काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई अस्थिरताका लागि पहल नगर्न चेतावनी दिएका छन्।
शीतल निवासमा प्रधानमन्त्री पदको सपथ लिएपछि पद बहाली गर्न सिंहदरबार पुगेका ओलीले आफूलाई पदबाट हटाउन नसकेपछि अस्थिरता ल्याउन खोजिएको आरोप लगाएका हुन्। नवनियुक्त मन्त्रीहरुलाई ब्रिफिङ गर्नै ओलीले प्रचण्डलाई 'नक्कली क्रान्तिकारी'को संज्ञा समेत दिएका छन्।
'आफूले सरकार बनाउन नसक्नु प्रतिगमन। नक्कली क्रान्तिकारी चस्माबाट हेर्छन्। र अहिले पनि जनतालाई। प्रतिगमनका पक्षमा लागौं भनेर बबण्डर गर्ने प्रयास भएको छ,' उनले भने।
उनले कुनै पनि राजनितिक दलको नेता स्वार्थमा लाग्न नहुने समेत बताए। सरकारलाई असफल बनाउन भ्रष्टचारको हल्ला फैलाएको आरोप उनको थियो। विपक्षी गठबन्धनका नेताहरुले ओली सरकार भ्रष्टाचारमा डुबेको भन्दै आलोचना गरेका थिए। गठबन्धनका नेताहरुलाई जवाफ दिदै ओलीले भ्रष्टाचार भएको थाहा पाए आफूले कारवाही गर्ने बताए।
'देशप्रति चिन्तित नहुने प्रवृति स्वीकार्य होइन। जतातै पहेंलो देख्ने जण्डिसको बिरामी जस्तो। जता पनि भ्रष्टचार देख्ने,' उनले भने।
सम्बोधनका क्रममा उनले मन्त्रीहरुलाई अस्पतालहरुलाई पूर्ण क्षमताको अक्सिजन सहित संचालनमा ल्याउन निर्देशन समेत दिए। साथै कोभिड-१९ नियन्त्रणका लागि सक्रिय भएर लाग्न सबैलाई आग्रह गरे।
कोभिड १९ बाट उत्पादन र रोजगारीमा परेको प्रभावबारे सरकार सजग रहेको ओलीको भनाई छ।
निजी र सरकारी अस्पतालमा सेवाको भाव हुनुपर्ने भन्दै उनले भने, 'संकटका बेला मानवीय भावना बढि आवश्यक पर्छ। यस्तो बेला परोपकारी प्रवृतिलाई बढावा दिन आवश्यक छ। त्यस काममा निजी अस्पताल र स्वास्थ्य उपकरण, औषधिका निम्ति सबैले जिम्मेवार बोधका साथ सक्रिय हुन आग्रह गर्छु।'