PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बजेट अधिवेशनको तयारीमा प्रदेश २ सरकार, जसपाको किचलोले चालु अधिवेशन प्रभावित : छलफल नगरिएकोमा सांसदहरु रुष्ट



सुमित मिश्र

बजेट अधिवेशनको तयारीमा प्रदेश २ सरकार, जसपाको किचलोले चालु अधिवेशन प्रभावित : छलफल नगरिएकोमा सांसदहरु रुष्ट

जनकपुरधाम : संघ सरकारले शनिवार आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याएसंगै प्रदेश सरकारहरु समेत बजेट ल्याउने तयारी थालिसकेको छ। प्रदेश २ सरकारसमेत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारीमा लागि परेको छ। यद्यपि अहिलेसम्म प्रदेश सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न सकेको छैन। हुन त प्रदेश सरकारले असार १५ गतेभित्र प्रदेशको बजेट ल्याउने संवैधानिक व्यवस्था रहेकाले पर्याप्त समय रहेको भन्दै नीति तथा कार्यक्रम ल्याउनुका साथै बजेट ल्याउने तयारी भइरहेको दाबी गरेको छ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले मन्त्रीपरिषदको बैठक बसेर चालु अधिवेशन अन्त्य गरी बजेट अधिवेशन आह्वान गर्ने तयारी भईरहेको बताए। उनले भने, ‘सोमबार सम्भवत् मन्त्रिपरिषदको बैठक बस्छ, चालु अधिवेशन अन्त्य गरेर बजेट अधिवेशन आह्वान गरिने छ।’ उनले यस पालीको बजेटमा स्वास्थ्यलाई विशेष प्राथमिक्ता दिनेसमेत बताए।

प्रदेशसभाको बैठक बस्न नसक्दा आउने नीति तथा कार्यक्रम र बजेटको विषयमा कुनै जानकारी नरहेको भन्दै प्रदेशसभा सदस्यहरुले समेत प्रदेश सरकारको आलोचना गरेका छन्। बाध्यात्मक स्थितिमा गत चैत ३० गते बसेको बैठक वैशाख १० गतेपछि फेरी बस्न सकेन। प्रदेशसभाका कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएपछि प्रदेशसभाको पाँचौ अधिवेशनको बैठकहरु अनिश्चितकालका लागि स्थगित गरिएको थियो।

प्रदेशसभा सदस्य मञ्जु यादवले प्रदेशसभाका कोरोना संक्रमित कर्मचारी निको भएर घर फर्केको कयौँ दिन भईसकेको छ तर जसपाभित्रको आन्तरिक किचलोका कारण प्रदेशसभाको बैठकसमेत अन्यौलतामा पुगेको बताइन्। उनले भनिन् ‘जसपाको आन्तरिक किचलोका कारण प्रदेशसभा बैठक बस्न दिइएको छैन, जबकि नीति तथा कार्यक्रम, बजेट, विभिन्न महत्वपूर्ण प्रस्तावमाथि छलफल गर्नुपर्ने छ। फेरि हतार हतारमा निति तथा कार्यक्रम ल्याइने छ, बिना छलफल ल्याइएका निति तथा कार्यक्रमले कसैको भलो गर्दैन।’

उनले हामीलाई अझै पनि नीति तथा कार्यक्रममा कस्ता कस्ता विषयहरु समेटिनु पर्ने हो भन्ने सुझावका लागि नबोलाइनु दुःखद भएको बताइन्।

अर्का प्रदेशसभा सदस्य सुरिता साहले नीति तथा कार्यक्रम ल्याउनु अघि गरिने छलफलमा सामेल नगराइएकोमा आपत्ति जनाएकी छिन्। उनले भनिन्, ‘जस्तो सुकै विषय परस्थिति होस नीति तथा कार्यक्रम ल्याउने पर्छ, तर न अहिलेसम्म यस विषयमा हामीलाई जानकारी गराइएको छ न त छलफलमा शामिल नै गराइएको छ।’ प्रदेशको हितमा केन्द्रित रहेर नीति तथा कार्यक्रम ल्याउन बढीभन्दा बढी प्रदेशसभा सदस्यहरुसंग भर्चुअल नै भए पनि छलफल हुनु आवश्यक रहेको प्रदेशसभा सदस्य साहको भनाई छ।

नीति तथा कार्यक्रम तयार पार्न नीति तथा योजना आयोग छलफलमा व्यस्त

प्रदेश सरकारले बजेट अधिवेशनको आह्वान गर्ने तयारी गरिरहँदा प्रदेश नीति तथा योजना आयोगले नीति तथा कार्यक्रम तयार पार्नका लागि छलफललाई तीव्रता दिएको छ। प्रदेश सरकारको प्रवक्ता एवं आन्तरिक मामिला यादवले जेठको अन्तिम साता प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत हुने जानकारी दिए।

यता प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झाले नीति तथा कार्यक्रम तयार पार्न विभिन्न दल तथा मन्त्रीहरुसँगको छलफललाई तीव्रता दिइएको बताए। अहिले महामारीको समयमा बढीभन्दा बढी प्रदेशसभा सदस्यहरुसँग छलफल गर्नु सम्भव नरहेकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको नेता तथा मन्त्रीहरुसंग छलफल गरेर उत्कृष्ट नीति तथा कार्यक्रम ल्याउने प्रयासमा रहेको उनको भनाई छ।

नीति तथा योजना आयोगका उपाध्यक्ष झाका अनुसार सबै मन्त्रालयहरुले आ–आफ्ना कार्यक्रमहरु आयोगमा पठाइ सकेको र ती सबैलाई कम्पाइल गरेर तयार पार्ने काम भईरहेको छ। उनले भने, ‘मन्त्रालयहरुले आफ्नो कार्यक्रमहरु पठाई सकेको छ, दलका नेताहरुसंग समेत छलफल भई सकेको छ अब हामी यसलाई अन्तिम रुप दिनमा लागेका छौँ।’

यस पटकको नLति तथा कार्यक्रम स्वास्थ्य क्षेत्रमा बढी केन्द्रित हुनुका साथै, कृषि, रोजगार सिर्जना, शिक्षामा मुख्य रुपमा केन्द्रित रह्ने उनले बताए।

नेपाली कांग्रेस प्रदेश २ को संसदीय दलका नेता रामसरोज यादवले आगामी नीति तथा कार्यक्रमका लागि आफूसँग छलफल गरिएको जानकारी दिँदै यस पटकको नीति तथा कार्यक्रम उत्पादनमुखी हुनु पर्नेमा जोड दिए। उनले भने, ‘पछिल्लो वर्षको नीति तथा कार्यक्रम र बजेट वितरणमुखी रहेको थियो तर यस पटक त्यो दोहरिदैन भन्ने अपेक्षा गरेको छु र सल्लाह सुझावसमेत दिएको छु।’

माओवादी केन्द्र संसदीय दलका नेता भरतपप्रसाद साहलेसमेत आउने नीति तथा कार्यक्रम र बजेट कोभिड रोकथाम तथा नियन्त्रण र त्यसबाट उत्पन्न प्रतिकुल असरको निर्मूल गर्नतर्फ केन्द्रित हुनु पर्नेमा जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell