PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

प्रधानमन्त्रीमा ओली कि देउवा ? राष्ट्रपतिले गर्दैछिन् फैसला



प्रधानमन्त्रीमा ओली कि देउवा ? राष्ट्रपतिले गर्दैछिन् फैसला

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नयाँ सरकार गठनका लागि दुईजनाको दाबेदारी पेश भएको छ। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति समक्ष प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन्।

संसदमा विश्वासको मत प्राप्त गर्न सक्ने कुनै आधार नभएको भन्दै प्रधानमन्त्री ओली आफैले बिहीबार वैकल्पिक सरकार बनाउन मार्ग प्रशस्त गर्ने भन्दै राष्ट्रपतिलाई सिफारिस गरेका थिए। त्यसकै आधारमा राष्ट्रपतिले संविधानको धारा ७६ (५) अन्तर्गत प्रधानमन्त्रीमा दाबी गर्न आज ५ बजेसम्मको समय दिएकी थिइन्।

प्रधानमन्त्री ओलीले आजै शीतल निवास पुगेर फेरि प्रधानमन्त्री पदको दाबी गरेका छन्। प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालका अनुसार नेकपा एमालेका १२१ र जनता समाजवादी पार्टीका ३२ गरि १५३ जना सांसदको समर्थन रहेको भन्दै ओलीले फेरि प्रधानमन्त्री पदको लागि दाबी गरेका हुन्।

यस्तै, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (उपेन्द्र बाबुराम समूह) र नेकपा (एमाले) माधव नेपाल समूहको साझा उम्मेदवारका रुपमा कांग्रेस सभापति देउवाले दाबी पेश गरेका हुन्। देउवाले आफूलाई १४९ सांसदको समर्थन रहेको भन्दै दाबी पेश गरेका हुन्।

छलफलमा राष्ट्रपति

एमाले  र जसपा विभाजित भएपछि ओली र देउवाले एउटा एउटा समूहलाई आफ्नो पक्षमा रहेको दाबीँ गरेका छन्। दुवैले प्रस्तुत गरेको दाबी गणना गर्ने हो भने हाल संसदमा कायम रहेको सांसद संख्याभन्दा बढी देखिन्छ। त्यसैले अब कसलाई प्रधामन्त्री नियुक्त गर्ने भन्ने विषयमा राष्ट्रपति छलफलमा रहेको बताइन्छ। 

राजनीतिक विश्लेषक प्रा. कृष्ण पोखरेलले राष्ट्रपतिले सांसदहरुलाई स्वयंम उपस्थित गराएर सनाखत गर्न सक्ने बताएका छन्। उनले सनाखत परम्परा नै विश्वव्यापी मान्यता भएको तर्क गरेका छन्।

उनले व्यङ्ग्य गर्दै फेसबुकमा लेखेका छन् ,'शीतल निवासमा सांसदहरुलाई परेड गराउनुपर्छ। यो नै अन्य मुलुकको संसदीय अभ्यास हो।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell