PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

नयाँ भेरियन्ट थप संक्रामक, स्वास्थ्य संकटकाल लगाउने विषयमा सकारात्मक छौं : मन्त्री त्रिपाठी



नयाँ भेरियन्ट थप संक्रामक, स्वास्थ्य संकटकाल लगाउने विषयमा सकारात्मक छौं : मन्त्री त्रिपाठी

काठमाडौं : स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य संकटकाल लगाउनका लागि आफूहरु सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्। आज भर्चुअल रुपमा कोभिड १९ नियन्त्रण र रोकथामका लागि सरकारले गरेका प्रयास र नयाँ योजनाहरु सुनाउने क्रममा उनले विज्ञहरुले संक्रमण नियन्त्रणका लागि स्वास्थ्य संकटकाल आवश्यक रहेको बताएको र त्यसमा मन्त्रालय सकारात्मक रहेको बताएका हुन्।

'विज्ञहरुले स्वास्थ्य संकटकाल लगाउन सुझाव दिएका छन्। मन्त्रालय त्यसमा सकारात्मक छ' उनले भने।

मन्त्री त्रिपाठीले हाल नेपालमा कोरोना भाइरसको बी।१।६१७।२ भेरियन्ट धेरै फैलिएको बताउँदै यसले संक्रमणको अवस्था थप जटिल बनाएको बताए। यो भेरियन्ट निकै संक्रामक र आक्रमक रहेको भन्दै उनले स्वास्थ्य मापदण्डको अनिवार्य पालना आवश्यक रहेको बताए।

निधेषाज्ञाको समयमा केही क्षेत्र खुलेको र आवतजावतमा कमी नआएकोले संक्रमण बढ्दै गएको उनले बताए। आउने चार हप्तामा संक्रमणको अवस्था घट्दै जाने मन्त्रालयले अनुमान गरेको उनले बताए।

त्रिपाठीले हाल देशभरका सरकार र निजी अस्पतालको स्वास्थ्य पूर्वाधार विकास गर्ने काम भइरहेको समेत बताए। बैशाखसम्म देशभर ३२७ भेन्टिलेटर रहेकोमा अहिले त्यसको संख्या ९०४ पुगेको र थप १८० भेन्टिलेटर थप्ने तयारीमा मन्त्रालय रहेको उनले बताए। साथै आइसियु २६ सयबाट ३ हजार पुगेको र थप ८३० थप्ने तयारी भइरहेको छ। ३२ वटा अक्सिजन प्लान्टलाई बढाएर थप १९ वटा बनाउने र लिक्विड अक्सिजन ३ बाट २७ पुर्‍याउने योजना मन्त्रालयको रहेको छ।

यस्तै, ९०० अक्सिजन कन्सट्रेटन थप गर्नुका साथै ५ हजार अक्सिजन सिलिन्डर थप गरेको समेत उनले बताए।

त्रिपाठीले प्रदेश र स्थानीय सरकारसँग मिलेर काम गरिरहेको भन्दै समुदायमा एन्टिजेन परीक्षणको कार्यलाई तीव्रता दिएको समेत बताए। र नियमित रुपमा जिन सिक्वेन्सिङ भइरहेको समेत जानकारी दिए।

खोप खरिदका लागि युरोपियन युनियन, बेलायत, चीन अमेरिका र भारतसँग छलफल भइरहेको र विभिन्न देशबाट स्वास्थ्य सामाग्री सहयोगका साथै आर्थिक र प्राविधिक सहयोग भइरहेको समेत मन्त्री त्रिपाठीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell