हजारौ मानिसहरु कोभिड महामारीका कारण घरभित्रै थुनिएका छन्। मानिसको दैनिकी फेरिएको छ। मिल्नेसम्म कामहरु अनलाइनबाटै गर्ने ट्रेन्ड विश्वभर नै चलिरहेको छ। त्यस्तै शिक्षा क्षेत्रमा पनि कोभिडअघि खासै मतलब नगरिएको अनलाइन शिक्षा अहिले मेनस्ट्रीम बनेको छ। सबैभन्दा तल्लो कक्षादेखि युनिभर्सिटी लेभलसम्मै अनलाइन कक्षा चलिरहेको छ।
लाखौ विद्यार्थीले अनलाइनबाट शिक्षा लिइरहँदा जम्मुकश्मिरकी एकजना ६ वर्षे बालिका अनलाइनको पढाइबाट सन्तुष्ट छैनन्। उनले केही दिनअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै एउटा भिडियो सार्वजनिक गरिन् जसमा उनले होमवर्कको बोझ बढी भएको देखि धेरैसमय अनलाइनमा बस्न कठिन भएको सम्मका कम्प्लेन गरेकी छन्।
४५ सेकेन्डको उक्त भिडियोमा अनलाइन कक्षाको अवधि लामो भएको र होमवर्क अत्याधिक भएको उनले उल्लेख गरेकी छिन्।
‘असल्लामालिकम् मोदी साब। म एउटी केटी बोल्दैछु। म छ वर्षकी छु। म जुम कक्षाको बारेमा छोटो केही भन्नेछु। छ वर्षका जो साना बच्चा हुन्छन् उनीहरुलाई म्याडम र टिचरले किन धेरै बेर राख्छन्? (अनलाइन कक्षामा) किन राख्छन्? यति धेरै काम हुन्छ,’ उनले भिडियोमा भनेकी छिन्, ‘म बिहान उठेर १० बजेबाट कक्षा थाल्छु। २ बजेसम्म हुन्छ कक्षा। एउटा हुन्छ इङ्ग्लिस, त्यसपछि म्याथ, त्यसपछि इभिएस र त्यसपछि कम्प्युटर। यति धेरै काम ठूलाहरुले बच्चालाई दिन्छन्। जो ६/७/१० वर्षका हुन्छन्। साना बच्चालाई यतिधेरै काम किन दिन्छन् मोदी साब? अब के गर्ने? असल्लामालिकम मोदी साब।’
उनी हुन् माहिरा इर्फान। इर्फानका अभिभावकले उनलाई एउटै शर्तमा मोबाइल फोन दिएका थिएकी उनी त्यसको प्रयोग अनलाइन कक्षाका लागि मात्र गर्नेछिन्। केहीदिन अघि स्कुलको वर्क लोडले हैरान भएकी उनले प्रधानमन्त्रीलाई आफ्नो समस्या सुनाउने सोचिन्। उनले छोटो भिडियोमा आफ्ना समस्या उल्लेख गर्दै सोधेको पेचिलो प्रश्न हो : किन यति धेरै होमवर्क?
उनका बुवाले त्यो भिडियो ह्वाट्सएपमार्फत आफ्ना साथीहरुलाई पनि पठाए। लगभग दुई हप्ताअघि।
उनको भिडियोलाई पत्रकार औरङजेव नक्विसबन्दीले ट्वीट गरेका थिए। उनको क्याप्सन थियो: ६ वर्षे कश्मिरी केटीको प्रधानमन्त्री मोदीलाई कम्प्लेन।
इन्डिया टूडेले माहिरासँग सम्पर्क गरेर सोधेको थियो किन यो भिडियो बनाएको? उनको जवाफ थियो: मैले यो भिडियो बनाएँ किनभने मेरै साह्रै धेरै होमवर्क थियो र कक्षाहरु पनि धेरै लामा थिए।
कश्मिरमा पछिल्लो वर्षदेखि नै कक्षाहरु डिस्टर्ब हुँदा उनले कमैमात्र भौतिक कक्षाको अनुभव गरेकी छिन्। कश्मिरमा पहिला त आर्टिकल ३७० पछि बनेको माहोलले र त्यो राम्ररी साम्य हुन नपाउँदै भित्रिएको कोभिड महामारीका कारण उनी स्कुल गएकी छैनन्। र, भर्चुअल विधिबाट सिकाइ गरिरहेकी छिन्।
त्यसपछि भिडियो राष्ट्रियस्तरमा फैलियो।
अनि जारी भयो गाइडलाइन
उनको भिडियो भाइरल भएको ४८ घण्टा नबित्दै जम्मु एण्ड कश्मिरका लेफ्टिन्टेन्ट गभर्नर मनोज सिन्हाले अनलाइन कक्षालाई लिएर गाइडलाइन ल्याएका छन्। नयाँ गाइडलाइन्सअनुसार प्रि प्राइमेरीका बच्चालाई आधा घन्टा र प्राइमेरीका बच्चालाई ९० मिनेटको मात्र दिनको कक्षा लिन पाउने गरी गाइडलाइन जारी गरिएको छ।
‘स्कुल एजुकेसन विभागले दैनिक अनलाइन कक्षा सञ्चालनमा सीमा तोक्ने निर्णय गरेको छ जसमा कक्षा १ देखि ८ सम्मका लागि एक घण्टा ३० मिनेटको कक्षा दुई सेसनमा गरेर सञ्चालन गराउनु पर्नेछ। त्यस्तै कक्षा ९ देखि १२ सम्मको कक्षा लगातार ३ घण्टाभन्दा लामो हुनुहुने छैन,’ लेफ्टिनेन्ट गभर्नर सिन्हाले अफिसियल ट्वीटर ह्याण्डलमा भनेका छन्।
त्यस्तै उनले प्रिप्राइमेरी लेभलका लागि बढीमा ३० मिनेटको मात्र कक्षा राख्न र कक्षा ५ सम्म होमवर्क असाइन नगर्न निर्देशन दिएको जनाएका छन्।
‘सम्बन्धित निकायहरुले कडाइका साथ यो कार्यन्वयन गराउन्। कक्षा ५ सम्म गृहकार्य नदिइयोस। सम्बन्धित निकाय र अभिभावकले आनन्दमय सिकाइका लागि योजना बनाउन आवश्यक देखिन्छ।’ उनले अर्को ट्वीटमा भनेका छन्।
उनले विद्यार्थीहरुलाई खेल्न र अभिभावकसँग अन्तरक्रिया गराउन आग्रह गर्दै भनेका छन्: यो नै बच्चाको लागि सबैभन्दा राम्रो सिकाइ अवसर हो।
त्यस्तै नयाँ गाइडलाइनमा कक्षा १ र २ का शिक्षकलाई ‘जोएफूल लर्निङ’ का लागि योजना बनाउन भनिएको छ।
‘योग्यता बढाउनका लागि उनीहरुको दैनिक जीवनको अनुवभ शेयर गर्न लगाउन आवश्यक छ। बच्चाहरुलाई इन्ट्रेस्टिङ कामहरु दिने जस्तैकी कथाहरु सुन्ने, पढ्ने र त्यसपछि निश्कर्ष निकाल्ने। त्यस्तै अन्त्यमा क्लाइमेक्स जोड्ने या बदल्ने, चित्र पढाउने, कला, शिल्प, पजल, सरल अवलोकन परियोजनाहरु, नयाँ शब्द सिक्ने आदी,’ स्कुल एजुकेन डिपर्टेमेन्टका प्रिन्सिपल सेक्रेटरी बिके सिंहले जारी गरेको गाइडलाइन्समा भनिएको छ।
त्यस्तै शिक्षकहरुलाई बच्चा र अभिभावकसँगै भिडियो कन्फ्रेन्स गराएर उनीहरुको अनुभव सुनाउन लगाउन पनि गाइडलाइन्समा भनिएको छ।
त्यस्तै सिनियर लेभलका विद्यार्थीका लागि पनि दुईवटा कक्षाको बीचको समयमा १०/१५ मिनेटको समय फ्रेस हुन दिने र अर्को कक्षामा केन्द्रीत हुनका लागि अवसर दिन गाइडलाइन्समा भनिएको छ।