PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

एक अर्कालाई कारवाही गरेका महन्थ र उपेन्द्रलाई निर्वाचन आयोगको जवाफी पत्र : ‘ढाँचा मिलाएर आउनुस्’



एक अर्कालाई कारवाही गरेका महन्थ र उपेन्द्रलाई निर्वाचन आयोगको जवाफी पत्र : ‘ढाँचा मिलाएर आउनुस्’

काठमाडौं : निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवलाई जवाफी पत्र पठाएको छ।

मंगलवार ठाकुर र यादवले एक अर्कालाई कारवाही गरेको पत्र आयोगमा पठाउँदै नाम रेकर्डबाट हटाएर अध्यावधिक गर्न दाबी पेश गरेका थिए।

यसको जवाफमा बुधवार आयोगले ढाँचा नमिलेको भन्दै दुवै अध्यक्षलाई पत्र पठाएको हो।

‘दुवै पक्षलाई आज आयोगबाट पत्र पठाइएको छ,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने, ‘एउटा त अनुसूची १८ बमोजिमको ढाँचामा दाबी पेश गर्न दुवै पक्षलाई भनिएको छ। अर्को महन्थ ठाकुर पक्षलाई केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीको हस्ताक्षरसहितको प्रतिलिपी पेश गर्न भनेका छौं।’

राजनीतिक दल सम्बन्धी नियमावलीको अनुसूची १८ बमोजिम व्यहोरा पेश गर्न आयोगले पत्र पठाएको हो। ‘पत्रमा अस्पष्टता भयो। थप पुस्ट्याईका लागि ढाँचामा आउनुस् भनिएको हो,’ श्रेष्ठले भने।

राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ मा अनुसूची–१८ दलको विवरण हेरफेर भएको निवेदनको ढाँचा छ।

जसपा अध्यक्ष यादव समूहले महन्थसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी विधान र राजनीतिक दल सम्बन्धी ऐनअन्तर्गत पार्टीबाट निष्काशन गरेको छ भने अध्यक्ष ठाकुर पक्षले त्यसको काउन्टरमा उपेन्द्रलाई कारवाही गरेको छ। कसको कारवाही वैध भन्ने विवादको निरुपण अब निर्वाचन आयोगले गर्ने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell