PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

तिरहुतिया गाछीको जग्गामा भइरहेको घर निर्माण कार्यमा धनुषा प्रहरी र नगर प्रहरीले लगायो रोक



सुमित मिश्र

तिरहुतिया गाछीको जग्गामा भइरहेको घर निर्माण कार्यमा धनुषा प्रहरी र नगर प्रहरीले लगायो रोक

जनकपुरधाम : कोरोना महामारीको नियन्त्रणको लागि लगाइएको निषेधाज्ञाको फाइदा उठाउँदै प्रदेश नम्बर २ का सत्तारुढ दल जनता समाजवादी पार्टीका केहि नेता गुठीको जग्गा कब्जा गरी अवैधानिक भवन निर्माणमा लागि परेका छन्।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा रहेको एतिहासिक तथा धार्मिक धरोहर तिरहुतिया गाछीको जग्गा अतिक्रमण गरी अवैधानिक रुपमा राजनीतिक शक्तिको आडमा धमाधम भइरहेको दुई कोठे पक्की घर निर्माण कार्यमा धनुषा प्रहरी र नगर प्रहरीले रोक लगाएका छन्। युवा अभियन्ता सुशिल कर्णले ऐतिहासिक धार्मिक धरोहर जग्गा अतिक्रमण गरी भवन निर्माण भइरहेको भन्दै जनकपुरधाम उपमहानगरपालिकामा अवैधानिक भवन निर्माण कार्य बन्द गराउनका लागि निवेदन दिएका थिए।

गुठी संस्थानको अधिनस्थ रहेको तिरहुतिया गाछीको जग्गामा भवन निर्माणका लागि जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयबाट नक्सा पास समेत नभएको भन्दै जनकपुरधाम उपमहानगरले अवैधानिक भवन निर्माण कार्य रोक्नका लागि जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्राचार गरेको थियो।

भवन निर्माण कार्य रोक्नका लागि पत्राचार गरेको करिब एक सातापछि धनुषा प्रहरी र जनकपुरधाम उपमहानगरको नगर प्रहरीले ३० बोरा सिमेन्ट, बालुवा र सिमेन्ट मिलाउने मिक्सचर मेसिन एक थान र भवन निर्माण कार्यका लागि रहेको प्राविधिक औजार समेत भवन निर्माण स्थलबाट उठाएर लगेको छ। पटकपटक अवैधानिक भवन निर्माण नगर्न भन्दाभन्दै पनि निर्माण कार्य नरोकेकाले ति सामग्रीहरु जफत गरिएको धनुषा प्रहरीले जनाएको छ।

धनुषा प्रहरी उपरीक्षक प्रकाश रानाभाटले अवैधानिक रुपमा भवन निर्माण गरिहेको भनि जनकपुरधाम उपमहानगरबाट सूचना प्राप्त भएपछि ३० बोरा सिमेन्ट, भवन निर्माणमा प्रयोग हुने प्राविधिक औजार र भाडामा ल्याइएर प्रयोग गरिरहेको मिक्सर मसिन नियन्त्रणमा रहेको बताए।

क्लोथ बैंक धनुषाको अध्यक्ष समेत रहेका जसपा नेता राजिव झाले ऐतिहासिक तथा धार्मिक तिरहुतिया गाछीमा अवैधानिक रुपमा दुई कोठे पक्की भवन निर्माण गर्दै छत ढलानको कार्य गरिरहेको अवस्थामा धनुषा प्रहरी र जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले सामग्रीहरु जफत गरी नियन्त्रणमा लिएको उनले जानकारी दिए।

यता क्लोथ बैंकका अध्यक्ष राजिव झाले गुठी संस्थानसँग सम्झौता गरेर जग्गा ३९ वर्षको लागि लिजमा लिएको र कानुनसम्मत ढंगले भवन निर्माण भइरहेको दावी गरेका छन्। क्लोथ बैंकका अध्यक्ष राजीव झाले यो भवन गुठी संस्थानसँग ३९ वर्षका लागि सम्झौता गरी एक कट्ठा जग्गा लिइएको जिकिर गरे।

यद्यपि यस विषयमा गुठी संस्थान जनकपुरले अनभिज्ञता प्रगट गरेको छ।  सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको १० लाख बजेट सहयोगकै आधारमा कुल १३ लाखको लागतमा सो भवन निर्माण भइरहेको झाले बताए।

उनले भने, ‘यो भवन विशुद्ध रुपमा सामाजिक सेवा भावका लागि बनिरहेको छ, तर क्लोथ बैंकका लागि नभई क्यान्सर पीडितहरुलाई सहज रुपमा हेरचाह होस् भन्ने उद्देश्यले त्यहाँ क्यान्सर केयर सेन्टर खोल्न लागेका छौँ।’

यसअघि सेवा भावकै कारण गरिब तथा विपन्नलाई कपडा वितरण गर्ने उद्देश्यले क्लोथ बैंकको स्थापना गरिएको र अब क्यान्सर केयर सेन्टर खोलेर क्यान्सर पीडितहरुलाई सहज रुपमा उपचार सुविधा उपलब्ध गराइने झाले बताए।

उनले भने, ‘यदि क्लोथ बैंककै लागि भवन बनिरहेको छ भने त्यो पनि व्यक्तिगत प्रयोजनका लागि नभई सार्वजनिक हितकै लागि भइरहेको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell