५९ शय्या कोभिड-१९ का बिरामीहरुका लागि रहेको छ। यहाँ ९ वटा भेन्टिलेटर छ।

लहान अस्पतालमा ७ वटा आइसोलेसन शय्या कोभिड-१९ संक्रमितको लागि छुट्याइएको छ। यीसँगै प्रदेश भरी कुल ७४ आइसीयु, १५५ एचडीयु, १० प्रि आइसोलेस र ४२५ आइसोलेसन शय्या रहेको छ भने ५२ वटा भेन्टिलेटर छ।

प्रदेशमा कति छन् कोभिड-१९ का सक्रिय संक्रमित ?

प्रदेश २ मा हाल सात हजार २९३ जना सक्रिय संक्रमित रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सक्रिय संक्रमितमध्ये ४९८ जना अस्पताल तथा संस्थागत आइसोलेसनमा उपचाररहत छन्। जुन ६.८ प्रतिशत हो। त्यस्तै ९३.२ प्रतिशत अर्थात ६ हजार ७९५ जना होम आइसोलेसनमा रहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ।

सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी पर्सामा २ हजार ५३४ कोभिड-१९ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये २ हजार १३७ जना होम आइसोलेसन र ३९७ जना विभिन्न अस्पतालका आइसोलेसनमा छन्।

यस्तै धनुषामा १ हजार ६८९ जना सक्रिय संक्रमित रहेकोमा १ हजार ६१९ जना होम आइसोलेसन र ७० जना विभिन्न अस्पतालको आइसोलेसनमा छन्। महोत्तरीमा ८०२ जना, रौतहटमा ५४९ जना, सर्लाहीमा ८७ जना सक्रिय संक्रमित रहेका छन्। ती सबै होम आइसोलेसनमा रहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ।

बाराका ८१९ सक्रिय संक्रमित मध्ये ८१२ जना होम आइसोलेसन र ७ जना विभिन्न अस्पतालको आइसोलेसनमा छन्। यस्तै सप्तरीमा ४८८ जना सक्रिय संक्रमित मध्ये ४८३ जना होम आइसोलेसन र ५ जना विभिन्न अस्पतालको आइसोलेसनमा छन्।

३२५ जना सक्रिय संक्रमित रहेको सिरहामा ३०६ जना होम आइसोलेसन र १९ जना विभिन्न अस्पतालको आइसोलेसनमा छन्।

प्रदेशमा कोभिड-१९ संक्रमितको मृत्यु

हालसम्म प्रदेश २ मा २७० जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेछ। जसमध्ये १ जना बाहिरी जिल्लाका हुन्।

त्यस्तै मृत्यु भएका मध्ये सबै भन्दा बढी ८५ जना रहेका छन्। त्यस्तै सप्तरीमा ५० जना रहेका छन्। त्यस्तै सिराहामा ३६, बारामा २६, धनुषामा २५ जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै महोत्तरीमा २१, सर्लाहीमा १५ र रौतहटमा २७० जना रहेको तथ्यांकमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell