PahiloPost

Oct 22, 2024 | ६ कात्तिक २०८१

बिरामीको निःशुल्क उपचारको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि नेविसंघ र तरुण दलको प्रदर्शन



सुमित मिश्र

बिरामीको निःशुल्क उपचारको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि नेविसंघ र तरुण दलको प्रदर्शन

जनकपुरधाम : प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि कुनै पहल नगरेको भन्दै नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका युवाहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ।

पछिल्लो समय उपचार अभावका कारण कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्न थालेको र संक्रमितहरुले उपचारका लागि अक्सिजनको उपलब्धताबाट बञ्चित रहे पनि प्रदेश सरकारले यसतर्फ कुनै व्यवस्थापन नगरेको भन्दै नेविसंघ र तरुण दलका युवाहरुले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरुले निःशुल्क कोरोनाको उपचार र अक्सिजनको ग्यारेन्टीको माग गर्दै मुख्यमन्त्री लालबाबु राउत, सामाजिक विकास मन्त्री नवल किशोर साह र प्रादेशिक अस्पतालका मेसु प्रमोद यादवविरुद्ध नारावाजीसमेत गरेका थिए। उनीहरुले रगतको अभाव भए आफूहरु रगत उपलब्ध गराउन तयार रहेको समेत बताए।

‘युवाहरुले निःशुल्क कोरोनाको उपचार गर, अक्सिजनको ग्यारेन्टी गर, मुख्यमन्त्री राजीनामा दे, सामाजिक विकास मन्त्री राजीनामा दे, मेसु राजीनामा दे’ लगायतका प्ले कार्ड बोकेर प्रदर्शनमा सहभागी भएका थिए।

प्रदेश सरकारले कोरोना संक्रमितको उपचारमा कुनै ध्यान नदिएकोले सरकारलाई घच्घच्याउनका लागि आफूहरु बाध्य भएर मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेको नेविसंघका केन्द्रीय सदस्य कपिलदेव यादवले बताए। सरकारका मन्त्रीहरु यस्तो महामारीको समयमा पनि बिरामीको उपचारभन्दा बढि आफ्नो गोजी भर्न व्यस्त रहेको उनको आरोप थियो।

त्यस्तै, तरुण दलका सोनुकुमार निधिले उपचार अभावमा दिनानुदिन संक्रमितहरुले अनाहकमा ज्यान गुमाइरहेको भन्दै अविलम्ब मुख्यमन्त्री, सामाजिक विकास मन्त्री र मेडिकल सुपरिटेन्डेन्टले राजीनामा दिनुपर्ने माग गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell