PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

संक्रमितका लागि बनेका आइसोलेसन खाली, विरामी चाहिँ घरमै



स्वेच्छा राउत

संक्रमितका लागि बनेका आइसोलेसन खाली, विरामी चाहिँ घरमै

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहरसँगै संक्रमितको संख्या ह्वात्तै बढ्यो भने मृत्युदर उच्च। एकाएक अस्पतालहरूमा शय्यामा अभाव देखियो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालदेखि अन्य सरकारी एवं निजी अस्पतालमा बिरामीलाई बाहिरै राखेर उपचार गरिएको दृश्यहरू सामाजिक सञ्जालदेखि सञ्चारमाध्यम भरि छायो।

स्वास्थ्य अवस्था गम्भीर भएकाहरू आईसीयू र भेन्टिलेटर पाउन मुस्किल भयो। त्यसबाहेक कोरोना संक्रमण पुष्टि भए लगत्तै बेडको माग गर्दै सामाजिक सञ्जालमार्फत् गुहार्ने उत्तिकै।

काठमाडौं, जोरपाटी बस्ने पवन लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भयो। संक्रमण भएर पनि सामान्य लक्षण बाहेक अन्य स्वास्थ्य समस्या नदेखिनु सुखद् विषय थियो। तर, उनका लागि सकसपूर्ण बन्यो डेराको बसाइ।

फ्ल्याटको चार वटामध्ये एउटा कोठामा बस्छन् उनी। चारै कोठामा बस्नेहरूका लागि ट्वाइलेट/बाथरुम चाहिँ एकै। जब उनमा संक्रमण पुष्टि भयो तब घरबेटीदेखि उनको वरपर बस्ने सबैलाई तनाव भयो। वृद्धवृद्धादेखि बालबालिका भएको घरमा संक्रमण फैलने त्रास सबैमा। संक्रमित त्यही घरमा बस्न दिने कि नदिने? निकै छलफल भयो।

अन्तत: पवन साथीको डेरामा गए। जहाँ अट्याच बाथरुम थियो। र, साथी चाहिँ उनको कोठामा बसे। पवनजस्तै सीमित कोठामा बसेकाहरूलाई संक्रमण भए के गर्ने? सबैसँग विकल्प हुने कुरा भएन। त्यसैका लागि स्थानीय स्तरबाट आइसोलेसन बनाउनेक्रम बढ्यो। त्यसैको असर, उपत्यका भित्रका अस्पतालमा चाप पनि घट्यो। 

‘परिवार वा घरमा छुट्टै बस्न नसक्ने। घरबेटी वा छरछिमेकबाट अपहेलित अथवा अन्य कुनै कारण समस्यामा परेका संक्रमितका लागि हामीले आइसोलेसन संचालन गरेका हौं,’ नेपाल इन्जिनियरिङ क्याम्पसका भक्तपुरका प्रशासन प्रमुख मनोहर खनालले भने। क्याम्पसमा संचालित आइसोलेसन व्यवस्थापनको जिम्मेवारी उनैले लिएका छन्। उनले अस्पताल जानुपर्ने स्थिति नभएका संक्रमितहरूका लागि सेवा उपलब्ध भएको जानकारी दिए।

त्यहाँको आइसोलेसनमा एक सय शय्या उपलब्ध छ। जसमध्ये हालसम्म ५० वटा मात्र प्रयोगमा छ। हाल त्यहाँ ६ जना संक्रमित छन्। मतलव अन्य शय्या खाली।

‘अस्पतालमा ठाउँ छैन भन्ने खबर आउँछ। कतिपय मानिस त घरमा अलग्गै बस्ने ठाउँ नभएर वा आत्तिएर पनि अस्पताल पुगेका छन्, स्वास्थ्य सामान्य भए पनि। हो, उहाँहरूका लागि हो हामी महामारी नभनी खटेको,’ खनालले भने।

आइसोलेसनमा स्वास्थ्य परामर्शका लागि चाँगुनारायण अस्पतालका चिकित्सक र स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी हरेक दिन खट्छन्। आपतकालीन परिस्थितिका लागि अक्सिजन सिलिन्डरको समेत व्यवस्था गरिएको छ।

‘हालसम्म आएका बिरामीमध्ये प्राय सबै स्वस्थ भएर फर्किएका छन्। एक जना चाहिँ निकै गम्भीर स्थितिमा ल्याइएको थियो। यहाँ ल्याएको आधा घण्टामा अस्पताल लैजानु पर्‍यो। त्यसको एक घण्टापछि अस्पतालले मृत घोषित,’ खनालले प्रष्ट्याए, 'अवस्था हेरेर अस्पताल लैजाने कि आइसोलेसन त्यसबारे स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्छ।‘

त्यहाँ भक्तपुर बाहेक ललितपुर एवं थानकोटसम्मका संक्रमितले सेवा लिएका छन् यहाँ। उनीहरूका लागि शय्या र खाना खाजाबाहेक अन्य सुरक्षा एवं आवश्यक सामाग्री उपलब्ध गराइएको छ।

क्याम्पस प्रशासन, चाँगुनारायण वडा नम्बर ४ को कार्यालय, एफएनसीसीआइ र स्थानीयको पहलमा बनाइएको आइसोलेसनमा पहिलो लहरदेखि नै संचालनमा आएको हो।

‘जहिलेसम्म महामारीले सताउँछ तबसम्म स्वार्थरहित सेवा दिन्छौं। आम मानिसले हामीलाई विश्वास गरेर आउनु पर्‍यो। कति समस्या अस्पताल पुगेर भन्दा पनि आवश्यक स्नेह र साथले ठीक हुन्छ। हामी त्यही दिइरहेका छौं,’ मनोहरले भने।

यस आइसोलेसनमा सेनाले सुरक्षा दिइरहेको छ।

ललितपुको च्यासलस्थित गुठिघरमा स्थानीयको पहलमा बनेको आइसोलेसन पनि खाली छ अहिले। त्यहाँ पाँच वटा शय्या छ, सबैमा अक्सिजन सपोर्ट छ।

च्यासल मंका खलका अध्यक्ष श्यामदेव ब्यञ्जनकारले अस्पतालमा ठाउँ नभएको खबर फैलिएपछि स्वास्थ्यकर्मीको सल्लाह अनुसार आइसोलेसन स्थापना गरेको बताए। उनका अनुसार यसका लागि खर्च सबै समुदायस्तरबाटै जम्मा गरियो।

उनीहरूले सामान्य अवस्थामा रहेका संक्रमितलाई सेवा दिइरहेका छन्। तर, केही दिनयता त्यहाँको आइसोलेसन खाली छ। श्यामदेवले भने, 'संक्रमित नहुनु राम्रो हो। तर, घरमा ठाउँ भएकै कारण अस्पताल पुग्न नपरोस् भनेर गरेको सुरुवात हो। सेवा दिन तत्पर छौं।‘

काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न ठाउँमा आइसोलेसन बनेका छन्। तिनमा संक्रमितको चाप दिनहुँ घट्दो छ। त्यो चाप अस्पतालहरूमा नसरोस् भन्ने हेतुले विभिन्न समुदाय, संघ संस्थाहरूले आइसोलेसन स्थापना गरिरहेका हुन्।

ललितपुर महानगरपालिका, सुन्दरढोका साथी सेवार ज्यापु समाजको सहकार्यमा निर्माण भएको आइसोलेसन १ सय ५० शय्या क्षमताको भएको जानकारी दिइन् त्यहाँ कार्यरत् निर्मला साउदले। तीन साता अघिदेखि संचालनमा आएको आइसोलेसनमा हालसम्म १ सय २१ जना कोरोना संक्रमितले सेवा लिइसके। हाल भने ३५ जना उपचाररत् छन्। तीमध्ये प्राय अक्सिजन सहायतामा छन्।

सुनाकोटीस्थित युथ फाउन्डेसनको भवनमा र बागडोलस्थित ज्यापु समाजले निर्माण गरेको वृद्धाश्रमको भवनमा निःशुल्क आइसोलेसन सुरु गरेको छ ललितपुर महानगरपालिकाले।

‘यो सामाजिक जिम्मेवारी त हो नै साथै मानवताको हिसाबमा पनि आवश्यक काम हो। त्यसैले संक्रमको जोखिम मोलेरै सेवा गर्न तयारहरू मिलेर काम गरिरहेका छौं,’ साउदले भनिन्।

सुनाकोठीमा पनि महानगरको सहायतामा युथ फाउन्डेसनले ५० शय्यासहित आइसोलेसन सुरु गरेको छ। त्यहाँ डाक्टर र पारामेडिक्सले संक्रमितको अवस्था जाँच गर्छन्। अक्सिजन र आवश्यक औषधि सहितको सेवा सुरु भएको हो।

नेपाली कांग्रेसका नेता गगन थापाको पहलमा काठमाडौं, रातोपुलमा पनि निःशुल्क आइसोलेसन सेन्टर संचालनमा छ। २५ जना संक्रमितलाई एकसाथ सेवा दिनेगरी सुरु भएको सेन्टरका सबै शय्यामा अक्सिजन उपलब्ध छ। पर्याप्त ठाउँ भएकाले आवश्यकता हेरी संक्रमितलाई सेवा दिइरहेका छन् उनीहरूले।

सेन्टरमा ४ जना मेडिकल अफिसर, ६ जना नर्स, २ एचए, एकएक जना ल्याब टेक्निसियन र रेडियोग्राफर, ४ जना सहायक कर्मचारी सेवामा खटिएका छन्।

‘हामीले सामान्य अवस्थादेखि अक्सिजन लेभल कम भएका संक्रमितहरूलाई सेवा दिन्छौं। सेकेन्डरी लेभलको अस्पताल सरह छ,’ व्यवस्थापक दीपेश तामाङले बताए।

अस्पतालको सेवा स्वास्थ्यस्थिति बिग्रिएका एवं गम्भीर अवस्थामा रहेकाहरू केन्द्रित होस्, त्यहाँको चाप कम होस् र हरेक संक्रमितले तनावबिना संक्रमणमुक्त हुने अवस्था सिर्जना गर्न केन्द्रको सुरुवात गरेको तामाङको दावी छ।

’यो सामाजिक उत्तरदायित्व अन्तर्गत् सुरु भएको सेवा हो। यसलाई हामी आवश्यकता अनुरुप बिस्तार गर्दै लैजान्छौं,' उनले भने।

त्यस्तै, काठमाडौं महानगरपालिका वडा नं ९ तिलगंगास्थित शारदा माविमा पनि संक्रमितहरुका लागि आइसोलेसन सेन्टर संचालन भइरहेको छ। सेन्टरका संयोजक सन्तोष नेपाललले  असहज अवस्थामा पनि होम आइसोलेसन मै बस्नेहरूलाई लक्षित गरी सेन्टर संचालन गरिएको बताए। स्थानीय युवा समूहहरुले मिलेर पहिला १५ शय्याबाट सुरु भएको सेन्टर अहिले ४० शय्याको बनेको छ। सेन्टर निर्माणमा काठमाडौं महानगरपालिकाको प्राविधिक सहयोग रहेको छ। 

'सामुदायिक स्तरका आइसोलेसन आजको आवश्यकता हो। किनकि सबैको घरमा आइसोलेट हुने वातावरण हुँदैन। अप्ठ्यारो परिस्थितिको सामना गर्दै अस्पताल धाउनेको संख्या बढेपछि हामीले पनि आइसोलेसन बिस्तारमा जोड दिएका छौं,' गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले भने।

गोकर्णेश्वर नगरपालिका ४ स्थित राष्ट्रिय शहीद तथा शान्ति पार्क (जगडोल) मा डाक्टर, अक्सिजन सहायता र एम्बुलेन्स सेवासहितको आइसोलेसन केन्द्र स्थापना भएको छ। २५ शय्यासहितको केन्द्रमा परामर्श र थेरापीहरू पनि दिइने चालिसेको दावी छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell