PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

अमेरिकास्थित दुई तामाङ संस्थाबीच ऐतिहासिक एकता, यी १२ बुँदामा भयो सहमति



अमेरिकास्थित दुई तामाङ संस्थाबीच ऐतिहासिक एकता, यी १२ बुँदामा भयो सहमति

न्युयोर्क : अमेरिकाको न्युयोर्कस्थित दुई तामाङ संस्थाबीच ऐतिहासिक एकता भएको छ। सानुमाया तामाङको अध्यक्षतामा रहेको तामाङ सामाज अमेरिका र छेमाङ तामाङको अध्यक्षतामा रहेको तामाङ सोसाइटी अफ अमेरिकाबीच १२ बुँदे सहमतिका साथ एकता भएको हो।

न्युयोर्कको मुस्ताङ थकाली किचेनमा मे २६ मा बुद्ध जयन्तीका दिन एकता भएको हो। तामाङ समुदायको हितका लागि क्रियाशील रहेको दुई संस्थाबीच यसअघि पनि एकताको प्रयास भएको थियो। सोसाइटी सन् २००२ मा स्थापना भएको थियो भने भने समाज २०१८ मा स्थापना भएको थियो।

एकीकृत तामाङ संस्थाको नामा तामाङ सोसाइटी अफ अमेरिका राखिएको छ। अब संस्थाको कार्यसमिति पुनर्गठन गर्ने र सानुमाया तामाङ पूर्व अध्यक्षको मर्यादामा रहनेछिन् भने अध्यक्ष छेमाङ तामाङ रहनेछन्।

एकाताको घोषणामा संस्थापक अध्यक्ष सुवास लामा, तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका वर्तमान अध्यक्ष लक्यान लामा, पूर्व अध्यक्षहरु राम तामाङ, इन्द्रबहादुर तामाङ, भरतराज लामा, , सूर्यबहादुर तामाङ, शान्ताबहादुर थोकर, गोमा योन्जन र पूर्व कार्यबाहक अध्यक्ष फूर्वा घिसिङ उपस्थित थिए।

दुई संस्था एक भएकोमा संस्थापक अध्यक्ष सुवास लामाले खुसी व्यक्त गरेका छन्। 'समुदाय एउटै समाज एउटै घरका हामीबिच वैमनस्यता सिर्जना भई नयाँ समाज तामाङ समाज अमेरिकाको परिकल्पना गरी दुखका तीन वर्ष एक कष्टकारका साथ बिताइयो। आज आएर यी सबै दुखका दिनहरुलाई बिर्सिएर हामी आफ्नै मुल घरमा एक्यबद्धता भएका छौं। सबै खाले समस्यालाई संस्थागत तवरले निवारण गर्न पनि हामी सफल भएका छौं,' उनले भनेका छन्। यस एकता कार्यक्रममा सहयोगी भूमिका खेल्ने सबैलाई उनले धन्यवादसमेत दिएका छन्।

त्यसैगरी पूर्व अध्यक्ष इन्द्रबहादुर तामाङले पनि दुई संस्थाबीचको एकतामा खुसी व्यक्त गरेका छन्। 'बुद्धजयन्तीको महान दिन पारेर अमेरिकाको न्यूयोर्कमा क्रियाशील दुई संस्थाहरु तामाङ सोसाइटी अफ अमेरिका र तामाङ समाज अमेरिकाबीच १२ बुँदे सहमतिपत्रमा हस्ताक्षर भई विधिवतरुमा एक हुने कार्यक्रम भव्यताकासाथ सम्पन्न भएकोमा मलाई साह्रै खुसी लागेको छ,' उनले भनेका छन्, 'यो महान कार्य गराउनका लागि अहम् भूमिका निर्वाह गर्नु हुने सबै व्यक्तित्वहरुलाई ह्रदयदेखि हार्दिक आभार प्रकट गर्दछु।'

एकता पछि तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष छेमाङले एकताले समुदायमा रहेको पीडामा मल्हम लगाएको महसुस भएको बताएका छन्। 'मे २६ का दिन हामी अमेरिकामा रहेका तामाङ समुदायको लागि पीडामा मल्हम बनेको महसुस भएको छ। यस गरिममय एकीकृत समाज बनाउन मनवचनदेखि अहोरात्र खट्नु हुने तपाई सम्पूर्ण अग्रज, दाजुभाई, दिदी बहिनी र दुबै समाजका सदस्यहरु र हाम्रो समुदायलाई माया गर्नु हुने सबै महानुभाबहरु लाई हार्दिक नमन भन्न चाहन्छु,' एकतापछि उनले भनेका छन्।

यता दुई संस्थाबीच एकता भए पनि तामाङ समाज अमेरिकाकी महासचिव विनिता तामाङले भने एकताको विरोध गरेकी छन्। उनले तामाङ समाज अमेरिकाका अध्यक्ष सानुमाया तामाङ र उपाध्यक्ष बुद्धिमान तामाङलाई पदबाट बर्खास्त गरेको दाबी गरेकी छिन्। लगत्तै महासचिव तामाङले सन्तबहादुर तामाङको संयोजकत्वमा तामाङ समाज पुनर्गठन भएको बताइकी छन्। पुनर्गठित समाजमा विनिता सदस्य सचिव रहेकी छन्। विनिताले संस्थाको धारा ४१ अनुसार अध्यक्षलाई वर्खास्त गरेको दाबी गरे पनि उक्त धारामा अध्यक्षलाई हटाउनेबारे कुनै व्यवस्था रहेको देखिँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell