PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

कोरोना संक्रमणका कारण कलाकार एवं संस्कृतिविद् एकाराम सिंको निधन



कोरोना संक्रमणका कारण कलाकार एवं संस्कृतिविद् एकाराम सिंको निधन

काठमाडौं : कोरोना संक्रमणका कारण वरिष्ठ कलाकार एवं संस्कृतिविद् एकाराम सिंको निधन भएको छ। करुणा अस्पतालमा आइसियूमा उपचाररत रहेका सिंको सोमबार साँझ ४ बजे निधन भएको उनको परिवारिक स्रोतले जनायो।

५३ वर्षीय सिंह वैशाख ३१ गते अस्पताल भर्ना भएका थिए। २०२५ सालमा जन्मिएका सिं काठमाडौंको अनामनगरमा बस्दै आएका थिए। बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका महासचिवसमेत रहेका सिं हालै नेपाल बाल साहित्य समाजमा सदस्यमा निर्वाचित भएका थिए। संस्कृति र इतिहासमा रुचि राख्ने सिंको बालसाहित्यसम्बन्धी थुप्रै किताबमा चित्रकला समेटिएको छ। 'मूर्ति बनायो, हात गुमायो' नेपाल भाषाको चित्रकथा उनको पछिल्लो कृति थियो।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्याले उनको निधनमा गहिरो दु:ख व्यक्त गरेका छन्। 'एकाराम सिं अब हामीबीच रहनुभएन।, प्रतिभाशाली एवं सिद्धहस्त, मेरो धेरै काम कार्यमा साथ सहयोग दिइरहेका, मेरो प्रिय विद्यार्थी, सालिन, सरल र परिश्रमी, मिलनसार र इतिहास संस्कृतिमा विषेश अध्ययन र अनुसन्धानमा क्रियाशील एबं बाल साहित्यमा सक्रय रहेका वरिष्ठ चित्रकार आज दिउँसो ब्रह्मलीन भएको खबरले सबैलाई मर्माहित बनाएको छ,' कुलपति कर्माचार्याले फेसबुकमा लेखेका छन्, 'यो खबरले म भावविह्वाल भएको छु। दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै सम्पूर्ण कलाकारको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं!'

बाल वाङ्मय तथा अनुसन्धान केन्द्रले उनको निधनलगत्तै आकस्मिक बैठक बसी शोक प्रस्ताव पारित गरेको छ।

सिंले नेवार संस्कृति र दर्शन झल्काउने धेरै चित्रहरु बनाएका थिए। उनी नेवार कला र परम्पराका ज्ञात समेत थिए। पछिल्लो पटक उनले काठमाडौं महानगरपालिकाले लागू गरेको स्थानीय पाठ्यक्रमका लागि काठमाडौंको कला, संस्कृति र परम्परा झल्कने चित्रहरु बनाएका थिए। काठमाडौं महानगरभित्रका विद्यालयमा नेपालभाषा अध्ययन गराउनुपर्छ भन्ने लबिङमा उनी पहिला देखि नै सक्रिय थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell