PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

देउवाको नेतृत्वमा सर्वोच्च जान सिंहदरबारमा शुरु भयो हस्ताक्षर संकलन : 'ओलीको नेतृत्वमा निर्वाचन देशकै लागि दुर्भाग्य हुने'



देउवाको नेतृत्वमा सर्वोच्च जान सिंहदरबारमा शुरु भयो हस्ताक्षर संकलन : 'ओलीको नेतृत्वमा निर्वाचन देशकै लागि दुर्भाग्य हुने'

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट लिएर जान विपक्षी दलहरु सिंहदरबारमा जुटेका छन्। सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा हस्ताक्षर संकलन शुरु भएको छ।

हस्ताक्षर गर्न माओवादी नेतादेखि कांग्रेस नेताहरु धमाधम सिंहदरबार आइपुग्ने क्रम जारी छ। यसै क्रममा कांग्रेस महामन्त्री डा शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने गरी हस्ताक्षर संकलन भएको बताए। 'देउवाको नेतृत्वमा सरकार बन्नुपर्छ,' सञ्चारकर्मीसँग उनले भने, 'शेरबहादुर देउवाको नेतृत्वमा हामी सर्वोच्च जाँदैछौ।'

महामन्त्री कोइरालाले ओलीको नेतृत्वमा निर्वाचन देशकै लागि दुर्भाग्य हुनेसमेत बताए। 'ओलीको नेतृत्वमा निर्वाचन देशकै लागि दुर्भाग्य हुनेछ। त्यसैले देउवाकै नेतृत्वमा चुनावी सरकार हाम्रो चाहना हो,' कोइरालाले भने।

सरकारको सिफारिसमा जेठ ७ गते राति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी निर्वाचन घोषणा गरेको छ। उक्त कदमको विरोध गर्दै विपक्षी दलहरु सर्वोच्च जान लागेका हुन्। त्यसैगरी कांग्रेस सभापति देउवाले प्रधानमन्त्री पदमा १४९ जनाको हस्ताक्षरसहित दाबी गर्दासमेत राष्ट्रपतिले अन्याय गरेको विपक्षी गठबन्धनो आरोप छ।

सोही कदमको विरोधमा १४९ जना सांसदको हस्ताक्षर लिएर सर्वोच्च जाने विपक्षी गठबन्धनले तयारी गरेको हो। विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको डा बाबुराम भट्टराई तथा उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा रहेका छन्। पाँच दलले राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध कानुनी र राजनीतिक लडाई लड्ने उद्घोष गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell