PahiloPost

Oct 15, 2024 | २९ असोज २०८१

कोभिड १९ मुक्त हुँदा पनि रोकिँदैन जोखिमको शृङ्खला, अनुशासनको विकल्प देख्दैनन् चिकित्सक



स्वेच्छा राउत

कोभिड १९ मुक्त हुँदा पनि रोकिँदैन जोखिमको शृङ्खला, अनुशासनको विकल्प देख्दैनन् चिकित्सक

जेठ १७ गते विवेकशील साझाका पूर्व अध्यक्ष उज्वल थापाको कोरोना भाइरस पीसीआर रिपोर्ट नेगेटिभ आयो। उनको स्वास्थ्य लाभको कामना गरिरहेका सबैका लागि सकारात्मक सङ्केत थियो त्यो। तर, नेगेटिभ रिपोर्ट आएकै भोलिपल्ट उनको मृत्यु भयो।

उनी संक्रमणमुक्त त भए तर समस्या मुक्त भएनन्। उनको स्वास्थ्य जटिलता बढ्दै गयो। उपचाररत् मेडिसिटी अस्पतालका अनुसार थापाको शरीरका अंगहरुले काम गर्न सकेका थिएनन्। जटिल संक्रमणको प्रभावका कारण उनको स्वास्थ्यमा सुधार ल्याउन सकेनन्, चिकित्सकहरूले।

सामाजिक संजालमा उनको स्वास्थ्यलाभको कामना गरिरहेका मध्ये केहीसँग प्रश्न थियो। उनीहरूले सोधे – संक्रमणमुक्त भएको होइन? कसरी निधन भयो?

यही भ्रम आम मानिसले चिर्न आवश्यक ठान्छिन् पल्मोनरी एण्ड क्रिटिकल केयर विज्ञ डाक्टर रक्षा पाण्डे। संक्रमणमुक्त भएर पनि संक्रमणको असर भने बिरामीको अवस्था अनुरुप दीर्घकालीन हुनसक्ने उनले बताइन्। 'जति नै कडा रोग भएको बिरामीमा पनि एक न एक दिन संक्रमणको नतिजा नेगेटिभ भइहाल्छ। सीमित समयसम्म रहने भाइरसको प्रकृति नै हो। लक्षण देखिने बित्तिकै परीक्षण गराउनुको कारण नै यही हो,' उनले भनिन्।

कोरोनाको लक्षण देखिएपछि पीसीआर परीक्षणमा जति ढिलाइ गर्‍यो, नतिजा पोजेटिभ देखिने सम्भावना त्यति नै कम हुन्छ। तर, संक्रमण नदेखिनुको अर्थ भाइरसले पारेको असर कम हुनु भने होइन।

कोरोनाको हकमा भाइरस फैलिँदै गएर शरीरमा जुन हानी गर्छ त्यो भाइरस मरेपछि ठीक हुँदैन। यसले शरीरमा ‘हाइपर इम्युन रेस्पोन्स’ गराइदिन्छ जसका कारण संक्रमितको फोक्सोमा हानी गर्छ र निमोनिया लगायत अन्य समस्या देखापर्छ।

बिहीवार सेती प्रादेशिक अस्पतालमा कैलाली, बर्दगोरियाकी ६५ वर्षीय वृद्धको मृत्यु भयो। उनमा बुधवारमात्र कालो ढुसीको संक्रमण पुष्टि भएको थियो। मृगौलाको समस्या भोगिरहेका उनमा कोरोना भाइरसको रिपोर्ट भने नेगेटिभ देखिएको थियो।

‘समयमा परीक्षण र उपचारको आवश्यकता नै यस्तै दीर्घकालीन असर रोक्न वा कम गर्नका लागि हो,’ डाक्टर पाण्डेले भनिन्।

कोरोनामुक्त भएपछि पनि देखिएका स्वास्थ्य जटिलताहरू

कोरोना भाइरसको दोस्रो लहरमा संक्रमित हुनेहरूमा कालो ढुसीको संक्रमण पनि पुष्टि हुन थालेको छ। जसको असर कोरोना संक्रमणमुक्त भएको अवस्थामा पनि देखिएको बताउँछन् छाती रोग विशेषज्ञ डाक्टर निरज बम।

म्यूकरमाइकोसिस अर्थात् कालो ढुसी (ब्ल्याक फंगस) ओसिलो ठाउँमा प्राकृतिक रुपमा नै रहन्छ। रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर भएको मानिसमा त्यस्ता ढुसीको संक्रमण हुन्छ।

यसको संक्रमण हुँदा बिरामीको अनुहार, नाक, मुख, आँखा वरिपरि दुख्ने, सुन्निने, रातो हुने समस्या देखिन्छ। संक्रमणले बिस्तारै नाक वरपरको छाला कालो बनाउँछ। दृश्य धमिलो हुनु, गिजा र टाउको दुख्नु अन्य लक्षण हुन्।

कोभिड-१९ संक्रमण भएका र संक्रमणमुक्त भएका मानिसहरूमा पनि यस ढुसीको संक्रमण देखिएको छ। जसले आँखा, नाक र अनुहारमा हानी गरेको घटनाहरू पुष्टि भएका छन्।

क्यान्सर, अंग प्रत्यारोपण गरेका मानिस, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका वा अन्य दीर्घरोग भएका बिरामीको हकमा भने यो प्राणघातक रहेको बताउँछन् डाक्टर बम। उनका अनुसार यो संक्रमणमुक्त भइसकेपछि पनि देखिने जटिलता हो।

कोरोना संक्रमितका लागि स्टेरोइड औषधि बाध्यता एवं आवश्यकता। जसका कारण केही बिरामीको शरीरमा सुगरको मात्रा बढ्यो। तिनै बिरामीमा हो कालो ढुसीको संक्रमण देखिएको।

केही बिरामीको हकमा आँखा र नाकको हड्डी नै निकाल्नु पर्ने अवस्था समेत रहेको उनले जानकारी दिए। 

नेपालमा हालसम्म एक दर्जनभन्दा बढी कालो ढुसीको केसहरु देखिएका छन्। यस्तो संक्रमण देखिने अधिकांशमा कोरोना संक्रमण देखिएको छ। भारतमा ब्ल्याक फंगस हुँदै ह्वाइट र एल्लो फंगससम्म देखिएको छ। कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित भारत अहिले यही 'फंगल इन्फेक्सन' लाई लिएरसमेत चिन्तित बनेको छ। त्यसैले नेपालमा समेत यसलाई लिएर थप सतर्कता अपनाउनुपर्ने चिकित्सकहरु बताउँछन्।

संक्रमण भएपछि आईसीयू वा भेन्टिलेटरमा उपचार गराएका मध्ये निकै कम मानिस अस्पतालबाट घर फर्किए। जति फर्किए तिनमा भने ‘पोस्ट कोभिड फ्राइबोसिस’ देखिएको बताउँछन् डाक्टर बम।

यस्तो समस्या भएका मानिसहरूलाई सास फेर्न नै गाह्रो हुन्छ। थोरै हिँडडुल गर्दा पनि थकान हुने, शरीर काप्ने वा रिंगटा लाग्ने हुन्छ। सामान्यतया शरीरमा अक्सिजन लेभल ८८ देखि ९२ सम्म भए आत्तिनु पर्दैन तर पोस्ट कोभिड फ्राइबोसिस भएकाहरूमा उल्लेख गरिएभन्दा कम संतृप्ति (स्याचुरेसन) देखिन्छ।

‘विशेषगरी अधिक मात्रामा अक्सिजन लिएका वा आईसीयू र भेन्टिलेटरमै उपचार गराएका संक्रमितहरूमा यो समस्या देखिएको छ,’ डाक्टर बमले भने, 'त्यस्ता बिरामीलाई डिस्चार्ज भए पनि आवश्यकता अनुसार घरमै अक्सिजन सपोर्टमा राख्नुपर्छ।'

त्यस्ता मानिस संक्रमणमुक्त भए पनि उनीहरूको दुवै फोक्सोमा दाग रहिरहन्छ। उनीहरूलाई अस्पतालमा राखे पनि अन्य उपचार हुँदैन। प्रतिरोधी क्षमता अनुरुप प्रति मिनेट दुईदेखि चार लिटर अक्सिजन घरमै दिनुपर्छ यस्ता बिरामीलाई।

संक्रमणमुक्त भएका मानिसमा देखिएको अर्को व्यापक समस्या हो मनोवैज्ञानिक। ह्वात्तै बढेको संक्रमण संख्या। पहिलो लहरको तुलनामा अत्याधिक मृत्युदर। आफू वरपर शय्याका बिरामीहरूको चित्कार अनि आँखै अगाडि मानिको मृत्यु। यस्तै दृश्यहरूले मनोवैज्ञानिक समस्या निम्तेको डाक्टर बम बताउँछन्।

‘कोरोनाका कारण हुने सकस र पीडा अस्पतालसम्म पुगेकाहरूले भोगे। त्यसैले उनीहरूमा आघात पर्‍यो। त्रास, चिन्ता र तनाव बढ्यो। अझै केही भइहाल्छ कि भन्ने डर छ उनीहरूमा,’ बमले भने।

स्वास्थ्य ठीक भएर घर गएकाहरू पनि कोही ‘यमराज आएको देखेँ’ भन्दै उनीसम्म आइपुगेका छन्। कोही शारीरिक समस्या बिना काँपिरहेका हुन्छन् भने कोही आत्तिरहेको भेटिन्छन्।

ती बाहेक तौल घट्ने, अरुचि, अनिद्रा, थकान र अस्वभाविक टाउको दुख्नु वा रिंगटा लाग्नु अन्य पोस्ट कोभिडका लक्षणहरू हुन्।

यस्ता लक्षणसँग जुधिरहेकाहरूलाई कोरोना भाइरस वा महामारी सम्बन्धी समाचार नहेर्न सुझाव दिन्छन् डाक्टर बम। 'हाल आफूलाई चाहिँदो जानकारी भरपर्दो र विश्वसनीय भएको खण्डमा दिनमा एक पटक लिनु उचित हुन्छ। सामाजिक सञ्जाल वा मिडियामा अधिकतम समय बिताउनुले अनावश्यक तनाव र चिन्ता बढाउँछ,' उनले भने।

शरीरमा एन्टी बडी भए पनि वा कोरोनाविरुद्ध खोप लगाएको भए पनि सुरक्षा मापदण्डहरू कडा रूपमा पालना गर्नुपर्ने तर्क राख्छन् उनी। मास्कको प्रयोग, पटकपटक हात धुनु, ह्यान्ड स्यानिटाइजरको प्रयोग, भौतिक दूरी, अनावश्यक भिडभाड नगर्ने लगायत कार्यलाई जीवन उपयोगी बानी बनाउनुपर्ने बताए उनले। भने, 'कोभिडका कारण अत्याधिक अप्ठ्यारा भोगेकाहरूले जीवनका लागि पाठ सिकेका छन्। उनीहरू शिक्षक बन्न सक्छन् अरुलाई पनि सुरक्षित रहन सिकाएर।‘

अनुशासनलाई अनुशरण गर्न सके पोस्ट कोभिड लक्षण एवं स्वास्थ्य समस्या रहित बन्न सक्ने डाक्टर रक्षा पाण्डेको पनि सुझाव छ।

'संक्रमणबाट टाढा बस्ने, लक्षणसँग डराउने र परीक्षण गर्ने हो। समयमै उपचार गराउन सके दीर्घकालीन असरहरूलाई कम गर्न सकिन्छ,' उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell