PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

मनाङमा कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीको अभाव, आइसोलेसन नहुँदा संक्रमित टेन्टमा



मनाङमा कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीको अभाव, आइसोलेसन नहुँदा संक्रमित टेन्टमा
File Photo

मनाङ :  मनाङमा कोरोना भाइरस संक्रमितको उपचारमा समस्या देखिएको छ। अस्पतालमा स्वास्थ्यकर्मीको अभाव हुँदा संक्रमितको उपचार प्रभावित भएको छ भने व्यवस्थित आइसोलेसनको अभावमा जटिल प्रकारका संक्रमितलाई टेन्टमा राखेर उपचार गर्नुपर्ने अवस्था रहेको छ।

मनाङका प्रमुख जिल्ला अधिकारी बिष्णु लामिछानेका अनुसार जिल्लामा तीनवटा कोभिड अस्पताल छन्। तर ती अस्पतालमा चिकित्सकहरु छैनन्। साथै, आइसोलेसन नहुँदा टेन्टमा राखेर संक्रमितको उपचार गर्नु परिरहेको उनले बताए।

भने,'संक्रमितको स्वास्थ्य जटिल भएमा हेलिकप्टर चार्टड गरेर पोखरा वा काठमाडौं पुर्‍याउनुको विकल्प छैन।' समयमा हेलिकप्टर आउने अवस्था नहुँदा संक्रमितलाई अस्पतालको पहुँचसम्म पुर्‍याउन समेत गाह्रो छ। 

स्थानीय तहले आइसोलेसन वार्ड तयार पारिरहे पनि निर्माण सम्पन्न भएको छैन। त्यसैले  केही दिनअघि संक्रमण पुष्टि भएका एक दम्पतीलाई टेन्टमा राखेर तीन दिनसम्म उपचार गर्दा स्वास्थ्य जटिल भएपछि पोखरा लगिएको थियो। लामिछानेले आइसोलेसन निर्माण हुँदै गरेकाले तत्कालको लागि त्यसरी नै टेण्टमुनि राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको बताए।

उनका अनुसार जिल्ला अस्पतालमा तीन दिनदेखि उपचार गराइरहेका कोरोना संक्रमितलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा र एक विदेशी नागरिकलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ।

आइसोलेसन निर्माणको अन्तिम चरणमा भनिए पनि कहिलेदेखि संचालनमा आउँछ भन्न सक्ने अवस्था छैन। जिल्ला अस्पतालको नयाँ भवनको निर्माण भइरहेको र पुरानो भवनमा संक्रमितका लागि पर्याप्त कोठा नहुँदा आइसोलेसन वार्ड सञ्चालन गर्न नसकिएको अस्पतालले जनाएको छ। 

स्थानीय तहले निर्माण गरिरहेका आइसोलेसन केही दिनमा निर्माण सम्पन्न हुने र संचालनमा ल्याइने लामिछानेले बताए।

अस्पताल सिल

जिल्ला अस्पताल मनाङमा उपचाररत बिरामीमा कोभिड पोजिटिभ देखिएपछि अस्पताल सिल गरिएको छ। संक्रमितको सम्पर्कमा आएका स्वास्थ्यकर्मीको स्वाब परीक्षणका लागि अस्पताल सिल गरिएको अस्पतालले जनाएको छ।  बुधबारदेखि सिल गरिएको जिल्ला अस्पतालमा इमर्जेन्सी बाहेकका अन्य सेवा बन्द छन्। अस्पतालबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरिएको जिल्ला अस्पताल मनाङका निमित्त प्रमुख डा.प्रतिभा गौलीले जानकारी दिइन्।

त्यस्तै जिल्लाका चार स्थानीय तहमध्ये दुई स्थानीय तहको सेवा समेत बन्द गरिएको छ। यी दुई पालिकाले बिहीबारबाट आफ्नो सेवा रोकेका हुन्। मंगलबार मनाङ ङिस्याङ गाँउपालिकामा एक विदेशी नागरिक सहित २५ जना कोरोना संक्रमित थपिएका थिए। चामे गाउँपालिकाको कार्यपालिकामा कार्यरत एक कर्मचारीमा समेत संक्रमण पुष्टि भएसँगै पालिका अन्तर्गतको स्वास्थ्य केन्द्रबाट सेवा प्रवाह रोक्ने निर्णय भएको प्रशासनले जानकारी दिएको छ।

स्वास्थ्यकर्मीको अभाव

मनाङमा जिल्ला अस्पतालको नयाँ भवन बनिरहँदा सेवा प्रवाहमा स्वास्थ्यकर्मीको पनि अभाव छ। कोभिड र अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अस्पतालमा चिकित्सकदेखि कर्मचारीको अभाव छ। कोरोना संक्रमितको उपचारको लागि बन्दै गरेको आइसोलेसनमा सेवा प्रवाह गर्ने चिकित्सकको अभाव रहेको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ। अस्पतालको भवन निर्माण भएपनि त्यहाँबाट सेवा प्रवाहका लागि आवश्यक पर्ने चिकित्सक, ल्याव टेक्निसियन, रेडियोग्राफी, स्टाफ नर्स, अनमी र सरसफाई कर्मचारीको अभाव छ।

विकट क्षेत्र भएकाले पनि यहाँको सेवामा चिकित्सक, कर्मचारी आउन नचाहने हुँदा कर्मचारीको सधैंजसो अभाव रहने गर्छ। जिल्ला अस्पताल मनाङका निमित्त प्रमुख डा.प्रतिभा गौली यहाँ भएका भेन्टिलेटर र आइसियु कक्ष संचालन गर्नसक्ने जनशक्ति समेत नभएको बताउँछिन्। जनशक्तिको अभावका कारण सबै उपकरण संचालनमा ल्याउन नसकिएको उनले बताइन्।     

'यहाँ आइपुगेका सामग्री समेत उपयोग गर्न सकेका छैनौं। के गर्नु कर्मचारी अभावले यी सामग्री चलाउने अवस्था छैन',उनले भनिन्, 'ठूलो मात्रामा सामग्री आइनपुगे पनि थोरै सामग्रीबाट पनि सेवा प्रवाह गर्न समस्या छ।'

पहिलो चरणको कोभिड १९ संक्रमणबाट यहाँ कम मानिसमा संक्रमण देखिएपनि दोस्रो चरणमा विगतको भन्दा दोब्बरमा संक्रमण पुष्टि भएको छ। पहिलो चरणमा २० जना संक्रमित भएकामा हालसम्म उक्त संख्याको दोब्बर संक्रमित थपिइसकेका छन्।

सडक नहुँदा गाह्रो

स्थलमार्गबाट मनाङका बिरामीलाई अस्पताल पुर्‍याउन सक्ने सहज अवस्था छैन। मनाङ जाने सबै सडक अहिलेसम्म कालोपत्रे भएका छैनन्। कच्ची सडकबाट बिरामी वा जटिल प्रकारका कोरोना संक्रमितलाई अस्पताल लैजादा बाटोमै ज्यान जान सक्ने बढी खतरा छ।

सडक संजाल सहज बनाउने उद्देश्यका साथ धेरै वर्षदेखि बजेट विनियोजन हुँदै पनि आएको छ। तर निर्माण कम्पनीले काम पूरा गर्न नसक्दा बिरामीलाई स्थलमार्गबाट अस्पताल पुर्‍याउन सहज नभएको हो। मनाङको सदरमुकाम चामेसम्म समेत स्थलमार्गको विकास हुन सकेको छैन भने अन्य क्षेत्रमा झन् समस्या छ। त्यसमाथि मनाङका विभिन्न नदीमाथि बन्ने पुलका लागि वार्षिक रुपमा बजेट विनियोजन हुन्छ तर पुल निर्माणको काम पूरा हुँदैन। मनाङमा हिउँदमा हिउँ त वर्षायाममा पहिरोले पुल र सडक निर्माणको काम अगाडि बढ्न सक्ने अवस्था गाह्रो भएको निर्माण कम्पनीले बताउँदै आएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell