PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

हेटौंडा अस्पतालमा आजबाट अक्सिजन उत्पादन सुरु



हेटौंडा अस्पतालमा आजबाट अक्सिजन उत्पादन सुरु

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा आजबाट अक्सिजन उत्पादन सुरु गरिएको छ। हेटौंडा उपमहानगरपालिकाको सहयोगमा अस्पतालमा अक्सिजन प्लानट स्थापना गरिएको हो। उपमहानगरका प्रमुख हरि बहादुर महतले आज अक्सिजन उत्पादनको उद्घाटन गरेका हुन्।

कोरोना भाइरसको संक्रमण बढेसँगै आइसीयु तथा भेन्टिलेटरमा राखेर उपचाररत् बिरामीलाई अक्सिजनको समस्या भएपछि उपमहानगरपालिकाले प्लान्ट स्थापना गरेको हो।

'संक्रमण बढेसँगै हेटौंडामा अक्सिजन आवश्यक पर्ने संक्रिमितहरु बढे। अक्सिजन अभावकै कारण बिरामीहरुले अकालमा ज्यान गुुमाउने अवस्थाको सिर्जन नहोस् भनेर अन्य विकास बजेट कटौती गरेरै तत्काल प्लान्ट स्थापना गरेका हौं' प्रमुख महतले भने।

काठमाण्डौं लैजानका लागि रक्सोल भन्सारमा रहेको अक्सिजन प्लान्ट उपमहानगरपालिकाको समन्वयमा हेटौंडा अस्पतालमा जडान गरिएको हो। हेटौंडाका व्यावसायी दिपक खनालले भारतबाट ल्याएको अक्सिजन प्लान्ट काठमाण्डौं लैजाने तयारी गरेका थिए। उपमहानगरपालिकाले ३८ लाख रुपैयाँको लागतमा उक्त प्लान्ट खरिद गरि अस्पतालमा जडान गरिएको महतले बताए।

अस्पतालमा जडान गरिएको प्लान्टबाट दैनिक १५ देखि २० वटासम्म सिलिन्डरमा अक्सिजन भर्न सकिने बताइएको छ। अक्सिजनको हाहाकार भएको समयमा यस प्लान्टको प्रयोगले धेरै राहत प्रदान गर्ने उनले बताए ।

अहिले हेटौंडा अस्पतालमा ५४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। सबै बिरामीलाई अक्सिजन दिएर उपचार भइहेको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार तथा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईले जानकारी दिए। उपमहानगरपालिकाको पहलमा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण भएपछी धेरै सहज भएको उनले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell