काठमाडौं : काठमाडौं उपत्यकाभित्र थप १५ दिने निषेधाज्ञा आजबाट शुरु भएको छ। उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले वैशाख २१ गते १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो।
थपिएको निषेधाज्ञा अब जेठ १३ गते रातिसम्म जारी रहनेछ। अघिल्लोपटक उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी भएको थियो। त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गर्दै बुधबार राति १२ बजेसम्मका लागि समय थपिएको थियो।
पछिल्लो समय संक्रमितसँगै विरामीहरुको संख्या ब्यापक भएको छ। अस्पतालमा अक्सिजन अभाव देखिन थालेको छ। त्यसै पनि निषेधाज्ञा थप गर्नु परेको हो।
थप गरिएको पछिल्लो निर्णयमा विवाह तथा भोजलाई भने केही कडाइ गरिएको छ। अब कसैले पनि निषेधाज्ञाको समयमा पार्टी प्यालेस र होटेलमा विवाह गर्न पाउने छैनन्। त्यस्तै, घरभित्र भएको विवाहमा पनि भोजभतेर गर्न पाइने छैन। १० जना भन्दा बढी मानिस भेला भएर विवाह गरेको पाइएमा कारबाही गरिने छ।
'विवाह गर्न पाइन्छ। तर १० जनाभन्दा बढी भेला भएर भोजभतेर गरेर होइन,' जिल्ला प्रशानस कार्यालय ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भने।
यसअघि १५ जनासम्म भेला भएर विवाह गर्न दिइएको थियो। त्यस्तै, तरकारी तथा खाद्यान्नको पसल भने बिहान १० बजेसम्म खुल्न दिइने भएको छ। यसअघिको निषेधाज्ञामा बिहान ९ बजेसम्म खुल्न दिइएको थियो। समय कम हुँदा मानिसको भिड भएकाले एक घण्टा थप गरिएको सहायक सीडीओ बस्नेतले जानकारी दिए।
तर, खुद्रा रुपमा साइकल तथा गाडा लगायतमा राखेर बेचबिखन गर्ने तरकारी तथा फलफूल पसललाई भने रोक लगाइएको छ। त्यस्तै, निजी क्षेत्रमा हुने विकास निर्माणका काम समेत नगर्न भनिएको छ। ठूला तथा राष्ट्रिय गौरवका योजना र सरकारी निर्माणका काम भने रोकिने छैनन्।