
काठमाडौं : 'मेडिकल काउन्सिलले प्लाज्मा नचढाउने भनिसक्यो। अझै डाक्टरहरूले नै प्लाज्मा माग्छन् कि हामी आफै आत्तिएर प्लाज्मा थेरापीका लागि डाक्टरलाई दबाव दिन्छौं?'
बुधवार दमकका गोविन्दराज कट्टेलले आफ्नो द्वविधा सुनाए। कोरोना भाइरस संक्रमितका लागि प्लाज्मा जुटाउने उद्देश्यले खोलिएको मेसेन्जर समूहमा सोधिएको प्रश्नको जवाफ भने कसैले दिएनन्।
बरु सोही समूहमा सुजन खरेलले लेखे : 'प्लाज्मा थेरापीले केही काम नगरेर भारतमा त बन्द भएछ है यो उपचार विधि।'
इन्डियन काउन्सिल अफ मेडिकल रिर्सचले सोमवार राति कोरोना संक्रमितको उपचारमा प्रयोग भइरहेको 'क्लिनिकल गाइडलाइन्स' परिवर्तन गर्दै प्लाज्मा थेरापी रोक्ने निर्णय गरेको हो। भारतले गरेको अध्ययनमा उक्त विधिबाट गरिएको उपचार प्रभावकारी नदेखिएको जनाउँदै काउन्सिलले लेखेको छ - प्लाज्मा थेरापीबाट संक्रमितहरुको अवस्था सुधार हुने कुनै प्रमाण नभेटेपछि यस उपचार विधि नै बन्द गर्ने निर्देशन दिइएको हो।
नेपालमा भने एक साताअघि नै अर्थात् वैशाख २९ गते नेपाल मेडिकल काउन्सिलले ‘कन्भल्सेन्ट प्लाज्मा थेरापी कोभिड–१९ संक्रमित भइ अस्पताल भर्ना भएका बिरामीलाई सिफारिस गर्नुपर्दैन’ भन्दै अपिल जारी गरेको थियो।
विश्व स्वास्थ्य संगठनले पनि प्लाज्मा थेरापी, कोभिड–१९ संक्रमितका लागि सिफारिस गरेको छैन। तर, सामाजिक सञ्जालमा प्लाज्मा थेरापीका लागि संक्रमणमुक्त भएकासँग रगतको आग्रह गर्ने क्रम जारी छ। कोरोना भाइरस महामारीको पहिलो लहरको चपेटामा प्रभावकारी रहेको भन्दै सुरु गरिएको यस उपचार विधिबारे किन अन्यौलता छायो त?
सुरुमा संक्रमण फैलँदा विश्व स्वास्थ्य संगठनले नै सिफारिस गरेको थियो, प्लाज्मा थेरामी। कुनै पनि रोगविरुद्ध प्रतिरोधी क्षमता ‘एन्टी बडी’ विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाउने उपचार पद्धति हो यो। प्लाज्मा मानिसको रगतमा हुने तरल पदार्थ हो जसले शरीरमा प्रोटिन पुर्याउँछ।
नेपालमा पहिलो पटक, साउन दोस्रो साता त्रिवि शिक्षण अस्पतालमा प्लाज्मा थेरापीको सफल प्रयोग भयो। विराट नर्सिङ होमका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीको यस पद्दतीमार्फत् उपचार गरिएको थियो। उनी जटिल स्वास्थ्य स्थितिबाट निस्किए।
त्यसपछि संक्रमणका कारण जटिल स्थितिमा पुगेका बिरामीको उपचारका क्रममा प्लाज्मा थेरापीलाई विकल्प मानियो।
'संक्रमणको पहिलो लहरमा उपचारका लागि अरु केही थिएन। त्यसैले नेपालमा मात्र होइन संसारभरी नै यस विधिको प्रयोग भयो। विशेषगरी संक्रमणपछि गम्भीर बिरामी भएकाहरूलाई प्लाज्मा थेरापी गराइएको हो,' संक्रामक रोग विशेषज्ञ डाक्टर जनक कोइरालाले भने।
बिस्तारै रेम्डिसिभिरलगायत औषधिलाई प्लाज्मा थेरापीको विकल्पका रुपमा प्रभावकारी मानियो।
'तर, प्लाज्मा थेरापी काम नै नलाग्ने भनिएको होइन,' डाक्टर कोइरालाले प्रष्ट्याए, 'केही अन्तिर्राष्ट्रिय अनुसन्धानको निचोड के रह्यो भने – यस उपचार पद्धति रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर भएका वृद्धवृद्धाको अवस्था सुधार्न प्रभावकारी देखियो।'
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को प्लाज्मा थेरापी र रेम्डिसिभिरको क्लिनिकल परीक्षण प्रमुख रहेका कोइरालाका अनुसार नेपालमा पनि यसको उपयोगिता सकारात्मक देखिएको थियो। परिषद्ले अनुसन्धानका लागि गत वर्षको भदौ यता १५ वटा अस्पतालमा यसको प्रभावबारे 'अब्जर्भेसन' गरेको थियो। अध्ययनले कोरोना भाइरसको एन्टीबडी धेरै भएकाबाट दिइएको प्लाज्माको प्रभाव तुलनात्मक रुपमा राम्रो देखाएको थियो।
'प्राय गम्भीर अवस्थामा वा भेन्टिलेटरमा पुगेका बिरामीलाई प्लाज्मा दिइन्छ। तर, संक्रमण पुष्टि भएको साता नै थेरापी गराउँदा प्रभाव सकारात्मक देखिँदो रहेछ,' डाक्टर कोइरालाले भने।
नेपालमा प्लाज्मा थेरापी सुरु गर्दा प्लाज्मामा एन्टीबडीको मात्रा जाँच्न पाइँदैन थियो। त्यसैले संक्रमणमुक्त भएका जो कोहीको रगत थेरापीका लागि प्रयोग गरियो। हाल भने निजी अस्पतालहरूले प्लाज्मामा एन्टीबडीको मात्रा कति छ? परीक्षण गरेर मात्र बिरामीका लागि प्रयोग गर्ने गरेको दावी गर्छन् रक्तसञ्चार विज्ञ विपिन नेपाल। तर, एउटै व्यक्तिको प्लाज्मामा पनि फरक अस्पतालमा फरक एन्टीबडीको मात्रा देखाउँदा धेरैलाई अलमलमा पार्यो। त्यसको कारण उनले जाँचका लागि प्रयोग हुने केमिकल रहेको बताए।
हाल काठमाडौंका चार निजी अस्पतालमा प्लाज्मा थेरापी हुन्छ। सबै अस्पतालमा प्लाज्मामा एन्टीबडी जाँच गर्न एउटै केमिकल प्रयोग हुँदैन। त्यसैले मात्रा घटी बढी देखाउँछ। नेपालको हकमा यसबारे औपचारिक अध्ययन भएको छैन। त्यसैले केमिकलको प्रयोग र प्लाज्मामा एन्डीबडीको कति मात्रालाई आधार बनाउने? भन्ने बारे अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) को निर्देशन अनुरुप गर्न सुझाव दिन्छन् चिकित्सक।
दुई सय वर्ष पहिले सुरु भएको यस उपचार विधि हाल प्रभावकारी नदेखिएको भन्दै नेपाल मेडिकल काउन्सिलको 'संक्रमित बिरामीलाई सिफारिस गर्नुपर्दैन' भन्ने अपिलप्रति भने उनले गुनासो व्यक्त गरे।
'स्वास्थ्य अनुसन्धान परिषद्को अनुसन्धानले प्लाज्मा थेरापीले काम गरेको देखाएको छ। थाहा छैन मेडिकल काउन्सिलले केको आधारमा यसका लागि सिफारिस रोक लगायो,' उनले भने, 'तर, यस विधिबारे त अझै अनुसन्धान आवश्यक छ। प्रभावकारिताबारे अध्ययन गरिनुपर्ने हो।'
यसअघि परिषद्मार्फत् भएको अनुसन्धान 'क्लिनिकल ट्रायल' नभइ 'अब्जरभेसनल स्टडी' हो। 'के सरकारले अनुसन्धान गर्न नसक्ने भएर सिफारिस रोकिएको हो? नत्र यस पद्धतिको इतिहास र पहिलो लहरको संक्रमणमा पारेको प्रभाव हेर्ने हो भने सिफारिस रोक्नुपर्ने कुनै कारण छैन,' नेपालले भने।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष भगवान कोइरालाले भने यस उपचार विधिको प्रभावकारिताबारे थप प्रमाण नआएसम्मका लागि सबै संक्रमित बिरामीमा यस विधि नअपनाउन निर्देशन दिएको बताए। 'संकटको बेलामा प्लाज्माका लागि हारगुहार गर्नभन्दा अक्सिजन वा शय्या व्यवस्थापनमा जुट्नु पर्छ,' उनले भने।
उनले प्लाज्मा थेरापीको सकारात्मक प्रभावबारे प्रमाण जुटेपछि निर्देशिकाको समीक्षा हुने बताए। त्यतिन्जेजल अत्यावश्यक सुरक्षा सामाग्री जुटाउन जोड दिनुपर्ने उनको भनाइ थियो।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले परिषदमार्फत् प्लाज्मा थेपारीको उपयोगिताबारे थप अनुसन्धान योजना अघि बढेको जानकारी दिए। पछिल्लो पटक गरेको अनुसन्धानमा सयभन्दा कम प्लाज्मा थेरापी गराइएका बिरामीको अवस्था अध्ययन गरिएको थियो। 'रेडक्रससँगको सहकार्यमा संख्यात्मक हिसाबमा धेरै बिरामीमा अध्ययन गर्ने योजना बनाएका छौं,' ज्ञवालीले भने।