PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा विपक्षी मोर्चासहित २४ रिट दर्ता, ओलीलाई नै प्रम बनाउन माग गर्दै ४ रिट, पेशी कहिले?



प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा विपक्षी मोर्चासहित २४ रिट दर्ता, ओलीलाई नै प्रम बनाउन माग गर्दै ४ रिट, पेशी कहिले?

काठमाडौं : सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध २४ वटा रिट दर्ता भएका छन्। आइतवार पेस भएका र सोमवार पेश भएको विपक्षी मोर्चाको सहित २४ वटा रिट दर्ता भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

त्यसैगरी प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै कायम राखी समयमै निर्वाचन गराउन माग गर्दै ४ वटा रिट दर्ता भएका छन्। 

कुल २८ वटा रिट दर्ता भएको सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए।

विपक्षी मोर्चाको रिटमा १४६ सांसदको हस्ताक्षर छ। १३९ जना उपस्थित भएर र ७ जनाको प्रतिनिधिमार्फत हस्ताक्षर गरिएको हो। 

रिटमा प्रतिनिधिसभा विघटन बदर हुनुपर्ने, प्रतिपक्षी नेतालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने परमादेश माग गरिएको छ। अन्य रिटमा पनि यिनै मागका साथै वर्तमान मन्त्रिपरिषदलाई कामकारवाहीमा रोक लगाउन माग गरिएको छ।

विपक्षी गठबन्धनका अधिवक्ता गोविन्द बन्दीले बुधवार पेशी तोकिने सम्भावना रहेको बताए। प्रतिनिधिसभा विरुद्धका २४ रिटमा ९ वटा संवैधानिक इजलास र १५ वटा अन्य इजलासको माग गरिएको छ। 'संवैधानिक इजलासको बैठक बुधवार र शुक्रवार बस्ने भएकाले बुधवार पेशी तोकिन सक्छ। तर अहिले कोभिड भएकाले कहिले बस्छ भन्ने टुंगो छैन,' उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell