PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

'हामी सबैले कसै न कसैलाई गुमाएका छौं'



'हामी सबैले कसै न कसैलाई गुमाएका छौं'

  • सलिना उप्रेती-

शहर बन्द छ। कोरोना भाइरसको संक्रमणबिच गाउँघरमा खेती भने चलिरहेको छ। खेती नगरे किसानले खाने के, हामीले खाने के?

हामी काठमाडौंमा हुँदा आमा गाउँमा खेतमा व्यस्त हुनुहुन्छ। केही दिन अघिको कुरा हो। खेतमा मल हाल्न १० डोको ‌ओसारपसार गर्नुभयो आमाले। राति फोनमा कुरा गर्दा सुनाउँदै हुनुहुन्थ्यो, गाउँघरको कथा।

त्यसको भोलिपल्ट बिहानै फोनको घण्टी बज्यो। आमाले यति बिहानै फोन गर्नु भएपछि मनमा लाग्यो : पक्कै पनि हिजो १० डोको मल बोक्नु भएको थियो। गाह्रो भयो भन्नलाई कल गर्नुभएको होला।  

फोन उठाएँ,  हेलो भन्न नपाउँदै आमा रुनु भयो।

'ह्वाँ ह्वाँ' गर्दै रोएको आमाको आवाजले मनमा धेरै कुरा खेलायो। आतिएँ। सोधे : के भयो ?

केही सेकेण्ड  उहाँको रुवाइ सुन्दै बसें। अरु उपाय पनि थिएन।

'तिमीहरुलाई बाहिर ननिस्की भन्दा लाग्दैन, पल्लो घरको कान्छा बाउको छोरो कोरोनाले बितेछन्' आमाले रुँदै भन्नु भयो।

कोरोना संक्रमणको दोस्रो लहरले पहिलो लहरभन्दा बढी क्षति गरिरहेको थियो। दैनिक सयौं मानिसको मृत्युको खबर आइरहेको थियो। सो दिन मृतकको संख्यामा आफ्नै मान्छे परेपछि सम्हालिन सकिनँ। एकैछिन त विश्वास गर्नै गाह्रो भयो। हस्याङ्गफस्याङ्ग गर्दै बुबालाई फोन लगाए। मन झनै आतियो। घाम बरन्डामा पुग्दासम्म पनि सुतिराख्ने बुबाको फोन त्यसदिन सबेरै व्यस्त थियो।

अनि मेरो आफ्नै काकीको याद आयो। उहाँलाई फोन लगाएर आमाले सुनाउनु भएको खबर बारे सोधें। उहाँ पनि रुनु थाल्नु भयो।

मदन काकालाई ३-४ दिनदेखि गाह्रो भएको रहेछ। त्यसैले छाउनी अस्पताल पुर्‍याइएको रहेछ। उहाँले फोनमा आफ्ना कुराहरु सुनारहँदा मैले सुन्न नसकेर फोन काटिदिएँ। आफूलाई सम्हाल्न निकै गाह्रो भयो।

मदन काका आर्मीका अवकाश प्राप्त सुवेदार। जहिलै स्वास्थ्य र व्यायाममा ध्यान दिन अरुलाई हौसला दिने मान्छे। रोग लाग्न नदिन सबैलाई सुझाव दिने मान्छे। आफूलाई नपरी बुझ्दैनन् भन्छन्। त्यसदिन यो महामारीमा स्वस्थ व्यक्तिलाई अकालमा गुमाउनुको पीडा बोध गरें।

केही समयमा फेरि बुवालाई फोन गरें।  'मदन अङ्कल' भन्न नपाउँदै उहाँले काका हिजो राति नै बित्नु भएको सुनाउनु भयो। दाजुभाई मध्ये हट्टाकट्टा भाइ गयो भन्दै बुबाले सुस्केरा हाल्नुभयो।

काका त बित्नुभयो। मेरी काकीलाई र सगैँ बस्ने एकजना दाइ लाई पनि कोरोना देखिएको रहेछ।

काका बित्नुभएको रात बुबाले नै गाडीमा हालेर उहाँलाई यताउता गर्नुभएको रहेछ। बुवा कन्ट्याक्ट ट्रेसिङ्गमा पर्नाले निकै गाह्रो भयो।

त्यसमाथि दिनदिनै चिनेको र नजिकका आफन्तहरुको कोरोनाका कारण मृत्युभको खबर कानमा परिराख्न थाल्यो।

यिनै यावत् तनावबिच श्रीमान् कामका कारण बाहिर जानैपर्ने बाध्यता।

गत वर्ष म आफै कोरोनाबाट संक्रमित भएकी थिएँ। अहिले जस्तो भयावह अवस्था त थिएन। तर त्रास निकै बढी थियो। त्यो बेलादेखि 'एन्जाइटी'ले मलाई बारम्बार सताइरहन्छ। पछिल्लो केही दिनयता फेरि 'एन्जाइटी'  निकै बढेको छ। काकाको मृत्युको खबरपछि पनि मन र दिमाग तनावमै रह्यो। तर घरमा कसैलाई भनिन।  सबै आतिनुहोला जस्तो लाग्यो। आफैले योगा र ध्यान गरे।  केही हलुका महसुस भयो।

मृत्युको समाचार सामान्य बन्दै थियो। यसबिच अक्सिजन नपाएर बित्नेको संख्या उच्च थियो। काका बितेको १३ दिन बित्न नपाउँदै बुबाले फोन गरि सोध्नु भयो 'तँलाई कोरोना लाग्दा ल्याएको अक्सिजन सिलिन्डर कहाँ छ?'

'फेरि कसलाई के भएछ?'  मेरो मनलाई शान्त हुने ठाउँ नै थिएन। प्रश्नमाथि प्रश्न!

जेठो हजुर बुबाको नाति  राम दाइमा कोरोना संक्रमण देखिएछ। सास फेर्न गाह्रो भएकोले सिलिन्डरको जोहो गर्न सबै लागेका रहेछन्। बुवाले त्यही सम्झेर सोध्नुभयो।

लाग्थ्यो, यो जीवनमा अमूल्य हाम्रो सास हो। तर, कोरोनाले धेरैलाई क्रृत्रिम सासको भरमा जीवनसँग संघर्ष गर्न बाध्य बनाएको छ।

केहीसमय अघि श्रीमानको साथीको आमालाई नि सास फेर्न गाह्रो भएको थियो। त्यसैले सिलिन्डर उतै लगिएको थियो। बुवालाई सोधेर फोन गर्छु भनें। उता पनि आमालाई सास फेर्न अलि सहज भएको रहेछ। एक हप्तादेखि अक्सिजनको आवश्यक्ता परेको रहेनछ।

आधा सिलिन्डर बाकीँ रहेछ त्यसले दाइलाई राहत दियो। फेरि दाइको अक्सिजन स्याचुरेसन ह्वातै ८५ मा झर्‍यो। अक्सिजन बढाउन खाएको चक्कीले। सुगर लेबल बढेर ४०० पुगेछ।

यता अक्सिजन त जसोतसो जोहो भयो। अस्पताल पाउनै सकस। कुनै अस्पतालमा ठाउँ थिएन। सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजले पनि रगत जाँच र छातीको एक्सरे गरेर फर्काइदिएछ। बल्लतल्ल टिचिङ् अस्पतालमा बेड पाइयो। तर अस्पतालभित्र होइन। अस्पतालको पेटीमा। पेटीमा बसेर अक्सिजन लिने दाइमात्र हुनुहुन्नथ्यो। धेरै मान्छे अस्पतालका पेटी र बगैंचामा अक्सिजन सपोर्टमा थिए। अझ केही त अक्सिजन नपाएर छटपटाईरहेका थिए। बिहान सबेरै अस्पताल पुर्‍याइएको दाइले आधा रातमा मात्रै इमरजेन्सी वार्डमा बेड पाउनुभएछ। कोभिड वार्डमा पाइएन। दाइको अवस्था गम्भीर भएसँगै उहाँलाई आइसियुमा राखियो। रेम्डिसिभिरको ६ डोजसमेत दिइयो। तर, शुक्रवार बिहान कोरोनासँग राम दाइ हार्नुभयो। हिजोदेखि म भाउजु र दुई छोरीहरुको अनुहार सम्झिरहेको छु। र आफैलाई पनि प्रश्न गरिरहेको छु।

संक्रमणका कारण मदन काकाको निधन भएको बेला कन्ट्याक्ट ट्रेसिङमा पर्नु भएको बुबा राम दाइका लागि पनि हिँडिरहनु भएको थियो। मेरो आफ्नो काका पनि सहयोगको लागि सँगै हिँडिरहनु भएको थियो।। यस्तो बेला मनको बाघ सक्रिय नहुने कुरै भएन- चिन्ताले निकै नै सताएको थियो।

आफूलाई संक्रमणको जोखिम हुने सम्भावनाबिच संक्रमित दाइको सेवामा खटिएका बुवा र काकालाई गाली पनि गरेकी थिएँ। दुवैलाई 'आफ्नो नि  ख्याल राख्न' भनेंकी थिएँ। यो रोगले कसलाई आफ्नो र पराइ भन्दैन, तपाईँहरुलाई केही भयो भने के गर्ने भनेंकी थिएँ।

दुवैले एकै स्वरमा मलाई दिएको जवाफ अझै याद छ मलाई। उहाँहरुले भनेका थिए 'देख्दा देख्दै यतिकै मर्न त छोड्नुभएन नि! दु:ख परेको बेला पराइकै सहयोग गर्नुपर्ने बेलामा आफ्नालाई त्यसै कहाँ छाड्ने?

यी वाक्यले मलाई सोचमग्न बनाएको थियो। स्तब्ध भएकी थिएँ केही बेर। सोचें - हामी जस्ता कयौंले त यसरी साथ र सहयोग पनि पाउन सकेका छैनन् होला। यो महामारीले हामीलाई आफ्नो स्वार्थभन्दा माथि उठ्न सिकाइरहेको रहेछ। आज फेरि दाइको देहान्तको कुरा सुनेर स्तब्ध भएको छु। बुवा र काकाले भनेका शब्दहरु मनमा आइरहेको छ। अरु कसैलाई केही नहोस् भनेर प्रार्थना गर्दैछु।

छोरीको मनै त हो, मनको कुनामा अझै बुवाहरुलाई केही हुन्छ कि भन्ने डर कायमै छ। भगवानसँग प्रार्थना गर्नेबाहेक केही विकल्प पनि त छैन।

विकल्प मसँग गत वर्ष पनि थिएन जब म संक्रमित भएकी थिएँ। एउटै कोठामा बस्नु , छिनछिनमा  औंलामा अक्सिमिटरले जाँच गर्नु, रातमा सास फेर्न गाह्रो हुनु, आफैलाई केही होला कि भन्ने डरले सताउनु। यी सबै कुरामा धैर्य गर्नु बाहेकको विकल्प थिएन त्यसबखत। अहिले हामीले आउने कुनै दिन यो सबै सकिएर फेरि सामान्य जीवनमा फर्किन्छौं भनेर धैर्य गर्नुको विकल्प छैन।

पोहोरतिर संक्रमितहरुलाई अपराधी कै नजरले हेरिएको जस्तो लाग्थ्यो। कोरोना केही होइन भन्ने पनि थिए। अहिले भने समय फेरिएको छ। कोरोनाले आफैलाई परिस्कृत गरेको छ। थप बलियो बनाएको छ। र हामी मानिस आफ्नो सबै शक्ति यही कोरोना नियन्त्रणमा लगाउँदैछौं।

विज्ञहरुले भनिरहेका छन्, विश्वका शक्तिशाली देशले पनि कोरोना पूर्ण रुपमा नियन्त्रण गर्न सक्दैनन्। कोरोना नियन्त्रण गर्न त्यहाँका जनताले अपनाउने सावधानी महत्वपूर्ण हुनेछ। तर हामी अझै चेतेका छैनौं। अझै बाटामा मानिसहरु खेलवाड गरिरहेको देखिन्छन्। मास्क नलगाउन परे हुन्थ्यो भन्ने जमात पनि छ। तरकारी किन्नेको भिडले कोरोनालाई जिस्काइरहेको छ। जसकारण फेरि प्रशासनले निषेधाज्ञामा थप कडाई गर्ने निर्णय गरेको छ।

यो दोस्रो लहरले हामीलाई धेरै क्षति गरायो। परिवारका सदस्य गुमे। आफै संक्रमित भयौं। देश ठप्प भयो। संक्रमणभन्दा त्रास र चिन्ताले मान्छेलाई अझै बढी सताएको छ। पहिलो लहरमा मैले भोगेको चिन्ता र अहिलेको त्रास विल्कुलै फरक छ। कोरोना जस्तै त्रासको शक्ति पनि बढेको छ। त्यसैले फेरि नयाँ लहरहरु आउन सक्ने भन्दै सतर्कता अपनाउन विज्ञहरुले भनिरहेका छन्। यो सबै भन्नुको कारण- जहिलै डराएर बस्नु भनेको होइन। तेस्रो-चौथो लहर आउने सक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै व्यक्ति आफैलाई सचेत बस्न गरिएको आग्रह हो। यसपटक मैले आफ्नालाई गुमाएँ। हामी सबैले कोही न कोही गुमायौं। त्यसैले आफू बाँच्न र अरुलाई बचाउन कोरोनाविरुद्ध आफूलाई आइसोलेट गर्नुको विकल्प छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell