PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

निषेधाज्ञामा महाभारतको अध्ययन गर्दै अमर न्यौपाने, नयाँ पुस्तक पनि लेख्दै



निषेधाज्ञामा महाभारतको अध्ययन गर्दै अमर न्यौपाने, नयाँ पुस्तक पनि लेख्दै
फाइल फोटो : सम्पूर्ण किताब नारायणगढ

काठमाडौं : कोरोना संक्रमणको 'चेन ब्रेक' गर्न लागू गरिएको निषेधाज्ञाका कारण नागरिकहरु घर भित्रै थुनिएका छन्। यो समयलाई उपयोगी बनाउन मानिसहरु विभिन्न गतिविधिमा संलग्न भइरहेका छन्। लेखक अमर न्यौपानेको दैनिकी भने पुस्तक पढ्दै बितिरहेको छ।

 ‘महाभारत’सँग सम्बन्धित र पुर्नलेखन गरेका किताबहरु पढ्दै उनको निषेधाज्ञा कटिरहेको छ।  पहिलै पढिसकेका र नयाँ पुस्तकहरुको विवेचनामा व्यस्त छन् उनी। महाभारत रहस्यले भरिएको किताब भएकोले जति पढेपनि पढ्न नसकिने पुस्तक रहेको उनले बताए।

‘महाभारत जति पढ्यो त्यती नयाँ नयाँ रहस्यहरु खुल्दै जाने रहेछन्। त्यो भित्रका सानो सानो पात्रहरु पनि महत्वपुर्ण लाग्ने रहेछन्’ उनले सुनाए।

बाल्यकालमा महाभारतलाई 'हल्का' रुपमा लिने उनी अहिले त्यसबाट नयाँ ज्ञानहरु आर्जन गरिरहेका छन्।

भन्छन् ‘पहिले पढ्दा जस्तो पाउँथे। अहिले अर्कै पाइरहेको छु। आफ्नो किसिमले विश्लेषण गर्ने मौका पाइरहेको छु। मेरा कतिपय धारणाहरु परिवर्तन भइरहेका छन्।’

हाल कोरोना संक्रमणको बेला आफन्त र साथीहरुको मृत्युको खबरले निकै दु:खी बनाएको छ उनलाई। त्यसैले पनि उनलाई महाभारत र गीता पढ्न मन लागेको हो। देवत्वलाई हटाएर हेर्दा महाभारत र गीता एकदमै महान ग्रन्थ लाग्छ उनलाई।

‘गीतामा मृत्युलाई लिने तरिका छ', उनले भने ‘जसरी शरीरले कपडा फेर्दछ। त्यसरी नै आत्माले शरीर फेर्छ। नयाँ कपडा लगाउँदा जसरी शरीर खुसी हुन्छ। त्यसरी नै आत्मा पनि नयाँ शरीर गहण गर्दा खुसी हुन्छ। यी कुराहरु गीतामा छन् जसले आध्यात्मिक आनन्द दिन्छ। मनलाई शान्ती मिल्छ।’

महाभारतसँग सम्बन्धित पुस्तक अध्ययन सागै उनी नयाँ किताब समेत लेखिरहेका छन्।

भने, ‘एउटा किताब लेखेर सेमी फाइनल हुन लागेको छ। कोभिडपछिको अवस्था सामान्य भएपछि बजारमा ल्याउने सोच रहेको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell