PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रदेश २ सत्ता विवाद : यादव पक्षले छान्यो मुख्यमन्त्री राउतलाई दलको नेता, महन्थ पक्ष भन्छ : अवैधानिक



सुमित मिश्र

प्रदेश २ सत्ता विवाद : यादव पक्षले छान्यो मुख्यमन्त्री राउतलाई दलको नेता, महन्थ पक्ष भन्छ : अवैधानिक

जनकपुरधाम : केन्द्रको सत्ता समीकरणको प्रभाव प्रदेश २ मा पनि देखिन थालेको छ। प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टीमा केन्द्रमा देखिएको विग्रहको असर प्रदेशमा पनि पर्न थालेको छ।

केन्द्रमा जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो समूह सरकारमा सहभागी भएसँगै प्रदेश सरकारमा त्यसको असर पर्न थालेको हो। जनता समाजवादी पार्टीका उपेन्द्र यादव समूहले प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरधाममा चलिरहेको बैठकमा संसदीय दलको नेतामा राउतलाई चयन गरिएको जसपाका एक प्रदेशसभा सदस्यले जानकारी दिए। बैठकले जनता समाजवादी पार्टीको संसदीय दलको विधान समेत पारित गरेको ती नेताले जानकारी दिए।

केन्द्रमा महन्थ-राजेन्द्र पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि प्रदेश २ मा समेत सरकार परिवर्तन हुने चर्चा सुरु भएको छ। यही बिच अध्यक्ष उपेन्द्र यादवले आफ्नै उपस्थितिमा बैठक बोलाएर संसदीय दलको विधान पारित गराउनका साथै संसदीय दलको नेता समेत चयन गराएका हुन्।

बैठकमा तत्कालीन संघीय समाजवादी पार्टीका ३० जना र तत्कालीन राजपाबाट ६ जना प्रदेशसभा सदस्य गरी ३६ जनाले निर्णयमा हस्ताक्षर गरेको ती सदस्यले दाबी गरे। त्यस्तै, अन्य सदस्यलाई पनि हस्ताक्षर गराउने तयारी भइरहेको उनले बताए।

३६ भन्दा बढी प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सहित प्रदेशसभा सचिवालयलाई लालबाबु राउत दलको नेता चयन गरिएको जानकारी दिने तयारी अन्तिम चरणमा रहेको बताइएको छ। 

यसैबिच जसपाको बैठकमा पार्टी सरकार बचाउने क्रममा अल्पमतमा पर्ने अवस्था आएमा मन्त्रालयहरुलाई फुटाएर त्यसको संख्या समेत बढाउने तयारी चलिरहेको छ। श्रोतका अनुसार सामाजिक विकास मन्त्रालय फुटाएर सामाजिक र स्वास्थ्य मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर उद्योग, वन तथा वातावरण र पर्यटन मन्त्रालय बनाउने र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय फुटाएर भूमि, कृषि र सहकारी मन्त्रालय अलग अलग बनाउने तयारी समेत भइरहेको छ।

त्यस्तै सरकार जोगाउन कांग्रेसको समर्थन समेत मागिएको छ।

चोर बाटोबाट दलको नेता चयन अमान्य : महन्थ ठाकुर समूह

यसै बिच जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुले आफूहरुलाई संसदीय दलको नेता चयनको विषयमा कुनै जानकारी नभएको प्रतिक्रिया दिएको छ।

यादव पक्षले संसदीय दलको विधान पारित गर्नुका साथै दलको नेता समेत चयन गरिएको बताइरहँदा तत्कालीन राजपा र हाल ठाकुर पक्षका सचेतक समेत रहेका प्रदेशसभा सदस्य परमेश्वर साहले आफूहरुले संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउत चयन गरिएको सम्बन्धमा सञ्चारमाध्यमहरुबाटै थाहा पाएको बताए।

उनले भने, ‘बैठक कहाँ बस्यो, कसले गठन गर्‍यो? कुन प्रक्रियाबाट गर्‍यो? हामीलाई जानकारी छैन। कसैले  चोरबाटोबाट दलको नेता चयन गरेको हुनसक्छ त्यो बेग्लै कुरा हो। तर, हामीलाई औपचारिक रुपमा केही जानकारी छैन।’

नेता साहले अहिलेसम्म संसदीय दलको विधान नै नबनेको अवस्थामा दलको नेता चयन हुनु आफैँमा हाँस्यास्पद रहेको टिप्पणी गरे। ‘संसदीय दलको विधान प्रदेश समितिमा पास हुनुपर्नेमा प्रदेश समिति पनि बनेको छैन,' साहले भने, ‘पार्टीको विधानको धारा २८ मा संसदीय दलको विधान प्रदेश समितिले अनुमोदन गरेपछि मात्र लागू हुने कुरा उल्लेख रहेको छ। प्रदेश समिति नै छैन भने विधान कसरी बन्यो? यदि संसदीय दलको नेतामा कसैलाई चयन गरिएको छ भने त्यो गैर वैधानिक र गैरकानूनी रहेको छ। पार्टीको विधानभन्दा माथि कोही हुन सक्दैन।’

त्यस्तै, जसपा नेपालका कार्यकारिणी सदस्य र पूर्व राजपाका संसदीय दलका नेता समेत रहेका प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले मुख्यमन्त्री लालबाबु राउतलाई संसदीय दलको नेता चयन गरिएको बारेमा आफूलाई कुनै जानकारी नरहेको बताए।

जसपा संसदीय दलमा ५५ जना सदस्य छन्। दलको नेता बन्न २८ जना सांसदको समर्थन चाहिन्छ। प्रदेश २ मा पूर्व संघीय समाजवादी फोरमका ३०, पूर्व राजपाका २५, एमालेका २१, कांग्रेसका १९ र माओवादी केन्द्रका ८ तथा एक जना स्वतन्त्र गरी कूल १०४ जना सांसद छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell