PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

नयाँ सरकार गठनमा विपक्षी दलको कसरत : बुढानिलकण्ठमा कांग्रेस बैठक शुरु, जसपाको संसदीय दलको बैठक बस्दै



नयाँ सरकार गठनमा विपक्षी दलको कसरत : बुढानिलकण्ठमा कांग्रेस बैठक शुरु, जसपाको संसदीय दलको बैठक बस्दै

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अन्तर्गतको नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै राजनीति पुन : तातेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा ठूलो राजनीतिक दलको हैसियतले पदमा शपथ लिएसँगै विश्वासको मत लिनुपर्नेमा त्यसो नगरी सिधै नयाँ सरकार गठनको बाटोमा लागेको भन्दै यस कदमको विरोध जारी छ।

राजनीतिक दलहरु कोही कदमको विरोधमा उत्रिँदा कोही नेतृत्वको दाबीमा उत्रिएका छन्। मौकामा आफ्नो इतिहास बनाउन यतिबेला जनता समाजवादी पार्टी लागिपरेको छ। जसपाका अध्यक्ष महन्थ ठाकुरले हिजै राति प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीसँग भेट गरेका छन्। जसपाका नेताहरुको जोडबल छ - आफ्नै नेतृत्वमा सरकार बनाउने। त्यसैले जसरी हुन्छ ओलीलाई बिदाइ गर्नुपर्ने भनाई प्रस्तुत गरिरहेका छन् नेताहरुले।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको साझा धारणा बनाउन पदाधिकारीको बैठक डाकेको छ। बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा जारी छ। केहीबेर अघि बैठक शुरु भएको बैठकमा कांग्रेसका पदाधिकारी, पूर्वपधादिकारी तथा संसदीय दलका प्रमुख सचेतक र सचेतको उपस्थिति रहेको छ। बैठक केही लम्बिने बताइएको छ।

यता जसपाले पनि १० बजे संसदीय दलको बैठक डाकेको छ। जसपाले अध्यक्ष ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने तयारी गरेको छ। नयाँ सरकारबारे निर्णय लिन जसपाले संसदीय दलको बैठक डाकेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell