PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

सेल्युट सुदन र उनका साथीहरू जो फ्रन्टलाइनमा दिनरात खटिँदैछन् महामारीसँगको युद्धमा



स्वेच्छा राउत

सेल्युट सुदन र उनका साथीहरू जो फ्रन्टलाइनमा दिनरात खटिँदैछन् महामारीसँगको युद्धमा

करिव एक सातापछि बुधवार साँझ घर फर्किए सुदन गुरुङ। बेस्सरी भोक लागेको थियो उनलाई। तर, थकानले गर्दा पकाउने जाँगर थिएन। त्यसैले आलुमै झोल हालेर तरकारी बनाए। भात पकाए, खाए। निकैपछि आफ्नै ओच्छ्यानमा परेको थियो शरीर, केहीबेरमै भुसुक्कै निदाएछन्।

फोनको घण्टीले झसङ्ग बनायो उनलाई। एउटा आँखा आधामात्र खोलेर स्क्रिनमा हेरे, रातको साढे १२ बजेको थियो। फोन गरेका थिए, ट्रमा सेन्टरमा खटिएका आफ्नै साथीले।

‘कोभिड वार्डको अक्सिजन सक्कियो। बिरामीहरूलाई गाह्रो हुन थालेको छ।'

साथीको हस्याङफस्याङ आवाजले सुदनको निद्रा खल्बलियो। थकान बिर्सियो ज्यानले। जुरुक्क उठे। सँगै सुतेका साथी विधान श्रेष्ठलाई लिएर हान्निए अस्पतालतर्फ। त्यहाँ स्वास्थ्यकर्मीहरू आत्तिरहेका थिए। बिरामीको सकस बेग्लै। सबैलाई 'सबैकुरा ठीक हुन्छ' भन्दै थुम्‍थुमाउँदै फोन गर्न थाले - अक्सिजन उत्पादकदेखि, अक्सिजन व्यवस्थापनका लागि जुटेका समूहहरूलाई। तर, कहीँ कतैबाट पनि सकारात्मक संकेत पाइरहेका थिएनन्।

फोन डायल गर्दा र अक्सिजनक प्रतिक्षा गर्दा गर्दै बाह्र घण्टा बित्यो। त्यतिन्जेलमा जोहो भयो जम्मा तीन सिलिन्डर अक्सिजन। त्यतिले कहाँ पुग्नु? थाहा छैन, त्यस अवधिमा कति संक्रमित अक्सिजन अभावकै कारण बिते। तर, जिउँदै थियो सुदनको प्रतिवद्धता – थप अर्को एक बिरामीलाई मृत्युदरको अङ्क बन्न नदिने।

बिरामीको आफन्तले सयौं कल गरे। सबैलाई आश्वासनमात्र दिन सके उनले। अक्सिजन उत्पादकलाई सयौं कल गरे। सबैबाट आश्वासनमात्रै पाए उनले पनि। 'कल सेन्टरजस्तै भइसकेँ तर थाकेको छैन। किनकि यो कोसिस पनि गर्न नसक्नेगरी गलेकाहरूको लागि दिनुपर्ने समय हो,' उनले भने।

राष्ट्रिय ट्रमा सेन्टरमा अक्सिजनको अभाव बुधवार मध्यरातदेखि मात्र भएको हो। तर, सुदन र उनका साथीहरू लकडाउन लगत्तै खटिएका छन् त्यहाँ। थोत्रिएका शय्या उठाएर आइसोलेसन बनाउनदेखि संक्रमितलाई उठाएर तिनै शय्यामा सुताउनसम्म उनीहरु भिडिरहे।

संक्रमितको संख्या बढ्दो। अस्पताल भरिँदो। फाट्टफुट्ट आइरहेका शय्या अभावको खबरले संकटको संकेत गरेकै थियो, त्यो पनि काठमाडौंका महँगा अस्पतालहरूमा। सुदनको मनमा जिज्ञासा जाग्यो – उपचारका लागि शक्ति देखाउन नसक्ने वा पैसा तिर्न नसक्नेहरू कहाँ जालान्?

योजना बनाए, वीर अस्पतालको नयाँ भवनलाई संक्रमितको उपचार केन्द्र बनाउन मद्दत गर्ने। जहाँ हरेक वर्गका मानिसको पहुँच हुन्छ। जहाँ पैसा नहुनेहरू पनि जीवन पाएर फर्कन्छन्। अस्पतालका निमित्‍त निर्देशक डाक्टर शान्ता सापकोटासँगको समन्वयमा थाले काम।

योजना बनेलगत्तै सुदनले इन्स्टाग्राममार्फत् सहकार्यका लागि आह्वान गरेका थिए। देशभरबाट युवाहरूले तत्परता देखाए उनको आह्वानमा। तर, संक्रमणविरुद्ध लड्नु सँगसँगै संक्रमण फैलन नदिन जिम्मेवार बन्नु पर्ने समय छ। खट्न चाहने सबैलाई समूहमा जोड्दा भिड ठूलो हुने चुनौती। त्यसैले न्यूरोड आसपासका युवाहरूलाई स्वागत गरे सेवाका लागि। सुरुमै प्रष्ट पारे – संक्रमितका लागि काम गर्ने हो। संक्रमणको जोखिम मोल्ने हो। थाहा छैन – कस्तो कस्तो परिस्थिति भोग्नुपर्छ।

जो हरेक परिस्थितिमा सँगै उभिन तयार भए उनीहरू जोडिए अभियानमा। अस्पतालले थोत्रिएर फालेको शय्याहरू स्टोरबाट उठाए। रित्ता कोठासम्म पुर्‍याए। रङ लगाए, सरसफाइ गरे, तन्ना हाले। अस्पताललाई केही शय्या स्वास्थ्य मन्त्रालयले पनि उपलब्ध गराएको रहेछ। पचास शय्या सुदनहरूको समूहले थप्यो। र, तयार भयो १ सय ७० बेडसहितको आइसोलेसन वार्ड।

राज्यलाई आपत् पर्दा स्वत:स्फूर्त रुपमा जुटेका यी युवालाई वीरका पाँच जना कर्मचारीले सघाए। जो बेलुकी ५ बजेपछि घर फर्कन्थे। समय र सुविधाले नबाँधिएका सुदनको समूहले चाहिँ दिनरात भनेन। लगातार चार दिन काम गरे। आइसोलेसन तयार भयो। तर, सञ्चालनमा चाहिँ आएन। प्रशासनले कारण देखायो – जनशक्ति अभाव।

त्यसपछि अस्पतालले कोभिड-१९ वार्डका लागि सय जना नर्स माग गर्‍यो। आवेदन दिए सत्र सय जनाले। महामारी बिच जागिर खोज्दै आएकाहरूको भिड व्यवस्थापन गर्न पनि तिनै युवा लागि परे जसमध्ये कोही आफ्नो जागिर हापेर मैदानमा उत्रिएका थिए – कोभिड १९ सँग युद्ध लड्न। कोही गोजीबाट पैसा निकालेर काममा खट्नेहरूलाई खाजा खुवाइरहेका थिए।

तर, अस्पताल प्रशासनले आइसोलेसन वार्ड सञ्चालनमा ल्याउन ढिलासुस्ती गर्‍यो।

'उहाँहरू प्रकिया मिलाएर अगाडि बढ्न खोज्नुभयो। त्यसले समय लाग्ने भयो। त्यसरी त फेरि अभावबाटै गुज्रनु पर्ने भयो संक्रमितहरू। त्यसैले जहाँ काम गर्ने वातावरण छ त्यतै लाग्यौं,' सुदनले सुनाए।

उनीहरू बनिसकेको आइसोलेन त्यसै छाडेर राष्ट्रिय ट्रमा सेन्टरमा खट्न थाले।

+++

२०७२ साल, वैशाख १२ गते शनिवार। शुक्रवार राति रक्सी खाएर समातिएको साथीहरूलाई छुटाउन महानगरीय प्रहरी वृत्त जनसेवा पुगेका थिए सुदन। ठीक त्यतिखेरै भूकम्प आयो। घरहरू भत्किए। मानिसहरूको भागाभाग हुन थाल्यो। सबै ज्यान जोगाउनतिर लाग्दा उनको आँखा छट्पटाइरहेका एक मानिसमा पर्‍यो। उनको खुट्टा भाचिएको थियो। सुदनले ती मानिसलाई बोकेर आफ्नो स्कुटरमा राखे। र, पुर्‍याए वीर अस्पताल। त्यहाँ त अवस्था झन् बेहाल भइसकेको रहेछ। गेट बाहिर एक महिला बच्चा बोकेर अस्पतालतर्फ आइरहेको देखे उनले। गुहार्दै दौडिरहेकी ती महिला छेउ पुगे। बच्चा आफूले बोकिदिए र लागे आकस्मिक कक्षतर्फ। त्यहाँ खाली ठाउँ खोज्दाखोज्दै बच्चाले अन्तिम सास फेरे, सुदनकै अंगालोमा। आशाले पछिपछि हिँडिरहेकी आमाले लामो सुस्केरा हालिन्। चिच्याउँदै कराउँदै सहयोग मागिरहेकी उनले त्यसपछि आवाज निकालिनन्। आँशु मात्र झारिरहिन्।

अकल्पनीय पीडा बोकेर घर फर्कँन खोज्दै थिए उनी। तर, पार्किङबाट ट्रमा सेन्टरमा छट्पटाइ रहेकाहरूलाई देखे। त्यतिबेला ट्रमा सेन्टर सञ्चालनमा आइसकेको थिएन। ऐय्या र आत्था गरिरहेका बिरामीहरू थिए। कोही बेहोस, कोही रगताम्य।

'त्यो क्षण मलाई साह्रै बिझायो। त्यो बच्चालाई अलि चाँडो अस्पताल ल्याइदिने कोही हुन्थ्यो अनि अस्पतालमा व्यवस्थापन राम्रो भइदिएको भए पनि बाँच्थ्यो सायद। उसलाई बचाउन सकिएन। त्यसैगरी आउने अरु कसैको जीवन जोगाउन सघाउन सक्छु भन्ने सोचेँ,' उनले सुनाए।

त्यसपछि करिव एक महिना उनी अस्पतालमै बसे।

चिकित्सक एवं स्वास्थ्यकर्मीले व्यवस्थापनको पाटो हेर्न नपरे आफ्नो काम मजाले गर्लान्, घाइतेलाई ठीक बनाउँलान् भन्ने विश्वास थियो उनको। त्यहाँ रहेर एम्बुलेन्सबाट बिरामी ओसार्ने, उनीहरूलाई परीक्षणका लागि ल्याउने/लाने, खाजा/खाना खुवाउने, औषधी किनिदिने काम गरे। बेवारिसे छाडिएका पनि धेरै जना थिए त्यहाँ जसका लागि आफैँले खर्च जोहो गरिदिए।

'कतिखेर कसरी र कहाँ मर्नुपर्छ पत्तो नहुँदो रहेछ। आफ्नै अंगालोमा त्यो बाबु बितेपछि मेरो बाटो नै मोडियो,' उनी गम्भीर सुनिए।

३४ वर्षीय सुदन व्यवसायी हुन्। भूकम्प जाँदाताका उनी नाइट क्लब चलाउथे, ठमेलमा। पेशाले डीजेसमेत थिए। तर, त्यस घटनापछि उनलाई रमझमले छुन छाड्यो। क्लबको सेयर बेचे। आएको रकम खर्चिए, भूकम्प प्रभावितकै लागि।

त्यतिबेलै हो उनले फेसबुकमार्फत् स्वयं सेवक आह्वान गरेको र समूहलाई 'हामी नेपाल युवा' नाम दिएर सामाजिक काममा खटेको।

+++

ट्रमा सेन्टरसँग त्यो विषम परिस्थितिमा जोडिएका उनी पुन: एक पटक फर्किए त्यहीँ।

यस पटक ट्रमा सेन्टरमा आइसोलेसन सञ्चालन गर्न सहयोग गर्ने प्रस्ताव लिएर आएका थिए उनी। त्यहाँ आइसोलेसन बनाउने छलफल भएको पहिलो दिननै तयार भयो, दुई सय शय्यासहित। ट्रमा सेन्टरको ओपीडी वीरमा सारियो र वीरमा आएका कोरोना संक्रमितलाई ट्रमामा ल्याइयो।

सुदनको समूहले ट्रमा सेन्टरलाई संक्रमितको परीक्षणका लागि 'पोर्टेबल एक्सरे मेसिन' जडान गरिदियो। त्यस्तै पाँच वटा आइसीयू बेड पनि।

'देश भित्र र बाहिरको दाताहरूको सहयोगमा यो सबै सम्भव भएको हो। प्राप्त सहयोग र भएको खर्च पारदर्शी राख्न हामीले हरेक सामान किनेको भिडियो र रसिद् सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्नेछौं। जवाफदेही छौं तर कसैलाई अनावश्यक प्रश्न गर्ने ठाउँ दिने छैनौं,' उनी प्रतिवद्ध सुनिए।

आलोपालो काम गरिरहेका सुदन र उनका साथीहरू एम्बुलेन्सको आवाजसँगै जुर्मुराउँछन्। पीपीइ सेटमा गुम्सिएका उनीहरू संक्रमितलाई आइसोलेसनसम्म पुर्‍याउँछन्। अक्सिजन जुटाउन कोही जोरपाटी पुग्छन्, कोही थानकोट। कहिले स्वास्थ्यकर्मीको सहयोगी बन्छन्। र, कहिले आइसोलेसन बाहिर बिरामीको कुरुवालाई भरोसा दिलाउँछन् – सबै ठीक हुन्छ।

यस्तो सब भइरहँदा उनीहरूमाथि राष्ट्रिय टेलिभिजन कार्यक्रममार्फत् प्रश्न उठ्यो – सरकारी अस्पतालमा सरकारले गर्छ, तपाईँहरू किन यहाँको लागि रकम संकलन गर्दै हुनुन्छ? सिस्टममा चल्नु भएको छ?

'प्रश्न गर्नेकै आफन्त बिरामी भएर अस्पताल ल्याउँदा बुझ्लान्, यहाँ आएपछि फारम भर्न हतार हुन्छ कि शरीरमा अक्सिजन जोड्न? बुझ्लान् ढिला सिस्टममा मान्छे बचाउन कति महत्वपूर्ण बन्छ हरेक सेकेन्ड,' उनले भने।

आलोचना गर्नेहरूसँग तटस्थ बसेका छन् उनी। किनकि बुझेका छन् – राम्रो गरे पनि नराम्रो गरे पनि काममा खोट काम गर्नेहरूमाथि नै लाग्छ। बस् आफ्नो कर्म गर्न छाड्नु भएन।

यसअघि कोरोना भाइरस नियन्त्रणमा सरकारले चालेको कदम प्रभावकारी नभएको आरोप लगाउँदै पाटनमा सत्याग्रहमा बसेका थिए सुदन। त्यस समय पनि उनीहरूको नियतमा प्रश्न नउठेको कहाँ हो र?

एक समय उनलाई लामो कपाल पाल्ने सोख थियो। रहर त्यो कपाललाई अनेक डिजाइन दिने, रङ भर्ने। रहर पूरा गर्दा उनलाई धेरैले भने – बिग्रियो। 'ट्यापे' बन्यो। परिवारले पनि रुचाएनन् उनको रुची।

सन् २००७ मा उनले एउटा 'हेयर स्टाइल' प्रतियोगिता जिते। पत्रिकामा फोटो छापियो, जितेको पुरस्कार राशीसहित। त्यसपछि उनलाई कपाल पाल्दैमा 'ट्यापे' बन्यो भन्नेहरूले बधाई दिए। गाली गर्ने हजुरआमाले धेरैलाई फोन गरेर दङ्ग पर्दै सुनाइन् – नाति केटोले त कपाल पालेरै पैसा जित्यो नि।

सुदनले त्यतिबेलै मनमनै प्रण गरेका थिए – प्रश्न गर्नेलाई बोलेर होइन गरेर जवाफ दिन्छु। सधैँ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell