PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

बालबालिकामा कोरोना संक्रमण पहिचान कसरी गर्ने, उपचार के? यस्तो छ डाक्टर भट्टराईको सुझाव



स्वेच्छा राउत

बालबालिकामा कोरोना संक्रमण पहिचान कसरी गर्ने, उपचार के?  यस्तो छ डाक्टर भट्टराईको सुझाव

गत एक महिनाको अवधिमा कोभिड-१९ भाइरस संक्रमणका कारण कान्ति बाल अस्पतालमा दुई बालबालिकाको निधन भयो। त्यस्तै चैत दोस्रो साता यता त्यहाँ उपचाररत् ४० जना बालबालिकामा संक्रमण पुष्टि भयो। हाल ११ जना संक्रमित उपचार गराइरहेका छन्।

कान्तिले संक्रमित बालबालिकाको लागि ४ वटा आइसियूसहित २५ शय्या छुट्याएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर आरपी बिछाले जानकारी दिए। पहिलो लहरमा संक्रमित हुने बालबालिका संख्या न्यून थियो। कुल संक्रमितमा दश वर्षसम्म उमेर समूहका संक्रमित २.४ प्रतिशत थिए। त्यस्तै दशदेखि बीस वर्ष उमेरका संक्रमित करिब ८ प्रतिशत थिए।

नयाँ भेरियन्टको भाइरस संक्रमण देखिएयता भने दुई महिनामै कुल संक्रमितको ११ प्रतिशत बीस वर्षभन्दा कम उमेर समूहका छन्।

यो दर नेपालमा मात्र बढी देखिएको होइन। भारतमा पहिलो लहरमा संक्रमितमध्ये १० प्रतिशत बालबालिका तथा किशोरकिशोरी थिए। दोस्रो लहरमा त्यो दर बढेर ३० प्रतिशत पुगेको छ। टाइम्स अफ इन्डियाका अनुसार ८ देखि १४ वर्ष उमेर समूहका बालबालिकामा संक्रमण बढ्दो छ। विशेषगरी दिल्ली, महाराष्ट्र, हरियाणा र कर्नाटकका बालबालिकामा संक्रमणदर उच्च देखिएको छ।

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सका अनुसार अमेरिकामा मे पहिलो सातासम्ममा पुष्टि भएका कुल २ करोड ७६ लाख २१ हजार १ सय ५३ संक्रमितमध्य मध्ये ३८ लाख ५४ हजार ७ सय ९१ अर्थात् १४ प्रतिशत् बालबालिका हुन्

 बालबालिकामा बढ्दो संक्रमणसँगै संक्रमणपछिको असर पनि जटिल बन्दै गएको बताउँछन् बाल रोग प्रतिरोध तथा बाथजन्य रोग विशेषज्ञ डाक्टर धर्मागत भट्टराई। डाक्टर भट्टराईसँग कोरोनाको बद्लिएको रुप, त्यसले बालबालिकामा पारेको असर र संक्रमण न्यूनिकरणबारे गरिएको कुराकानी :

कोभिड-१९ नयाँ भेरियन्टको लहरमा बालबालिका कति जोखिममा छन्?

चीनको वुहानबाट आउटब्रेक भएको कोभिड-१९ ले वृद्धवृद्धा वा चालिस वर्षभन्दा माथि उमेर समूहकालाई असर गरेको थियो। अहिले  संरचना उत्परिवर्तित (म्युटेसन) भएको भाइरसको संक्रमण ४० वर्षभन्दा कम उमेरको बढी देखिएको छ। पहिलो लहरमा निकै कम संक्रमित बालबालिका एवं किशोरकिशोरी पनि यसपटक संक्रमणको जोखिममा छन्।

अमेरिका, भारतलगायत देशको संक्रमणको तथ्याङ्कले बालबालिका एवं किशोरकिशोरीमा संक्रमण बढेको पुष्टि गर्छ। नेपालमा पनि दुई महिनामै कुल संक्रमितको ११ प्रतिशत बीस वर्षभन्दा कम उमेरका छन्।

नयाँ भेरियन्ट संक्रामकसँगै बढी लाक्षणिक देखिएको छ।

बालबालिकामा कोरोना भाइरसको लक्षण कसरी पहिचान गर्ने?

संक्रमणको पहिलो लहरमा बालबालिकामा सामान्य फ्लूका रुघा, खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने लक्षण र स्वासप्रस्वासमा समस्या देखिएका थिए। अहिले फ्लू र स्वासप्रस्वाससँगै पाचन प्रणालीमा पनि समस्या देखिएको छ। उनीहरूलाई अरुची, पेट दुख्ने, पखला चल्ने, वान्ता आउने भएको छ। कतिपय बालबालिकालाई ज्यान दुख्ने, शरीरमा डाबरहरू देखिनेसमेत भएको छ।

यी लक्षणहरू संक्रमणपछिको सामान्य स्वास्थ्य स्थितिदेखि गम्भीर अवस्थामा पुगेका बालबालिकामा फरक देखिन्छन्।

संक्रमित बालबालिकाको अवस्था सामान्य, जटिल वा गम्भीर भनेर कसरी छुट्याउने? ती समस्या न्यूनिकरणका लागि के गर्न सकिन्छ?

संक्रमितमा देखिएको लक्षण र स्वास्थ्य समस्या अनुरुप उसको अवस्था माइल्ड (सामान्य), मोडरेट (जटिल) वा सिभियर (गम्भीर) मध्य एक छुट्याउन सकिन्छ।

सामान्य अवस्थामा संक्रमित बालबालिकालाई फ्लू र पाचन प्रणालीको समस्या देखिन सक्छ। तर, ज्वरो आउँदैमा, रुघाखोकी लाग्दैमा वा पेट दुख्दैमा, पखला चल्दैमा आत्तिनु पर्दैन। सिटामोल र झोलिलो पदार्थ खुवाएर बच्चालाई घरमै सुरक्षित राख्न सकिन्छ। यो अवस्थामा पुनर्जलीय पदार्थमा जोड दिन आवश्यक हुन्छ।

खतराको संकेत देखिएपछि चाहिँ त्यो अवस्था जटिल बन्छ। यो अवस्थामा स्वासप्रस्वासमा समस्या देखिन सक्छ। त्यस्तो अवस्थामा बालबालिकाको सासको गतिमा ध्यान दिई जाँच गर्नु आवश्यक छ। दुई महिनाभन्दा कम उमेरको शिशुले एक मिनेटमा ६० पटक भन्दा बढी, दुई महिनादेखि बाह्र महिनासम्मको शिशुले ५० पटक भन्दा बढी, एक वर्षदेखि पाँच वर्षसम्मकाले ४० भन्दा बढी र पाँच वर्षदेखि माथिकाले ३० भन्दा बढी पटक सास फेर्छन् भने त्यो असामान्य अवस्था हो।

साथै पल्स अक्सिमिटरको सहायताले ‘ब्लड अक्सिजन स्याचुरेसन’ पनि बेलाबेलामा नाप्नुपर्छ। जटिल हुँदै गएको अवस्थामा रगतमा हुने अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा कम हुन्छ। र, बच्चा सुस्त बन्दै जान्छन्। उनीहरूको आँखा भित्र गढ्छ। छाला फुस्रो हुने, पानी नपिउने र पिसाब नफेर्ने, कोखा हान्ने समस्या पनि देखिन सक्छ। यस्ता लक्षण देखिएको स्थितिमा उनीहरूलाई तत्काल अस्पताल पुर्‍याइनु पर्छ।

गम्भीर अवस्थामा पुगेका बालबालिकालाई भने सघन उपचारको आवश्यकता पर्छ। यस अवस्थामा बालबालिकाको शरीरमा अक्सिजन ९२ प्रतिशतभन्दा कम हुन्छ। उनीहरूले पूरा वाक्य बोल्नसमेत सक्दैनन्। जिब्रो, ओठ, कानको लोती, औंलाका टुप्पाहरू निलो हुने समस्या देखिन्छ।

शरीरमा पानीको मात्रा कम भएर डिहाइड्रेसन हुने वा बेहोस हुने अवस्थामा समेत पुग्न सक्छन्।

कति बालबालिकामा त कोरोना भाइरसको संक्रमण पुष्टि नभइ भाइरसले आक्रमण गरिरहेको हुनसक्छ।

संक्रमण पुष्टि नभइ भाइरसले कसरी आक्रमण गर्छ? अभिभावकले कसरी थाहा पाउने यस समस्याबारे?

कोभिड-१९ ले बालबालिकामा थाहा नदिई दीर्घकालीन वा गम्भीर किसिमको असर पार्छ। उनीहरूमा संक्रमण भइरहँदा वा संक्रमणमुक्त भएलगत्तै प्रतिरोधात्मक रोग निम्तिने गरेको छ।

पहिलो पटक सन् २०२० को अप्रिलमा बेलायतमा बालबालिका वा किशोर किशोरीको स्वास्थ्यमा कोभिड-१९ पछि बहुप्रणालीगत् समस्याहरू देखिएको थिए। त्यसपछि कोरोना भाइरस संक्रमितको संख्या उच्च भएका अन्य देशहरूमा पनि उस्तै प्रकृतिको समस्या पहिचान भएको थियो। तीमध्ये धेरै बालबालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका थिएनन्। तर, समस्या बढ्दै जाँदा आइसीयूमै राखेर उपचार गर्नुपर्थ्‍यो। र अधिकांशमा कोरोना भाइरसको एन्टिबडी भने पोजेटिभ देखियो। प्रायमा एउटै लक्षण- शरीरका धेरै भाग वा प्रणालीहरू सुन्निएको हुन्थ्यो।

कोभिड-१९ पछिमात्र देखिएको यस रोगले बहुप्रणालीमा असर गर्ने भएकैले यस रोगलाई ‘पेडियाट्रीक मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रम’ नाम दिइयो। कोभिड-१९ विरूद्ध शरीरले देखाउने इम्युन प्रतिक्रिया असन्तुलित हुँदा देखिने यस रोगलाई मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रम इन चिल्ड्रेन 'एमआइएस-सी' पनि भनिएको छ।

यस रोगले थाहा नदिई आक्रमण गर्छ। तर, अभिभावकले यस रोगबारे समयमै थाहा पाउनु पर्छ। त्यसका लागि सामान्य लक्षण देखिएको अवस्थामै बालबालिका वा किशोरकिशोरीमा कोरोना भाइरसको परीक्षण वा एन्टिबडी टेस्ट गरिनुपर्छ।

नेपालमा कस्तो छ बालबालिकाका लागि सघन उपचार प्रणाली?

विश्वभर कोरोना भाइरसको दोस्रो लहर छाउँदा नेपालसँग मौका थियो भौतिक संरचनादेखि स्वास्थ्य सेवामा जनशक्ति जुटाउने। तर, राज्यस्तरबाट त्यो तयारी भएन। अहिले सामान्य बिरामीका लागि त शय्या अभाव छ। सघन उपचार कक्षको झन् उस्तै हाहाकार। बालबालिकाका लागि सोच्ने संयन्त्र कहाँ हुनु?

बालबालिकाको उपचारका लागि संरचनागत स्रोत, साधनदेखि विज्ञ जनशक्तिको अभाव छ। त्यसैले यो परिस्थितिमा सावधान रही बालबालिकालाई संक्रमण हुन नदिनुमा जोड दिनुपर्छ।

बालबालिकामा संक्रमण भइसकेपछि के गर्ने त?

संक्रमणका कारण शारीरिक रुपमा गलेका बालबालिकालाई मानसिक तनाव हुने वातावरण सिर्जना नगर्ने। सामान्य लक्षण देखिएको संक्रमितलाई आइसोलेट गर्ने नाममा थुनेर नराख्ने। बरु सीमित ठाउँमा खेलकुद गर्न दिने। परिवारका सबै सदस्यले मास्कको प्रयोग गर्ने र अन्य सुरक्षा मापदण्ड अपनाउने। बालबालिकालाई एकजना व्यक्तिको रेखदेखमा राख्दा उचित हुन्छ।

झोलिलो पदार्थ खुवाइराख्ने। स्वास्थ्यकर्मीको परामर्शमा लक्षण अनुरुप सिटामोल वा पुनर्जलीय पदार्थ खुवाउन सकिन्छ। बेलाबेलामा रगतमा हुने अक्सिजनको मात्रा र सासको गति जाँच गर्नुपर्छ।

संक्रमित बच्चाको अवस्था जटिल छ भने अविलम्ब अस्पताल लैजानुपर्छ। उनीहरूको रगतमा अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा कम छ भने चिकित्सकको सल्लाह अत्यावश्यक हुन्छ।

संक्रमण भएका वा नभएका सबै बालबालिकामा इम्युनिटी पावर चुस्त राख्न पोषणयुक्त खाना खुवाउनु पर्छ। पर्याप्त निन्द्रा र शारीरिक व्यायम पनि अपरिहार्य हुन्छ। बच्चाको इम्युनिटी पारिवारिक वातावरण र तनावरहित जीवनशैलीले पनि निर्धारित गर्छ।

बालबालिका तथा किशोरकिशोरीको हकमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन उपयोगिताको अवस्था के छ?

कोरोनाभाइरसविरुद्धका खोपहरू वयस्क एवं वृद्धवृद्धामा प्रभावकारी देखिएका छन्। यसले संक्रमण नै रोक्ने भन्ने हुँदैन तर लाक्षणिक रोग कम गर्ने र अवस्था गम्भीर हुनबाट जोगाउने देखिएको छ। खोप लगाएपनि भाइरस संक्रमण हुन चाहिँ सक्छ। त्यसैले खोप लगाएपनि सुरक्षा मापदण्ड उत्तिकै पालना गर्नुपर्छ।

बालबालिका एवं किशोरकिशोरीको हकमा भने हालसम्म कुनैपनि देशमा भ्याक्सिन उपलब्ध छैन। किनकि सुरुवाती चरणमा कोभिड-१९ को संक्रमणले ४० वर्षभन्दा माथिका मानिसमा नकारात्मक प्रभाव पार्‍यो। सोही अनुरुप विकसित भ्याक्सिनहरूको परीक्षण त्यही उमेर समूहका मानिसमा गरियो। र, विश्व स्वास्थ्य संगठनले भ्याक्सिनको आपत्कालिन प्रयोग अनुमति वयस्कका लागि मात्र दियो।

अमेरिका र भारतमा बल्ल बालबालिका र किशोरकिशोरीमा भ्याक्सिनको क्लिनिकल परीक्षण सुरु भएको छ। ट्रायलपछिको रिपोर्ट सार्वजनिक नभएसम्म यसको उपयोगिताबारे केही भन्न सकिँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell