काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकारमा आफ्नो नेतृत्वका लागि दाबी पेश गर्दै छन्। माओवादी केन्द्र, जनता समाजवादी पार्टीको समर्थनमा देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दाबी पेश गर्ने तयारी भएको कांग्रेस महामन्त्री डा शशांक कोइरालाले जानकारी दिए।
एमालेका माधव नेपाल पक्षका नेताहरुसँग पहल जारी राखिएको र जसपाका नेताहरुसँग पनि भेटवार्ता जारी राखिएको कोइरालाले जनाए। 'नयाँ सरकार गठनका लागि पहल जारी छ। दिनभरमा केही होला,' महामन्त्री कोइरालाले भने।
देउवाले तीन दलको छलफललाई अझ घनीभुत बनाउन पार्टीका अर्का महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण र रमेश लेखकलाई खटाएको कोइरालाले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा विश्वासको मत गुमाएसँगै राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्। उक्त समय आज राति ९ बजे सकिँदैछ।
नयाँ सरकार गठनका लागि एमालेको माधव नेपाल पक्षको मतलाई कांग्रेसले आशा गरिरहेको छ। यद्यपि नेपाल पक्षले अझै ठोस निर्णय गरिसकेको छैन। नेपाल पक्षलाई आफूतिर तान्न ओलीले आजै स्थायी कमिटी डाकी नेपालसहित चार नेताको निलम्बन फूकुवा गरेको छ।