PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बजेट अधिवेशन अघि नै प्रदेश २ मा सरकार परिवर्तन गर्न ध्रुवीकरण तीव्र, जसपा र कांग्रेसको मुख्यमन्त्रीमा दाबी



सुमित मिश्र

बजेट अधिवेशन अघि नै प्रदेश २ मा सरकार परिवर्तन गर्न ध्रुवीकरण तीव्र, जसपा र कांग्रेसको मुख्यमन्त्रीमा दाबी

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) राजनीतिक रुपमा विभाजित भइसकेको छ। महन्थ ठाकुर - राजेन्द्र महतोको समूह र उपेन्द्र यादव- बाबुराम भट्टराईबिच विवाद बढ्दै जाँदा औपचारिक रुपमा मात्रै पार्टी फुटको घोषणा हुन बाँकी छ।

केन्द्रमा देखिएको मतभेदले प्रदेशको समीकरणसमेत प्रभावित बनेको छ। महन्थ समूहका नेताहरु एकातिर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सहभागी हुने तयारीमा छन् भने अर्कातिर प्रदेश २ सरकार परिवर्तन गर्ने प्रयासमा पनि छन्। प्रदेशमा समेत केन्द्रको छायापर्दा उपेन्द्र बाबुराम समूहबाट मुख्यमन्त्री रहेका लालबाबु राउतको सरकार पुनर्गठन हुनसक्ने सम्भावना बढेको छ। ठाकुर पक्षभने आफ्नो नेतृत्वमा सरकार बनाउन लागेको छ। प्रदेशमा कोरोना संक्रमणको अवस्था भयावह हुँदै गर्दा अहिले संक्रमण नियन्त्रण भन्दा सत्ता बचाउन नेताहरु दिनरात प्रयासरत छन्।

असार १ गते प्रदेश सरकारले बजेट वक्तव्य सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधानका अनुसार यही जेठ २४ गते प्रदेश सभाको बजेट अधिवेशन बोलाइएको छ। बजेट अधिवेशनका क्रममा प्रदेश प्रमुख डा. राजेश झाले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्नुभन्दा पहिले नै सरकार पुनर्गठनको तयारी थालिएको स्रोतको दाबी छ।

साविकमा समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको गठबन्धनले प्रदेशमा सरकार बनाएको थियो। सपाका संसदीय दलका नेता राउत मुख्यमन्त्री बनेका थिए। १३ महिनाअघि दुवै पार्टी मिलेर जसपा बनेपछि प्रदेशमा राउत नेतृत्वको सरकार 'एकल सरकार'को रुपमा परिणत भएको थियो। तर, अहिले जसपा नै विभाजित हुन लाग्दा सरकार फेर्नका लागि राजनीतिक ध्रुवीकरण तीव्र भएको छ।

मुख्यमन्त्री राउतले आफ्नै नेतृत्वमा कांग्रेस, एमालेको माधव नेपाल पक्ष र माओवादी समेतको सरकार बनाउनका लागि दलका नेता तथा सांसदहरूसँग भेटघाट गरिरहेका छन्।

ठाकुर पक्षका जीतेन्द्र सोनल पनि आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउनका लबिङमा छन्। सोनलको सचिवालय स्रोतका अनुसार अहिले उनी विभिन्न दलका नेता तथा सांसदहरूसँग आफूलाई मुख्यमन्त्री बनाउने विषयमा छलफलमा व्यस्त छन्। सोनलले नेपाली कांग्रेस, एमालेको संस्थापन समूहसहित पूर्व राजपा खेमाका सांसदहरूसँग छलफलमा बढाएका छन्।

कांग्रेसको आफ्नै 'मुड'

प्रदेशमा दुवै नेताले अहिले सत्ता समीकरणका लागि निर्णायक देखिएको नेपाली कांग्रेसलाई फकाउन थालेका छन्। तर कांग्रेस भने आफ्नै नेतृत्वमा सरकार बनाउनेलाई सहयोग गर्ने 'मुड' मा देखिएको छ।

नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले भने,‘ सत्ता सहकार्यको कुरामा राउत वा सोनललाई नै मुख्यमन्त्री मान्नुपर्ने बाध्यता छैन। कांग्रेसलाई जसले मुख्यमन्त्री दिन्छ उसलाइ नै हामी समर्थन गर्छौ।’

यादवले सत्ता समीकरणका लागि बुधवार जितेन्द्र सोनलले आफसँग भेटेर आफ्नो नेतृत्वको सरकारमा आएर सहयोग गर्न प्रस्ताव गरेको बताए। यस्तै, बिहीवार बिहान ‍मुख्यमन्त्री राउतले पनि सरकारलाई सहयोग गर्न आग्रह गरेको उनले बताए। भेटका क्रममा राउतले केन्द्रमा कांग्रेस, माओवादी र उपेन्द्र यादव पक्षको समीकरण बनेकाले प्रदेशमा पनि त्यसलाई निरन्तरता दिन प्रस्ताव राखेको यादवले बताए।

यादवले सरकारलाई सहयोग गर्ने विषयमा पार्टीमा सल्लाह गरेर मात्र निर्णय लिने भनेर राउत र सोनललाई जवाफ दिएका छन्।

‘जसपा पार्टी औपचारिक रुपमा फुटेकै छैन। तर राउत र सोनलजी दुवैले सरकारका लागि सहयोग मागिरहनुभएको छ। हामीले पनि आफ्नो पार्टीको हित हेरेर निर्णय लिन्छौं’ उनले भने।

केन्द्रमा जस्तोसुकै समीकरण भएपनि प्रदेशमा समीकरण गर्दा प्रदेशको हितलाई हेरिने उनको दाबी छ।

केन्द्रमा साथको खोजी

उपेन्द्र यादव समूहले केन्द्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेको माधवकुमार नेपाल समूहसँग भेट गरेर प्रदेश २ मा पनि नयाँ समीकरण बनाएर निर्माण गर्न सहयोग गर्न आग्रह गरिसकेका छन्।

जसपा अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ मा कांग्रेसले आफूहरुलाई सहयोग गर्नुपर्ने भन्दै नेपाली कांग्रेसको उपसभापति विमलेन्द्र निधीसंग समेत छलफल गरेका छन्।

उपेन्द्र र कांग्रेसबिच छलफल भइरहँदा एमालेको ओली पक्ष भने प्रदेशमा राउत नेतृत्वको सरकार परिवर्तन गर्नैपर्ने पक्षमा उभिएको छ। ओली समूहका नेता सत्यानारायण मण्डलले भने राउत नेतृत्वको सरकार परिवर्तन गरेर नयाँ सरकार बन्नुपर्ने बताउँदै आएका छन्।

‘राउत नेतृत्वको सरकारले यो साढे ३ वर्षमा केही पनि गर्न सकेन। यो सरकारले केही गरोस् भनेर नेकपा एमाले सुरूमा सरकारबाहिर रहने गरी विश्वासको मत दिएकै थियौं’ मण्डलले भने, ‘तर, सरकारले जनभावनाअनुसार काम नगरेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएका थियौं।’

केन्द्रमा अहिले देखिएको गठबन्धन जस्तै प्रदेशमा पनि समीकरण बनाउने पक्षमा मण्डल देखिएका छन्।

भने, ‘म आफैं मुख्यमन्त्रीको रेसमा छैन। तर जसपा अर्थात पूर्व राजपा खेमाका जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने अवस्था आए नेकपा एमालेले समर्थन गर्छ।’

एमाले माधव नेपाल समूहका शत्रुघन महतोले प्रदेशमा आफ्नो समूहको बहुमत दाबी गरिरहेका छन्। मण्डलले भने प्रदेशमा ओली पक्षकै बहुमत रहेको बताउँदै भने, ‘त्यति बेला हामीले शत्रुघन महतोसहितका नेतालाई कारवाही नगरेको भए पनि अहिलेको परिवर्तित परिस्थितिमा महतोसहित उनको खेमामा लाग्ने सांसदलाई पार्टीबाट निष्कासन गरेर कारवाही गर्ने तयारी गरेका छौं,’ मण्डलले भने, ‘महतोलाई त कारवाही हुन्छ नै बाँकी साथीहरूलाई आधिकारिक पार्टीमा आउन भनेका छौं, उहाँहरू सच्चिएर नआए बाँकीलाई पनि कारवाही गर्छौं ।’

प्रदेशसभा को अवस्था

प्रदेश २ मा प्रदेश सभाको गठन हुँदा कुल १०७ जना सांसद थिए। १०७ प्रदेशसभा सदस्यमध्ये माओवादी केन्द्रका ३ जना बर्खास्त भइसकेका छन्। तत्काल कायम रहेको १०४ जनामा पूर्व संघीय समाजवादी पार्टीका ३०, पूर्व राजपाका २५, एमालेका २१, नेपाली कांग्रेसका १९, माओवादीका ८, रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजावदी पार्टीका १ सदस्य छन्।

पूर्व राजपाका दुई जना मन्त्रीहरू नवल किशोर साह सुडी र राम नरेश राय पूर्व सपा खेमातर्फ लागेका कारण सपाको साविकको संख्या ३० बाट बढेर ३२ पुगेको छ। र राजपाको संख्या २५ बाट २ घटेर २३ पुगेको छ। त्यसैगरी नेकपा एमालेमा कुल २१ जना सांसद रहेकोमा १३ सांसदसहित नेपाल–खनाल समूहमा छन्। ओली पक्षमा ८ जना मात्र छन्। खानल नेपाल समूहका एमालेको संसदीय दलको नेतामा शत्रुघन महतो छन्।

त्यसैगरी नेकपा माओवादी केन्द्रबाट १२ जना सांसद रहेका थिए। तर, ३ जना प्रत्यक्ष तर्फका सांसद र १ जना समानुपातिक तर्फका सांसद एमालेको ओली समूहमा लगेपछि प्रदेश सभा सांसदको पदबाट मुक्त गरिएको थियो। समानुपातिक सांसदको ठाउँमा एक जनालाई मनोनयन गरेपछि माओवादी केन्द्रसँग अहिले ८ जना मात्र रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell