वैशाख पहिलो साता कोरोना भाइरसविरुद्ध भेरोसेल खोपको पहिलो डोज लगाए काठमाडौं बस्ने बुद्धिमान लिम्बुले। त्यतिबेला देशमा संक्रमणको दोस्रो लहर उकालो लाग्दै थियो। संक्रमण नियन्त्रणका लागि वैशाख १३ गते, उपत्यकाभित्रका तीन जिल्लामा १६ गतेदेखि लागू हुनेगरी निषेधाज्ञा घोषणा भयो। जिल्ला प्रशासनले जारी गरेको सूचनामा उल्लेख थियो – 'काठमाडौं उपत्यका छाड्नेलाई दुई दिन मौका।'
निजी कम्पनीमा सेक्युरिटी गार्डको काम गर्ने बुद्धिमानका छोरा फेरि काम ठप्प हुने कुराले आत्तिए। अघिल्लो वर्ष लकडाउन खुल्ला र काममा फर्कँन पाइन्छ भनेर कुर्दाकुर्दै महिनौं बितेको सम्झिए। त्यतिबेला उनको परिवार राहतको चामलको लाइनमा बस्न परेको थियो। यसपटक त्यस्तो नहोस् भनेर ६६ वर्षीय बुवा, श्रीमती र छोरा लिएर मोरङ गए।
वैशाख अन्तिम साता भेरोसेल खोपको दोस्रो डोज लगाउनका लागि तालिका सार्वजनिक भयो। बुद्धिमानले थाहा पाए, मोरङमा खोप दिइँदैन। निषेधाज्ञाका कारण काठमाडौं फर्कनु सम्भव भएन। त्यस्तो अवस्थामा गर्ने के? प्रश्न सोध्दासोध्दै, जवाफ खोज्दाखोज्दै दोस्रो मात्रा भेरोसेल खोप लगाउन तोकिएको अवधि सकियो।
उनीमात्र होइन, निषेधाज्ञाको प्रभाव छल्न काठमाडौं उपत्यका छाडेका अधिकांशमा खोपको दोस्रो डोजबारे अन्यौलता छायो।
स्वास्थ्य सेवा विभाग, खोप शाखाका प्रमुख, डाक्टर झलक शर्मा गौतमका अनुसार भेरोसेलको पहिलो डोज करिब दुई लाख नब्बे हजार नागरिकले लगाएका थिए। तीमध्ये करिब ५० हजार मानिस दोस्रो डोज लगाउन छुटेका छन्। छुटेकाहरू - केही उपत्यका बाहिर गएकाहरू हुन् भने केही पहिलो मात्रा लगाएपछि कोभिड-१९ को लक्षण देखिएका वा संक्रमण भएकाहरू।
संक्रमण भएकाहरूको हकमा संक्रमणमुक्त भएको एक महिनापछि पुन: खोप उपलब्ध गराउने डाक्टर गौतमको दावी छ। उपत्यका छाडेकाहरू हकमा चाहिँ दोस्रो मात्रा के हुन्छ त?
'कोही खोप लगाउनु अघि उपत्यका बाहिर जानु हाम्रो नियन्त्रणमा थिएन। त्यसैले केही मानिस दोस्रो मात्रा भेरोसेल लगाउनबाट छुटे,' डाक्टर गौतमले भने, 'तर हामीले कोही नछुटुन् भन्ने विषयमा जोड दिएका छौं। हामीले स्थानीय तहमार्फत् छुटेकाहरूको तथ्याङ्क संकलन गर्न भनेका छौं।'
तथ्याङ्क संकलनपछि प्रदेश सरकारमार्फत् नै उनीहरूलाई खोप उपलब्ध गराउने गौतमले बताए। उनका अनुसार अबको एक सातादेखि १५ दिनमा छुटेकाहरू रहेकै स्थानीय तहमा खोप कार्यक्रम सुरु हुन्छ।
त्यतिखेर चीनले अनुदानमा दिएको ८ लाख डोज भेरोसेलले ४ लाख मानिस लाभान्वित हुने भनिएको थियो।
दोस्रो मात्रा खोपको अन्यौलता भेरोसेल लगाउनेहरूमा मात्र सीमित छैन।
कोभिसिल्ड लगाएका करिब ५ लाख ज्येष्ठ नागरिकले पनि दोस्रो डोज पाएका छैनन्। कारण - पहिलो मात्रा लगाएका सबैका लागि पर्याप्त खोप नहुनु।
+++
भारतमा बनेको कोरोना भाइरसविरुद्धको खोप पहिलो चरणमा 'फ्रन्टलाइनर्स'हरू स्वास्थ्यकर्मी, सर-सफाइकर्मी, एम्बुलेन्स र शव बाहन चालकलाई दिइयो। भारतको अनुदान रहेको १० लाख खोपको दुवै डोज पाए कुटनीतिक नियोग, बैंक तथा वित्तीय संस्था, नापी विभाग, जिल्ला प्रशासन कार्यालयका कमर्चारी र पत्रकारहरूले।
सरकारले दोस्रो चरणमा गत फागुन २३ गतेदेखि ६५ वर्ष भन्दा माथि उमेर समूहका नागरिकलाई खोपको पहिलो डोज दियो। त्यतिबेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिसिल्ड खोप पहिलो डोज लगाएको ८ देखि १२ हप्ताभित्र दोस्रो डोज लगाउनुपर्ने जनाएको थियो।
तोकिएको समयभित्र खोप पाउने आशामा थिए वृद्धवृद्धा। तर, सरकारले तत्काल थप खोप ल्याउन सकेन। कमिसनको विवादमा स्वास्थ्य मन्त्रालय र व्यवसायीबिच घोचपेच चलिरह्यो।
मे १३ मा भारतीय सरकारले पहिलो डोज लगाएको १६ हप्तापछि दोस्रो डोज लगाउन मिल्ने गरी समय संशोधन गर्यो। उक्त निर्णयले नेपाल सरकारलाई पनि केही राहत दियो। आवश्यक खोप आयातका लागि पहल गर्न समय मिल्यो। तर, भारतले एक महिना अघि नै अक्सफर्ड आस्ट्राजेनेका खोप निर्यातहरूमाथि रोक लगाइसकेको थियो।
दुई हप्ता अघि भारत सरकारले कोभिसिल्डको पहिलो र दोस्रो डोज लगाउने समय अवधि बढाउनुको मुख्य कारण थियो - खोपको अभाव। त्यसैले बेलायतमा गरिएको 'रियल टाइम' अनुसन्धानबाट खोपको दुई डोज लगाउने समय अवधी बढाउन सकिने देखिएपछि स्वास्थ्य मन्त्रालयले सरकारलाई सिफारिस गरेको थियो। जसबाट कोभिसिल्डको दोस्रो डोज लगाउने समय १२ देखि १६ हप्ता पुर्याइए हो। जसलाई सिरम आफैले स्वागत गरेको छ।
'हामी दोस्रो डोज लगाउन बाँकी ज्येष्ठ नागरिकलाई पुग्ने कोभिसिल्ड आयातका लागि प्रयासरत् रह्यौं। पहलको संकेत पनि सकारात्मक देखिएको थियो,' डाक्टर गौतमले भने।
बुधवार भने कोरोना खोप वितरणको विश्वव्यापी अभियान 'कोभ्याक्स'ले नेपाललाई कोभिसिल्डको साटो अन्य खोप रोज्ने विकल्प दिएको छ। आपूर्तिकर्ता सेरम इन्स्टिच्यूट अफ इन्डियाले यस वर्षभरि नै कोभिसिल्ड निर्यात गर्न नसक्ने भनेपछि कोभ्याक्सले विकल्पमा खोज्न आग्रह गरेको डाक्टर गौतमले जानकारी दिए।
नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएका खोप खरिद्का लागि स्वास्थ्य सेवा विभागले प्रस्ताव गरेको थियो। तीमध्ये अमेरिकाको जोन्सन एण्ड जोन्सन र रसियाको स्पुतनिक भीले खोप पठाउन सकारात्मक छन्।
'हामीले दुई करोडभन्दा बढी जनतालाई खोप दिनु छ। कोभिसिल्ड नदिने भनेपछि अर्को विकल्प त रोज्नैपर्छ। त्यसका लागि के उपयुक्त हुन्छ? भन्ने बारे निरन्तर छलफल भइरहेको छ,' उनले भने। उनले एक महिनाभित्र आन्तरिक छलफलपछिको निर्णय कोभ्याक्सलाई पत्राचार गर्ने बताए। त्यसपछि कोभ्याक्सले कुन खोप, कति मात्रा र कहिलेसम्म पठाउने भन्नेबारे जवाफ दिनेछ।
'आउँदो मे महिनासम्म नेपालका बीस प्रतिशत जनसंख्यालाई पुग्ने खोप उपलब्ध हुने भनिएको छ,' उनले भने, 'खोप पर्खिरहेका नेपालीहरूको लागि यो सकारात्मक खबर हो। यसको मतलव हामी कोभिसिल्डको दोस्रो मात्रा लगाउन बाँकी ज्येष्ठ नागरिकलाई निराश बनाउँदैनौं। आवश्यक मात्रा ल्याउनका लागि प्रयास जारी छ।'
तर, पहिलो र दोस्रो डोज खोप बिचको समय अन्तरले यसको प्रभावकारिता घटाउने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ। डब्लूएचओकी प्रमुख वैज्ञानिक डाक्टर सौम्या स्वामिनाथनका अनुसार आस्ट्राजेनेकाको खोप अर्थात् कोभिसिल्डको दुई मात्राको बिच १२ साता सम्मको अन्तर हुँदा खोप बढी प्रभावकारी हुन्छ। त्यसो हुँदा खोप लगाउनेमा कोभिड-१९ विरुद्ध प्रतिरोधात्मक क्षमता बढी हुन्छ।
डाक्टर सौम्याका अनुसार यस खोपको दोस्रो डोज अनिवार्य आवश्यक छ।
नेपालमा कोभिसिल्डको विकल्प अन्य खोप रोज्न कोभ्याक्सले आग्रह गरेको छ। तर, कोभिसिल्ड पहिलो डोज लगाएर बसेकाहरूलाई भने दोस्रो डोज अन्य खोप लगाउन मिल्दैन। डाक्टर सौम्याले भनेकी छिन्, 'फरक उत्पादकका भ्याक्सिन एउटै प्रयोजनका लागि बनेपनि हाललाई दुई डोजमा फरक उत्पादकबाट बनेको खोप प्रयोग गर्न मिल्दैन। यसबारे विभिन्न देशमा क्लिनिकल परीक्षण भइरहेका छन्। त्यसको नतिजा पर्खन आवश्यक छ।'
विश्वभर विभिन्न उत्पादकका खोपको आपतकालीन प्रयोग भइरहेको छ। अर्थात् यी खोपहरूको प्रभावकारिता र प्रयोगबारे अझै पनि अध्ययन तथा अवलोकन भइरहेको छ।