PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

काठमाडौंमा भेरोसेलको दोस्रो डोज लगाउन शुरु, खोपकेन्द्रमा नागबेली लाइन



काठमाडौंमा भेरोसेलको दोस्रो डोज लगाउन शुरु, खोपकेन्द्रमा नागबेली लाइन

काठमाडौं : कोभिड-१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आजबाट लगाउन शुरु भएको छ। काठमाडौं जिल्लाभर र काभ्रेमा आजबाट दोस्रो डोज लगाउन शुरु भएको हो।

काठमाडौं महानगपालिका भित्र ३३ र काठमाडौं भरी ५० खोप केन्द्र तोकिए पनि खोप केन्द्र भएका ठाउँहरु खुल्ला स्थानमा नहुँदा खोप लगाउन आउनेहरु लाइनमा उभिन बाध्य भएका छन्। काठमाडौं महानगरपालिकाको वडा १६ मा बिहान १० बजेबाट खोप लगाउने समय तोकिए पनि पौने ११ बजेबाटमात्र खोप केन्द्र खुलेको छ।

गल्लीभित्र खोप खेन्द्र राखिँदा खोप लगाउनेहरु नागबेली लाइनमा उभिन बाध्य देखिन्छन्।

काठमाडौंमा चैत २५, २६,२७ र २८ गते भेरोसेलको पहिलो डोज लगाएकाले (आज) जेठ २ गते, चैत २९ र ३० गते लगाएकाले जेठ ३ गते, चैत ३१ र बैशाख २ गते खोप लगाएकाले जेठ ४ गते, बैशाख ३ र ४ गते लगाएकाले जेठ ५ गते, बैशाख ५ र ६ गते खोप लगाएकाले जेठ ६ गते दोस्रो डोज लगाउन सक्नेछन्। यस्तै, बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकाहरुले जेठ ७ गते, बैशाख ११ र १२ गते लगाएकाले जेठ ८ गते, बैशाख १३ गते पहिलो डोज लिएकाले जेठ ९ गते दोस्रो डोज लिन सक्नेछन्।

बैशाख १४ गते पहिलो डोज लिएका व्यक्तिहरुले जेठ १० र बैशाख १५ गते खोप लिएकाले जेठ ११ गते दोस्रो डोज लगाउन सक्नेछन्।

कहाँ छन् खोप केन्द्र ?

काठमाडौंमा संक्रमण फैलिरहेको अवस्थामा धेरै भिडभाड हुन नदिन यसपटक काठमाडौंमा करिब ५० वटा खोप केन्द्रहरुको व्यवस्था गरिएको छ। पहिलो डोज भने निश्चित अस्पताल र स्वास्थ्य केन्द्रबाट मात्रै प्रदान गरिएको थियो।

दोस्रो डोज भने काठमाडौं महानगरपालिकाको ३२ वटै वडाबाट प्रदान गरिनेछ। त्यसका लागि ३२ वटा खोप केन्द्रहरु छुट्याइएको छ। ३२ वटा खोप केन्द्रसँगै महाराजगञ्ज मेडिकल क्याम्पसमा समेत खोप दिइनेछ।

चन्द्रागिरी नगरपालिकामा तीनवटा खोप केन्द्र तय गरिएको छ। कीर्तिपुर नगरपालिका, बुढानीलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिकामा दुई-दुई स्थानमा खोप केन्द्र तय गरिएको छ। कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, शंखरापुर नगरपालिका र दक्षिणकाली नगरपालिकामा भने एक-एक वटा खोप केन्द्र तय गरिएको छ।

दोस्रो डोज लिन जाँदा पहिलो डोज लगाउँदा दिइएको खोप कार्ड अनिवार्य रुपमा लग्नु पर्नेछ। पहिलो डोज लगाएको मिति अनुसार दोस्रो डोज लगाउने तालिका बनाइएको छ। पहिलो डोजको खोप लिएकाहरुले बिहान १० देखि ४ बजेसम्म नजिकको खोप केन्द्रमा गएर खोप लिन सक्नेछन्।

काठमाडौंपछि भक्तपुरमा जेठ ४ र ललितपुरमा जेठ ६ गतेबाट भेरोसेलको दोस्रो डोज प्रदान गरिने कार्यतालिका रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell