अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड-१९ को आपतकाल तथा यसको उत्पतिसम्बन्धी विवादहरुमा अनुसन्धान गर्न गुप्तचर संस्थालाई निर्देशन दिएका छन्। राष्ट्रपतिले गुप्तचर संस्थाहरुको समूहलाई अहिले भइरहेको प्रयासलाई दोब्बर बनाउँदै ९० दिनभित्र आफूलाई रिपोर्ट पेश गर्न निर्देशन दिएको बीबीसीले जनाएको छ।
२०१९ को अन्त्यतिर कोभिड-१९ पहिलोपटक चीनको वुहान शहरमा पुस्टि भएको थियो। हालसम्म विश्वभर १६ करोड ८० लाख बढी मानिसमा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ भने ३५ लाख बढी मानिसको मृत्यु भइसकेको छ।
चिनियाँ अधिकारीहरुले यसअघि नै कोभिड-१९ लाई त्यहाँको सीफुड मार्केटबाट सुरु भएको र जनावरबाट मानिसमा प्रवेश गरेको जनाएका छन्। तर, पछिल्लो समय अमेरिकी सञ्चार माध्यमले कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाट बाहिरिएको भन्ने प्रमाणहरुले पुष्टि गरिरहेको दाबी गर्दै आएका छन्। बेइजिङले समचार रिपोर्टहरुको निन्दा गर्दै बरु यो अमेरिकी प्रयोगशालाबाट आएको हुन सक्ने टिप्पणी गरेको छ।
कोभिड-१९ को उत्पतीको विषयमा यही विवादका बीच अमेरिकी राष्ट्रपति बाइडेनले भाइरस मानिस र जनावरबीचको सम्पर्कबाट सुरु भएको हो वा प्रयोगशालाबाट बाहिरिएको हो भन्ने अनुसन्धान गर्न निर्देशन दिएका हुन्।
गत वर्ष नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका अधिकारीहरुले भाइरस चिनियाँ प्रयोगशालाबाट बाहिरिएको भन्दै टिप्पणी गरेका थिए। यतिसम्मकी भाइरसलाई उनीहरुले चाइना भाइरस भन्दै आएका थिए। ट्रम्पले यस विषयमा थप केही गरेनन् खाली हल्लामात्र गरिरहे- 'भाइरस चीनमा उत्पादन भएको हो।' तर, हालसम्म यसलाई पुष्टि गर्ने कुनै आधारहरु भने देखिँदैनन्। चीनले यस विषयमा सहयोग नगरे जनतालाई यस बारेमा सत्यतथ्य थाहा नपाउने बीबीसीले जनाएको छ।
बाइडेनले यस विषयमा पूर्ण अनुसन्धान गर्न भनेका छन्। यदी अमेरिकाले भाइरस चिनियाँ प्रयोगशालाबाट बाहिरिएको भन्ने कुनै निर्णायक प्रमाण फेला पार्यो भने दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा थप जटिलतामा लान सक्ने छ।
आजसम्म अमेरिकी गुप्तचर समुदायले दुई दृश्य फेला पारेको तर निचोडमा नपुगेको बाइडेनले बताएका छन्। यसअघि मार्चमा विश्व स्वास्थ्य संगठनले भाइरस प्रयोगशालाबाट सुरु भएको कुरा हुनै नसक्ने बताउँदै यस विषयमा थप अध्ययन हुनुपर्ने बताएको थियो।
तर, हालै अमेरिकी गुप्तचर निकायलाई उदधृत गर्दै आएका रिपोर्टमा वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका तीन सदस्य नोभेम्बर २०१९ मा अस्पतालमा भर्ना भएको जुन कोभिड-१९ को पहिलो केस देखिनुभन्दा निकै अघि थियो। बाइडेनका प्रमुख स्वास्थ्य सल्लाहाकार एन्टोनी फाउसीले पनि भाइरस जनावरबाट मानिसमा सरको बताउँदै आएका थिए। तर, हालै उनले भाइरस प्राकृतिक रुपमा उत्पन्न भएको भन्नेमा पूर्ण विश्वस्त हुन नसकेको टिप्पणी गरेका थिए।
अमेरिकी स्वास्थ्य तथा मानवसेव मन्त्री जाभियर बेसेराले डब्लुएचओलाई भाइरसको उत्पत्ति सम्बन्धी निष्पक्ष र पारदर्शी छानविनलाई विश्वस्त बनाउन आग्रह गरेको भोलिपल्ट नै अमेरिकी राष्ट्रपति बाइडेनको यस्तो निर्देशन आएको हो। 'कोभिड-१९ पाण्डेमिकले हाम्रो जीवनको एक वर्ष चोरी गरेको नभई लाखौँ मानिसको जीवनसमेत चोरी गरेको छ,' अमेरिकी स्वास्थ्य मन्त्रीले डब्लुएचओले आयोजना गरेको कन्फ्रेन्समा भनेका थिए। उनले कोभिड-१९ को उत्पत्ती सम्बन्धी दोस्रो चरणको अनुसन्धान पारदर्शी, विज्ञान सम्मत हुनुपर्ने भन्दै अन्तर्राष्ट्रिय विज्ञहरुलाई यसको अध्ययनका लागि स्वतन्त्र रुपमा सबै स्रोतहरुसम्म पहुँचको वातावरण बनाइनुपर्ने बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष भाइरस प्रयोगशालाबाट बाहिरिएको अभिव्यक्ति दिएसँगै कन्सपिरेसी थ्योरीको रुपमा विश्वभर व्यापक भएको थियो। धेरै जसो अमेरिकी मिडियाहरुले यसलाई झुटको खेतीको रुपमा त्यतिबेलै टिप्पणी गरेका थिए।
मंगलवार मात्र ट्रम्पले यसको श्रेय आफूलाई लिँदै न्युयोर्क पोस्टमा वक्तव्य पठाएका छन्। जहाँ भनिएको छ- मलाई यो सुरु देखिनै लागिरहेको थियो। तर, त्यतिबेला म खराब रुपमा आलोचित भए। अहिले आएर उनीरु सबैले भनिरहेका छन् उ सही थियो।'