PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

भक्तपुरमा बढ्दै संक्रमण र मृत्युदर, ९५ प्रतिशत संक्रमित होमआइसोलेसनमा



भक्तपुरमा बढ्दै संक्रमण र मृत्युदर, ९५ प्रतिशत संक्रमित होमआइसोलेसनमा

भक्तपुर : भक्तपुरमा कोभिड–१९ को सङ्क्रमण र मृत्युदर बढ्दै गएको छ। सङ्क्रमणमा परेकामध्ये ९५ प्रतिशत होमआइसोलेसनमा रहेका छन । कोरोना भाइरस सङ्क्रमणकै कारण बिहीवार एकैदिन १४ जनाको ज्यान गएको छ । भक्तपुरमा शुक्रबारसम्म २७१ जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ। नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमण फैलिएसँगै भक्तपुरमा सङ्क्रमण र मृत्युको सङ्ख्या बढ्दै गएको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए।    
    
उनका अनुसार जिल्लामा अहिलेसम्म १७ हजार ५७६ कूल सङ्क्रमित रहेकामा चार हजार ५५५ सक्रिय सङ्क्रमित छन्। अस्पताल तथा विभिन्न आइसोलेसनमा २३९ सङ्क्रमित छन्। होमआइसोलेसनमा चार हजार १३४ बिरामी छन्। अहिलेसम्म १२ हजार ९९० सङ्क्रमित निको भएका छन्।    
    
सङ्क्रमणका कारण भक्तपुरमा एकैदिन १४ जनासम्मको मृत्यु भएको छ । गएको दुई सातादेखि भक्तपुरमा लगातार सङ्क्रमितको मृत्यु भइरहेको छ। अस्पताल तथा स्वास्थ्य संस्थामा सङ्क्रमितले शय्या पाउन सकिरहेका छैनन्। शय्या नभएर कतिपय बिरामीलाई अस्पतालको गेटबाटै फर्काउने गरिएको प्रमुख मिजार बताउँछन्। अस्पतालमा रहेकाहरुको पनि अक्सिजन अभाव भएर समस्या आएको छ।    
    
सक्रिय सङ्क्रमित र मृत्युमध्ये सबभन्दा धेरै मध्यपुरथिमि, त्यसपछि सूर्यविनायक, त्यसपछि भक्तपुर नगरपालिकामा रहेको छ भने चाँगुनारायण नगरपालिकामा यी अनुपातमा ५० प्रतिशत सङ्क्रमण र मृत्युदर कमी रहेको छ। जिल्लामा चार हजार ५५५ सक्रिय सङ्क्रमित रहेकामध्ये विभिन्न आइसोलेसन केन्द्रमा र होमआइसोलेशनमा भने चार हजार २५६ रहेका छन्। सङ्क्रमितमध्ये ९५ प्रतिशत होमआइसोलेशनमा रहेको उनको भनाइ छ। उनका अनुसार सङ्क्रमितमध्ये अस्पतालबाट निको भएर फर्कनेको सङ्ख्या ७१ प्रतिशत रहेको छ।    
    
सङ्क्रमणका कारण कोभिडको उपचार गराइरहेका भक्तपुरका सबै अस्पतालका शय्या भरिएका छन्। अक्सिजन नहुँदा भर्ना भएका बिरामीको उपचारमा पनि निकै समस्या आएको छ। भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा समित्रा गौतमले सबै शय्या कोरोना सङ्क्रमित बिरामीले भरिएको बताइन्। उनले अक्सिजन र स्वास्थ्य सामग्रीको व्यवस्था गर्न सके अस्पताल आएका सबै बिरामीको उपचार सहज हुने बताइन्। रासस  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell