PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रदेश २ : प्रदेशसभामा विनियोजन विधेयक पेस, मंगलवार विधेयकमाथि छलफल हुने



सुमित मिश्र

प्रदेश २ : प्रदेशसभामा विनियोजन विधेयक पेस, मंगलवार विधेयकमाथि छलफल हुने

जनकपुरधाम : आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रदेश सभामा विनियोजन विधेयक २०७८ को सिद्धान्त, उद्देश्य, विधेयक तथा प्राथमिकता प्रस्तुत गरेका छन्।

आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ मा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र नीतिहरु छलफलका लागि प्रस्तुत गरेका हुन्।

सो विनियोजन विधेयकमा विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीको दोस्रो लहरले पारेको प्रभावलाई नियन्त्रण गर्दै प्रदेशको आर्थिक गतिविधिलाई चलायमान बनाउन आर्थिक वर्ष ०७८/०७९ को विनियोजन विधेयकको सिद्धान्त, उद्देश्य, प्राथमिकता र नीतिहरु समावेश गरिएको छ।

प्रदेशसभामा प्रस्तुत गरिएको विधेयकमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहहरुमा हाल देखिएको कोरोना महामारी, नियन्त्रण गर्न र आम नागरिकहरुको जीउ ज्यानको रक्षाको लागि चालेको कदमले संघीयताको महत्वलाई स्थापित गरिएको बताइएको छ।

मन्त्री यादवले प्रस्तुत गरेको विधेयकमा कोरोना महामारी नियन्त्रणको लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण देशको समग्र अर्थ व्यवस्थामा गम्भिर असर परेको अवस्थामा प्रदेश सरकार समेत राजस्व संकलनमा संकुचन आएको उल्लेख गरिएको छ। यस विषम परिस्थितिले अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनिकरण गर्दै आर्थिक गतिविधि गतिशील बनाउनु पर्ने उल्लेख गरिएको छ।

मन्त्री यादवले भने, ‘मैले संविधानले निर्दिष्ट गरेको लोककल्याणकारी राज्यको अवधारणा, समाजवाद उन्मुख अर्थतन्त्र, संविधानको नीति निर्देशक सिद्धान्त, मौलिक हकको कार्यान्वयन, मानव अधिकारको रक्षा र नागरिकको विकासको आकांक्षालाई प्रमुख मार्गदर्शनको रुपमा लिएको छु।’

मुलुकको पन्ध्रौँ आवधिक योजना, प्रदेशको पहिलो आवधिक योजना, दिगो विकासका लक्ष्यहरु, राज्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिवद्धता र अठोट तथा प्रदेश सरकारका विगतका नीति तथा कार्यक्रम, जनता समक्ष गरिएका प्रतिवद्धतालाई पूरा गर्ने  आगामी आर्थिक वर्षको बजेट लक्षित हुने उनले बताए।

प्रदेश सरकारबाट विगतका वर्षहरुका महत्वकांक्षी प्रादेशिक योजना तथा कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजाने गरी आर्थिक वर्ष ०७८/०७९ को बजेट केन्द्रित रहने समेत उनले बताए।

प्रदेशसभाको छैठौँ बैठक पूर्व सांसद जसपाका संसदीय दलका उपनेता रामअशिष यादव, एमालेका संसदीय दलका नेता सत्रुधन महतो र कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव र नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद यादव र सांसद सावित्री देवी साहले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

यता आज महन्थ पक्षका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनालसहित ४ मन्त्रीलाई प्रदेश सरकारले बर्खास्त गरेपछि रुष्ट भएका तत्कालिन राजपाका सांसदहरूले जसपाको संसदीय दलको नेतामा एक्लौटी ढंगले मुख्यमन्त्री लालबाबु राउतले निर्णय गरेको आरोप लगाउँदै उनीहरु प्रदेशसभा बैठकमा सहभागी नै भएनन्।

प्रदेशसभा बैठक जेठ २५ गते मंगलवार दिउँसो १ बजे पुनः बस्ने सभामुख सरोजकुमार यादवले जानकारी दिए। मंगलवार बस्ने बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell