PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

संदिग्ध संक्रमितको शव व्यवस्थापनमा सकस : मलामी नहुँदा सरकार पन्छियो, जुटे युवा



सुमित मिश्र

संदिग्ध संक्रमितको शव व्यवस्थापनमा सकस : मलामी नहुँदा सरकार पन्छियो, जुटे युवा

प्रादेशिक अस्पतालको कोभिड वार्डमा धनुषाको लक्षमिनिया गाउँपालिका वार्ड नं.४ सपहि बस्ने ६० वर्षीय रामप्रसाद ठाकुरको शनिबार मृत्यु भयो। पुष्टि नभएपनि कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएकाले उनको शव व्यवस्थापनमा समस्या भयो। कतैबाट साथ नपाएपछि ठाकुरका छोरा सरोज ठाकुर (शर्मा) शव व्यववस्थापनका निम्ति जिल्ला प्रशासनदेखि विभिन्न ठाउँ धाए। तर सरकारबाट सहयोग पाएनन्।

---

केही दिनअघि जनकपुरधाम महानगरपालिका–११ का ३८ वर्षीय अमोद कर्णलाई रुघाखोकी ज्वरोले च्याप्यो। चिकित्सकको सल्लाहमा घरमै औषधि खाँदै बसेका उनी गत सोमवार घरमै लडे। हट्टाकठ्ठा छोरा लडेपछि वृद्ध बुवाआमा आत्तिए। वृद्ध बाआमाले उनलाई अस्पताल लैजान सक्ने अवस्था थिएन। एक युवा समूहको सहयोगमा अस्पताल भर्ना भएका उनको सोमवार नै मध्यरातमा मृत्यू भएको थियो। मृत्यूपछि संक्रमणको लडरले आफन्तजनसमेत शव उठाउन जान मानेनन्। अस्पतालले शव हटाउन ताकेता गर्‍यो। वृद्ध बुवाआमाले त्यहाँ खट्ने अवस्था थिएन। शव अलपत्र पर्‍यो।

---

जनकपुरधाम - २२ स्थित बसहियाका ५५ वर्षीय रविन्द्रलाल कर्ण जनकपुरधामस्थित कोभिड १९ अस्पतालमा ४ दिनदेखि उपचारका लागि भर्ना भएका थिए। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनको शनिवार राति मृत्यु भयो। तर कोरोना परीक्षणको रिपोर्ट नआएको हुनाले शव व्यवस्थापन हुन सकेन।

---

यसरी नै पुष्टिबिनै मृत्यु भएकाले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा मलामी पाउनै मुश्किल हुन थालेको छ। यतिमात्र हैन, संदिग्ध संक्रमितको शव व्यवस्थापनसमेत भद्रगोल देखिएको छ।

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा स्थित प्रादेशिक अस्पतालको कोभिड - १९ अस्पतालको शय्या कक्षमा उपचाररत रहेका कोरोना संक्रमितहरु दिनहुँ दर्जन बढीको मृत्यु भइरहेको छ। तर, ती शवलाई व्यवस्थित पार्ने अग्रसरता न त अस्पतालले देखाएको छ न त जिम्मा पाएको प्रमुख जिल्ला अधिकारीले नै।

शव व्यवस्थापनमा निकै समस्या देखिएपछि यहाँका केही स्थानीय यूवाहरुले अग्रसरता लिएका छन्। कोरोना संक्रमणको लक्षण देखिएको केही दिनपछि भएका रोगीको मृत्यूपछि कसैले वास्ता नगरेपछि शवको व्यवस्थापनमा जनकपुरधामका यूवाहरुको अग्रसरता लिएका हुन्।

नेपाल तरुण दल धनुषाका उपसभापतिसमेत रहेका कोभिड १९ क्वीक रेस्पोन्स टिमका सदस्य राकेशविक्रम साहले स्थानीय प्रशासनले कोरोना संक्रमितको शव व्यवस्थापनमा लापरवाही गर्दा शवहरु ३ दिनसम्म बेवारिसे रहेन गरेको हुनाले शव व्यवस्थापनमा अग्रसरता लिएका बताए।

‘प्रमुख जिल्ला अधिकारीलाई पीडितले फोन गरी शव व्यवस्थापन बारेमा हारगुहार गर्दा वास्ता नगर्ने र नेपाली सेना दिनहुँ दर्जन जति शव व्यवस्थापनमा व्यस्त रहेको जानकारी दिएपछि हामी शवको व्यवस्थापन खटिएका हौं,’ साहले भने। ठाकुरको मृत्युपछि परेको अप्ठेरोबारे प्रादेशिक अस्पतालका एक जना सुरक्षाकर्मीबाट सूचना पाए उनले। खबर आउनसाथ टोली शव व्यवस्थापनमा लागेको साहले बताए। 'हाम्रा टिमका सदस्यसहित मृतकका छोरा गरी चार जना मिलेर शव उठाई हामी गाडीमा स्वर्गद्वारमा लगी अन्तिम संस्कार गर्‍यौं,’ उनले भने।

अमोद कर्णको शव व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय धनुषासँग गुहार माग्दासमेत कसैले वास्ता नगरेपछि यूवाहरुको समूहले शव व्यवस्थान गर्‍यो। धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले कोरोना लागेको नलागेको पुष्टि नभएकाले शव व्यवस्थापनमा हामी असमर्थ रहेको बताएपछि परिवर्तनका लागि यूवा अभियानका यूवाहरुको समूहले स्वास्थ्य सुरक्षा सामग्री व्यवस्था गरी शवको व्यवस्थापन गरेको हो। प्रमुख जिल्ला अधिकारी बास्तोला मृतकको कोरोना परिक्षण नै नभएकाले शव उठाउन नमिल्ने भन्दै पन्छिएका थिए।

शव व्यवस्थापनमा लागेका यूवा अभियन्ता सुशील कर्णले भने, ‘सिकिस्त बिरामी रहेका अमोदलाई ज्वरो, खासीलगायतका कोरोनाका सबै लक्षण रहेका थियो। सोमबार राति यूवाहरुको एक समूहले उपचारका लागि अस्पतालसम्म पुर्‍याएका थिए। तर त्यसको केही क्षणमै अमोदको उपचारकै क्रममा मृत्यू भएपछि कसैले पनि वास्ता नगरेकाले आफुहरुले शवको व्यवस्थापन गरेका हौ।’

शव व्यवस्थापनको क्रममा यूवा अभियन्ता सुशिल कर्ण, किसन मण्डल, मोहन रौनियार, मनिष सिंहलगायतका यूवाहरुको सक्रिय सहभागिता थियो। बसहियाका ५५ वर्षीय रविन्द्रलाल कर्ण शव पनि परिवर्तनका लागि यूवा अभियानका यूवाहरुको समूहले नै गर्‍यो।

प्रमुख जिल्ला अधिकारी बास्तोलाले नेपाली सेना जति बेला पनि शव व्यवस्थापन गर्न तयार रहेको दाबी गरे। उनले नेपाली सेना शव व्यवस्थापनका लागि सदैव तत्पर रहेपनि खबर आएमात्र शव व्यवस्थापनमा खटिने उनले बताए। भने, ‘हामी शव व्यवस्थापनका लागि तयार छौँ, तर खबर त आउनुपर्‍यो नि।’ बास्तोलाले थपे, ‘हुन त स्वास्थ्य मन्त्रालयको गाइडलाइन अनुसार कुनै बिरामीको अस्पतालमा मृत्यु भएमा यदि सुरक्षा मापदण्ड अपनाएर शव व्यवस्थापन गर्न तयार छन् भने परिवारलाईसमेत जिम्मा लगाउन सकिन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell