PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

उपत्यकामा निषेधाज्ञा थप कडा बनाइँदै, किराना पसल खोल्न पूर्ण प्रतिबन्ध, बैंक र प्रेसमाथि कडाई गरिने



उपत्यकामा निषेधाज्ञा थप कडा बनाइँदै, किराना पसल खोल्न पूर्ण प्रतिबन्ध, बैंक र प्रेसमाथि कडाई गरिने

काठमाडौं : काठमाडौं उपत्यका भित्र थप एक हप्ता निषेधाज्ञा थपिएको छ। यस पटक थपिएको निषेधाज्ञालाई पहिलाभन्दा कडाईका साथ लागू गर्न सम्बन्धित निकायहरुलाई जिल्ला प्रशासन कार्यालयले निर्देशन समेत दिइसकेको छ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले अवस्थाको मूल्यांकन गर्दै एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो।  

अघिल्ला निषेधाज्ञा भन्दा यसपटकको निषेधाज्ञामा केही क्षेत्र संचालनमा पूर्ण रोक लगाइएको छ। पछिल्लो निर्णय अनुसार अब खाद्यान्नका पसलहरुलाई पूर्णरुपमा खोल्न निषेध गरिएको हो। खाद्यान्नका पसलदेखि डिपार्टमेन्ट स्टोर समेत खोल्न पाइने छैन। यसअघि बिहान ७ बजेदेखि १० बजेसम्म खाद्यान्नका पसलका साथै डिपार्टमेन्ट स्टोर खोल्न दिइएको थियो। पसल र स्टोरहरु बन्द रहेपनि तरकारी,  माछा, मासु, दुध लगायतका पसलहरु भने संचालन गर्न पाइनेछ।

 'खाद्यान्नका पसललाई पूर्ण बन्द गर्ने निर्णय भएको हो। एक साता कडा रुपले नै बन्द गर्ने निर्णय गरेर यस्तो निर्णयमा पुगेका हौं,' जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने।

निषेधाज्ञाको समयमा मानिसको आवतजावत बढी भएकाले पनि कोरोना संक्रमण नियन्त्रणमा नआएको स्वास्थ्य मन्त्रालयले सार्वजनिक रुपमा नै भनेको छ। मन्त्रायले आउने चार हप्तामा संक्रमणको दर ओरालो लाग्ने दाबी समेत गरेको छ। त्यसैलाई मध्यनजर गर्दै आज बसेको बैंठकले मानिसको हिँड्डुलमा समेत नियन्त्रण गर्ने भएको छ। अब मर्निवाक देखि इभिनिङ वाक गर्ने समेतलाई कारबाही गर्ने गरि निर्णय गरिएको छ।

अब विवाह तथा ब्रतबन्ध लगायतका धार्मिक कार्यहरु संलग्न हुन पाउने मानिसको संख्यामा घटाइएको छ। विवाहमा अब ७ जना मात्र सहभागी हुन पाउने छन्। विवाहका लागि पार्टी प्यालेस बुक गर्न पाइने छैन। यसअघि विवाह लगायतका कार्यमा १० जनासम्म सहभागी हुन पाउने व्यवस्था थियो। यसअघि दुई वटासम्म गाडी प्रयोग गर्न दिइएकोमा अब एउटामात्रै प्रयोग गर्न पाइनेछ।

पछिल्लो पटक काठमाडौं उपत्यकाभित्र थपिएको निषेधाज्ञा जेठ १३ गतेबाट सकिँदैछ। थप भएको निषेधाज्ञाको अवधि जेठ २० गतेसम्म रहनेछ।

बैंक र वित्तीय सस्थाहरुको कारण पनि मानिसको भिड बढेको प्रशासनको निष्कर्ष छ। त्यसैले यसपटक बैंक तथा वित्तिय सस्थाको वर्गिकरण अनुसार संख्या तोकेर खोल्न भनिएको छ। संचारकर्मीहरुको हकमा पनि यसपटक थप कडाई गरिने सिडिओ पराजुलीले जानकारी दिए।

 

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell