काठमाडौं : कोभिड १९ महामारीका कारण पछिल्लो समय नेपालको अवस्था खराब हुँदै गएको छ। दैनिक करिब ८ हजार नयाँ संक्रमित भेटिन थालेको हप्तादिन बढी भयो। हस्पिटलमा बेड, भेन्टिलेटर र अक्सिजनको अभावले संक्रमणको अवस्थालाई अझ भयावह बनाउँदै लगेको छ। चिकित्सकहरुले देशको स्वास्थ्य प्रणाली नै धवस्त भएको प्रतिक्रिया दिइरहेको बेला विभिन्न सेलिब्रेटीहरु अक्सिजन जुटाउनेदेखि अस्पतालमा सहजिकरण गराउन लागिपरेका छन्। जसमा सञ्चारकर्मीदेखि राजनीतिक दलका नेता, सामाजिक अभियन्ता र फिल्मकर्मीसम्म छन्। यसैबीच पछिल्लो समय नेपाली क्रिकेटरहरु पनि यसमा जोडिन थालेका छन्।
कोरोना महामारीको नियन्त्रण र रोकथामका लागि राहत जुटाउन पहिला अघि सरे नेपाली क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका पारस खड्का। तीन दिन अघि उनले एउटा भिडियो पोस्ट गर्दै ‘सेभ नेपाल फ्रम कोभिड १९’ अभियान सुरु गरेर 'फण्ड' जम्मा गर्ने अभियान संचालन गरे।
खड्काले कोभिड १९ को दोस्रो लहरले सबै नेपालीलाई प्रभावित पारेको र यस महामारी विरुद्ध सबै मिलेर लड्नु पर्ने भन्दै आफूहरुले त्यसमा सहयोगका लागि अभियान सुरु गरेका बताएका छन्।
‘अहिले भनेको नेपालमा अक्सिजनको कमी, मेडिकल सप्लाइजहरुको कमी, भेन्टिलेटर लगायत सम्पूर्ण उपकरणहरुको कमी भएको भएर एउटा यस्तो ग्रुप जहाँ नेपाल भित्र र नेपालबाहिर सँधै नेपालका लागि मद्धत गर्ने नेपालीहरु मिलेर एउटा अलाइन्सको गठन भएको छ जसले फण्ड रेजिङ क्याम्पेन सुरु गरेका छौं,’ खड्काले भनेका छन्, ‘यसबाट उठेको सम्पूर्ण रकम निड टू बेसिसमा नेपालमा जुनै पनि ठाउँमा मेडिकल सप्लाइज या कुनै पनि मद्धत हुन सक्छ त्यो व्यक्ति वा संस्थालाई हामी हस्तान्तरण गर्नेछौं।’ उनले सबैलाई यस अभियानमा सहयोग गर्न अपिल गरेका छन्।
सन्दीपको अर्को क्याम्पेन : आँफै तीन लाख दिएर सुरु
त्यस्तै, अर्का क्रिकेटर सन्दीप लामिछानेले पनि देशमा विषम परिस्थित आएको भन्दै राहत उठाएर स्थानीय निकाय/ प्रशासनको रोहवरमा अति प्रभावित क्षेत्रमा वितरण गर्ने बताएका छन्। जसका लागि उनी आफैले ‘टीम सन्दीप’ बाट तीन लाख रुपैयाँ कोषमा जम्मा गरेका छन्।
उनले सहयोग गर्न चाहनेहरुका लागि आफ्नो बैंक अकाउन्टको विवरण समेत उपलब्ध गराएका छन्।
अन्य क्रिकेटर पनि जोडिँदै
महामारीविरुद्ध सामुहिक रुपमा लड्न राहत जुटाउने क्रममा सोमपाल कामी, करण केसीलगायतका क्रिकेटरहरु पारस खड्कासँगको अभियानमा जोडिएका छन्। उनीहरुले पनि सामाजिक सञ्जालमार्फत सहयोगको लागि अपिल गरेका छन्।
त्यस्तै, राष्ट्रिय टोलीका अर्का खेलाडी शरद भेषवाकर अर्को अभियानमा देखिन्छन्। अध्यात्मिक चिन्तनमा चासो राख्ने उनी ‘आर्ट अफ लिभिङ’ अन्तर्गतको इम्युनिटी बुस्टबारे योगको प्रचारमा देखिन्छन्।