PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

५ बजेसम्म प्रधानमन्त्रीमा कसैले दाबी नगरे के हुन्छ? प्रतिनिधि सभा विघटन!



५ बजेसम्म प्रधानमन्त्रीमा कसैले दाबी नगरे के हुन्छ? प्रतिनिधि सभा विघटन!

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अन्तर्गतको नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै राजनीति पुन : तातेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा ठूलो राजनीतिक दलको हैसियतले पदमा शपथ लिएसँगै विश्वासको मत लिनुपर्नेमा त्यसो नगरी सिधै नयाँ सरकार गठनको बाटोमा लागेको भन्दै यस कदमको विरोध जारी छ।

राजनीतिक दलहरु कोही कदमको विरोधमा उत्रिँदा कोही नेतृत्वको दाबीमा उत्रिएका छन्। मौकामा आफ्नो इतिहास बनाउन यतिबेला जनता समाजवादी पार्टी लागिपरेको छ। जसपाका अध्यक्ष महन्थ ठाकुरले हिजै राति प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीसँग भेट गरेका छन्। जसपाका नेताहरुको जोडबल छ - आफ्नै नेतृत्वमा सरकार बनाउने। त्यसैले जसरी हुन्छ ओलीलाई बिदाइ गर्नुपर्ने भनाई प्रस्तुत गरिरहेका छन् नेताहरुले।

नेतृत्वमा जाने जसपाको दाउ जारी

जसपा संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले जस्तो सहमति गरेर भए पनि ओलीलाई बिदाइ गर्नुपर्ने भनाई पेस गरेका छन्। भट्टराईले निजी स्वार्थ त्यागेर धारा ७६(५) बाटै निकास दिनुपर्ने धारणा राखेका छन्। उनले केपी ओलीले देशलाई हुनसेन स्टाइलमा चुनावको अध्यारो सुरुङमा धकेलेको उल्लेख गर्दै यस्तो प्रवृतिलाई पराजित गर्नुपर्नेसमेत बताएका छन्। 'खुराफात शिरोमणिद्वयको षडयन्त्र र संविधानमाथिको आक्रमणको शृंखला नरोकिने भयो। कोरोना महाव्याधिको यत्रो संकटको बेला देशलाई अनिश्चित र हुनसेन स्टाइल चुनावको अँध्यारो सुरूङमा धकेल्नेहरूलाई दण्डित/परास्त गरौं। सबैले दलीय /निजी स्वार्थ त्यागेर जो जेमा सहमति हुन्छ धारा ७६(५) बाटै निकास दिउँ,' बाबुरामले ट्वीट गरेका छन्।

कांग्रेसको छैन कुनै तयारी!

यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुले राष्ट्रपतिको पछिल्लो कदमको चर्को विरोध गरेका छन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले यसलाई संविधान फाल्ने षड्यन्त्र भनेका छन्। उनले भनेका छन्, ‘सामान्यतया नयाँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन हो। तर, एकाएक २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्रभन्दा अरु केही हुन सक्दैन्।’

यसैगरी कांग्रेस नेता गगन थापाले प्रधानमन्त्रीबाट ओलीलाई र राष्ट्रपतिबाट भण्डारीलाई तुरुन्तै बिदाई गर्नुपर्ने बताएका छन्। थापाले अब गनगन नगरी नयाँ सरकार बनाएर प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई बिदाइ गर्नुपर्ने बताएका हुन्। उनले बिहीबार ट्वीट् गर्दै राष्ट्रपतिबाट विद्यादेवी भण्डारीलाई पनि हटाउनु पर्ने बताएका छन्।

'विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रक्रिया सुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो? जानेर गरेको हो। गनगन गरेर नबसौं। सुझबुझ पुर्‍याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाभियोग लगाएर रापलाई बिदा गरौं,' उनले भनेका छन्।

कांग्रेसका नेताहरुले चर्को विरोध गरेपनि आधिकारिक धारणा बनाउन भने आज ९ बजे पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा पदाधिकारी बैठक बोलाएका छन्। देउवाले बाहिरी रुपमा ओली सरकारको विरोध गरे पनि उनको चाहना निर्वाचनतिरै भएकाले नयाँ सरकार गठनमा खासै चासो नरहेको बुझिएको छ। यस्तो संकटको बेला सरकारमा गएर पुन आलोचित हुने चाहना देउवाको नभएको बुझिएको छ। त्यसैले नयाँ सरकार गठनमा देउवाको कुनै चासो नभएको बताइएको छ।

५ बजेसम्म कसैले दाबी प्रस्तुत नगरे के हुन्छ?

संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि राष्ट्रपतिले आह्वान गरेको समय आज साँझ ५ बजे सकिनेछ। उक्त समयमा प्रधानमन्त्रीमा दाबी क-कसले गर्छ त? सबैको चासोको विषय रहेको छ। नयाँ प्रधानमन्त्रीका प्रबल दाबेदार जसपा अध्यक्ष ठाकुरलाई मानिएको छ। यदि उनले आफूसँग पुग्ने मत छ भनी आधार पेस गर्दै पदमा दाबी गरेमा ठाकुर आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने बताइएको छ।

यदि उनी प्रधानमन्त्रीमा नियुक्त भएमा उनले महिना दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। ठाकुरले विश्वासको मत पाउने आधार नरहेकोले त्यसपछि प्रतिनिधि सभा विघटनकै बाटोमा जानुपर्ने बाध्यता रहन्छ।

यदि प्रधानमन्त्रीमा कसैले दाबी नगरे आजै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्न सक्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell