PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मोदी 'साब'लाई कश्मीरकी ६ वर्षीया बालिकाले गरिन् कम्प्लेन : किन यति धेरै होमवर्क?, अनि जारी भयो निर्देशिका



मोदी 'साब'लाई कश्मीरकी ६ वर्षीया बालिकाले गरिन् कम्प्लेन : किन यति धेरै होमवर्क?, अनि जारी भयो निर्देशिका

मानिसहरु कोभिड १९ महामारीका कारण घरभित्रै थुनिएका छन्। लकडाउनका कारण धेरैको दिनचर्या फेरिएको छ। मिल्नेसम्म कामहरु अनलाइनबाटै गर्ने 'ट्रेन्ड' विश्वभर नै चलिरहेको छ। त्यस्तै, कोरोना कहर अघि खासै मतलब नगरिएको अनलाइन शिक्षा अहिले 'मेनस्ट्रीम' बनेको छ। प्राथमिक कक्षादेखि देखि विश्वविद्यालय तहसम्म कै कक्षाहरु अनलाइनको भरमा संचालित छन्।

भारत अहिले कोरोना भाइरसको संक्रमणका कारण सबैभन्दा धेरै प्रभावित छ। जसकारण विद्यालयहरु बन्द छन्। कतिपय राज्यमा त भौतिक रुपमा कक्षा सुरु नभएको दुई वर्ष हुन लाग्यो। संक्रमण नियन्त्रणमा आउने अवस्था अझै नहुँदा विद्यालय कहिले खुल्छ भन्ने यकिन छैन। लाखौं विद्यार्थीले अनलाइनबाट शिक्षा लिइरहँदा जम्मू कश्मीरकी एकजना ६ वर्षीया बालिका अनलाइनको पढाइबाट सन्तुष्ट छैनन्।

ती छात्राले केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै एउटा भिडियो सार्वजनिक गरिन्। जसमा उनले अनलाइन कक्षामा आफूले भोगेको समस्या बताएकी छिन्। 'होमवर्क'को बोझ बढी भएको देखि धेरैसमय अनलाइनमा बस्न कठिन भएको 'कम्प्लेन' उनले प्रधानमन्त्री मोदीलाई गरिन्। १ मिनेट ११ सेकेन्डको उक्त भिडियोमा अनलाइन कक्षाको अवधि लामो भएको र होमवर्क अत्याधिक भएको उनले उल्लेख गरेकी छिन्।

‘अस्सलाम वालेकुम मोदी साब। म एउटी बालिका बोल्दैछु। म ६ वर्षकी छु। म जुम कक्षाको बारेमा छोटो केही भन्नेछु। ६ वर्षका जो साना बच्चा हुन्छन् उनीहरुलाई म्याडम र टीचरले किन धेरै बेर राख्छन्? (अनलाइन कक्षामा) किन राख्छन्? यति धेरै काम हुन्छ,’ उनले भिडियोमा भनेकी छिन्, ‘म बिहान उठेर १० बजेबाट कक्षा थाल्छु। २ बजेसम्म हुन्छ कक्षा। एउटा हुन्छ इङ्ग्लिस, त्यसपछि म्याथ, त्यसपछि इभिएस र त्यसपछि कम्प्युटर। यतिधेरै काम ठूलाहरुले बच्चालाई दिन्छन्। जो ६/७/१० वर्षका हुन्छन्। साना बच्चालाई यतिधेरै काम किन दिन्छन् मोदी साब?  अब के गर्ने? अस्सलाम वालेकुम  मोदी साब, गुड बाइ।’

भारतीय प्रधानमन्त्री मोदीलाई कम्प्लेन गर्ने छात्रा हुन् माहिरा इर्फान। इर्फानका अभिभावकले उनलाई एउटै शर्तमा मोबाइल फोन दिएका थिए - की उनी त्यसको प्रयोग अनलाइन कक्षाका लागि मात्र गर्नेछिन्। तर, केहीदिन अघि विद्यालयको 'वर्क लोड'ले हैरान भएकी उनले प्रधानमन्त्रीलाई नै आफ्नो समस्या सुनाउने सोचिन्। उनले छोटो भिडियोमा आफ्ना समस्या बताउँदै प्रश्न तेर्साइन्: किन यति धेरै होमवर्क ?

उनका पिताले त्यो भिडियो ह्वाट्सएपमार्फत आफ्ना साथीहरुलाई पनि पठाए। करिब दुई हप्ता अघि।

उनको भिडियोलाई पत्रकार औरङजेव नक्विसबन्दीले ट्वीटरमा शेयर गरेका थिए। उनको क्याप्सन थियो : ६ वर्षे कश्मीरी बालिकाको प्रधानमन्त्री मोदीलाई कम्प्लेन। जुन भिडियो पछि निकै भाइरल बन्यो।

इन्डिया टूडेले माहिरासँग सम्पर्क गरेर सोधेको थियो किन यो भिडियो बनाएको?

 माहिराको जवाफ थियो: मैले यो भिडियो बनाएँ किनभने मेरो साह्रै धेरै होमवर्क थियो र कक्षाहरु पनि धेरै लामो थिए।

कश्मीरमा पछिल्लो वर्षदेखि नै कक्षाहरु 'डिस्टर्ब' हुँदा उनले कमैमात्र भौतिक कक्षाको अनुभव गरेकी छिन्। जम्मू कश्मीरलाई केन्द्र अन्तर्गत ल्याइएपछि बनेको माहोल र त्यो राम्ररी साम्य हुन नपाउँदै भित्रिएको कोभिड १९ महामारीका कारण उनी विद्यालय गएकी छैनन्। र, भर्चुअल विधिबाट सिकाइ गरिरहेकी छिन्।

अनि जारी भयो गाइडलाइन

उनको भिडियो भाइरल भएको ४८ घण्टा नबित्दै जम्मू कश्मिरका लेफ्टिन्टेन्ट गभर्नर मनोज सिन्हाले अनलाइन कक्षालाई लिएर गाइडलाइन ल्याएका छन्। जस अनुसार प्रि प्राइमेरीका विद्यार्थीलाई आधा घन्टा र प्राइमेरीका विद्यार्थीलाई ९० मिनेटको मात्र कक्षा लिन पाउने व्यवस्था निर्देशिकामा गरिएको छ।

‘स्कुल एजुकेशन विभागले दैनिक अनलाइन कक्षा सञ्चालनमा सीमा तोक्ने निर्णय गरेको छ ।जसमा कक्षा १ देखि ८ सम्मका लागि एक घण्टा ३० मिनेटको कक्षा दुई सेसनमा गरेर सञ्चालन गराउनु पर्नेछ। त्यस्तै कक्षा ९ देखि १२ सम्मको कक्षा लगातार ३ घण्टाभन्दा लामो हुनुहुने छैन।’ लेफ्टिनेन्ट गभर्नर सिन्हाले अफिसियल ट्वीटर ह्याण्डलमा भनेका छन्।

त्यस्तै उनले प्रिप्राइमेरी लेभलका लागि बढीमा ३० मिनेटको मात्र कक्षा राख्न र कक्षा ५ सम्म होमवर्क नदिन निर्देशन दिएको जनाएका छन्।

‘सम्बन्धित निकायहरुले कडाइका साथ यो कार्यान्वयन गराउनु। कक्षा ५ सम्म गृहकार्य नदिइयोस्। सम्बन्धित निकाय र अभिभावकले आनन्दमय सिकाइका लागि योजना बनाउन आवश्यक देखिन्छ’ उनले अर्को ट्वीटमा भनेका छन्।

उनले विद्यार्थीहरुलाई खेल्न र अभिभावकसँग अन्तरक्रिया गराउन आग्रह गर्दै भनेका छन्:  यो नै बच्चाको लागि सबैभन्दा राम्रो सिकाइ अवसर हो।

त्यस्तै, नयाँ गाइडलाइनमा कक्षा १ र २ का शिक्षकलाई ‘जोएफूल लर्निङ’ का लागि योजना बनाउन भनिएको छ।

‘योग्यता बढाउनका लागि उनीहरुको दैनिक जीवनको अनुभव बाँड्न गर्न लगाउन आवश्यक छ। विद्यार्थीहरुलाई इन्ट्रेस्टिङ कामहरु दिने जस्तैकी कथाहरु सुन्ने, पढ्ने र त्यसपछि निष्कर्ष निकाल्ने। त्यस्तै अन्त्यमा क्लाइमेक्स जोड्ने या बदल्ने, चित्र पढाउने, कला, शिल्प, पजल, सरल अवलोकन परियोजनाहरु, नयाँ शब्द सिक्ने आदी,’ स्कुल एजुकेन डिपर्टेमेन्टका प्रिन्सिपल सेक्रेटरी बिके सिंहले जारी गरेको गाइडलाइन्समा भनिएको छ।

त्यस्तै, शिक्षकहरुलाई विद्यार्थी र अभिभावकसँगै भिडियो कन्फ्ररेन्स गराएर उनीहरुको अनुभव सुनाउन लगाउन पनि गाइडलाइन्समा भनिएको छ।

सिनियर लेभलका विद्यार्थीका लागि पनि दुईवटा कक्षाको बीचको समयमा १०/१५ मिनेटको समय फ्रेस हुन दिने र अर्को कक्षामा केन्द्रित हुनका लागि अवसर दिन गाइडलाइन्समा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell