PahiloPost

Sep 30, 2024 | १४ असोज २०८१

पूर्वसभामुखहरुले भने, ‘सर्वोच्चले बजेट अगावै फैसला दिनुपर्छ’, विशेषाधिकार प्रयोग गर्न सभामुखलाई सुझाव



पूर्वसभामुखहरुले भने, ‘सर्वोच्चले बजेट अगावै फैसला दिनुपर्छ’, विशेषाधिकार प्रयोग गर्न सभामुखलाई सुझाव

काठमाडौं: सभामुख अग्नि प्रसाद सापकोटाले पछिल्लो राजनीतिक अवस्थाबारे पूर्व सभामुखहरुसँग परामर्श गरेका छन्।

सरकारले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेपछि राजनीतिक संकट समाधानका विकल्पबारेमा सभामुखले परामर्श सुरु गरेका हुन्। उनले मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा पूर्व सभामुखहरुसग परामर्श गरे।

छलफलमा सहभागी पूर्वसभामुखहरुले सरकारले जनताको प्रतिनिधित्व गर्ने सर्वोच्च संस्थामाथि आक्रमण गर्ने काम गरेको र त्यो पूर्णरुपमा असंबैधानिक भएको राय दिएका थिए। प्रतिनिधिसभा भनेको प्रत्यक्ष रुपमा जनताले भोट गरेर पठाएकाहरुको सभा भएकाले जनताको असली प्रतिनिधिमूलक संस्थामाथि आक्रमण गरेर जनताको मतको अपमान गर्ने काम सरकारले गरेको भन्दै त्यस कार्यको निन्दा गरेको छलफलमा सहभागी पूर्वसभामुखहरुले जानकारी दिए।

छलफल पछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्व सभामुख एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदबाट सबै समस्याको समाधान खोज्नुपर्नेमा अदालत जानुपर्ने अवस्था सिर्जना हुनु दु:खद भएकाले राजनीतिक समस्याको समाधान र निकासका विकल्पबारे छलफल भएको जानकारी दिए। ‘सदनबाट नै राजनीतिक समस्याहरुले निकास पाउनुपर्छ र जनताको अस्तित्वमाथि कसैले पनि खेलवाड गर्नु हुँदैन भन्ने कुरा आजको बैठकबाट सन्देश दिन खोज्यौ।’

उनले राजनीतिक लगायत मुलुकका समस्याको समाधान जनताको अस्तित्वको रुपमा रहेको प्रतिनिधिसभाबाट नै खोज्नुपर्ने भएकाले सदन पुर्नस्थापनका लागि कानूनविद्, सांसद, सचेतक, प्रमुख सचेतकहरुसंग पनि छलफल गरेर आवश्यक कदम चाल्न पूर्व सभामुखहरुले सभामुख सापकोटालाई सुझाव दिएको बताए। सभामुखलाई संसद विघटन विरुद्ध जनमत निर्माण गरी संविधानको मर्म र भावनाका बारेमा विचार सम्प्रेषण गरि अनुकुल वातावरण निर्माण तर्फ पहल गर्न सुझाव दिएको पनि नेता पौडेलले जानकारी दिए।

‘एकातिर व्यवस्थाको रक्षा र अर्कोतिर कोरोनाबाट जनताको रक्षा गर्नुपर्ने अवस्थामा चुनाव घोषणा गरेर अर्को मारमा पार्ने काम भएको छ। दुवै संकटबाट मुलुकलाई निकास दिने जिम्मेवारी अहिले सर्वोच्च अदालतका न्यायमूर्तिहरुको काँधमा पुगेको छ। उहाँहरुले आफ्नो जिम्मेवारी संविधानको मर्म र भावना अनुरुप देश र जनताको आकांक्षा र परिस्थिति अनुरुप उहाँहरुले निकास दिनुहुनेछ र संसद बहुमत सदस्यहरुको आकांक्षा र चाहाना अनुरुप बजेट आउनु भन्दा अगाडि नै फैसला छिटो भन्दा छिटो आएर असार मसान्त भित्रै सदन पुनर्स्थापना भए आएर सदनबाटै बजेट पारित गर्न सकियो भने उपयुक्त हुनेछ। सभामुखले कानूनविद्, सांसद, सचेतक, प्रमुख सचेतकहरुसँग पनि छलफल गरेर केही कदम चाल्नुपर्ने भए सोही अनुसार गर्न र जनमत निर्माण गरी संविधानको मर्म र भावनाका बारेमा विचार सम्प्रेषण गर्न सक्नुहुन्छ।’

पूर्व सभामुख ओनसरी घर्ती मगरले जनताको प्रतिनिधिमुलक सस्थामाथि आक्रमण गर्नु पूर्णतया असंबैधानिक भएको कुरा राखेको बताइन्। ‘हामीले एउटै स्वरमा प्रतिनिधिसभा भनेको जनताको असली प्रतिनिधि गर्ने संस्था हो। प्रत्यक्ष रुपमा जनताले भोट गरेर पठाएको भएकाले प्रतिनिधिसभा जनताको प्रतिनिधित्व गर्ने संस्था हो र यो संस्थामाथि आक्रमण भयो। यो पुर्णतया असंबैधानिक छ भनेर भन्यौं,’ उनले भनिन्। न्यायलयले छिटो भन्दा छिटो फैसला गर्नुपर्ने र देश र राज्यको आवश्यकता अनुसार सम्पूर्ण संबैधानिक निकाय चल्नु जरुरी रहेको उनको भनाइ छ।

छलफलमा पुर्वसभामुखहरुले राजनीतिक दलहरुको बीचमा दुरी कम गराउने, विज्ञ, सरोकारवालाहरु लगायत संस्थागत र व्यक्तिगत रुपमा परामर्श गरि अनुकुल बातावरण बनाउन र आवश्यक पर्दा संविधानले दिएको विशेषाधिकार प्रयोग गर्न पनि सुझाव दिएको पूर्वसभामुख घर्तीले जानकारी दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell