PahiloPost

Oct 15, 2024 | २९ असोज २०८१

अनि छोरी रोएको खबरले खुशी चुलियो …



स्वेच्छा राउत

अनि छोरी रोएको खबरले खुशी चुलियो …

दीपकको कालो रङको झोलामा दूध हाल्ने सानो बट्टा छ। केही रसिद र रिपोर्टहरू पनि। तर, पनि हलुका छैन त्यो झोला। हरेकपटक काँधमा भिर्दा जिम्मेवारी र डरको भारीले थिच्छ उनलाई।

जोरपाटीबाट स्कुटर लिएर निस्किँदा हतारो हुन्छ उनलाई। पुग्नुपर्ने पाटन अस्पताल। चिन्ता हुन्छ ­– निषेधाज्ञा कडा बनाउन तैनाथ भएकाहरूले कति ठाउँमा रोक्लान्? अनि कतिलाई रिपोर्ट देखाउँदै भन्नु पर्ला – आमाको दूध भर्खर जन्मेको बच्चाका लागि लिएर हिँडेको हुँ हजुर!

ठाउँठाउँमा स्कुटरको रफ्तार कम गर्दै, स्पष्टीकरण दिँदै पुग्छन् अस्पताल। त्यहाँ पुगेर हात धुन्छन्। अनि उक्लन्छन् एनआईसीयूतर्फ। त्यहाँ छिर्नुअघि चप्पल फेर्छन्। एप्रोन भिर्छन्। झोलामा राखेको दूधको बट्टा नर्सलाई जिम्मा लगाउँछन्। त्यही बट्टाले त जोडेको छ झण्डै १३ किलोमिटर पर रहन बाध्य आमा र छोरीलाई।

मुखले केही बोल्नुअघि उनका आँखाले प्रश्न गरिसकेका हुन्छन्। वार्डमा खटिएका नर्सले त्यो मौन भाषा बुझेरै भन्छन्, 'छोरीलाई ठीक छ। हिजोभन्दा बढी खेलेकी छ। रोएकी छ। गएर हेर्नुस् त।'

झोला बिसाउनु र राहतको सास फेर्नु एकै पटक हुन्छ।

दीपक छोरीलाई सुताएको शय्या नजिकै पुग्छन्। छोरीको सामुन्ने उभिएर हात जोड्छन्, आँखा चिम्म गर्छन् अनि प्रार्थना गर्छन्। कामनामा मात्र होइन जीवनमा पनि अटाउनु छ पाइपको सहारामा बाँचिरहेकी ती सानी नानीलाई।

आँखा खोलेपछि एकटक घोरिएर हेर्छन् छोरीलाई। र, लाडिएको मायालु लवजमा सोध्छन् – ‘नानीलाई कस्तो छ? बाबालाई चिन्यौ? मम्मीले तिमीलाई धेरै सम्झिएकी छिन् है।’

उनलाई थाहा छ छोरी बोल्दिनन्। तर, आफ्नोपन आफ्नो मान्छे नजिकै पर्दा समेत महसुस हुन्छ भन्नेमा विश्वस्त छन्। विश्वास नै सेतु हो उनले भोगिरहेको अभाव र जागिरहेको आशा बिचको। आफू एकोहोरो बोल्दा छोरी हाँसेजस्तो लाग्छ उनलाई। छेउमा उभिएकी नर्ससँग भन्छन् – आमाको छातीको न्यानो पाए कति रमाउलिन् है?

तर, त्यो न्यानोसम्म पुग्न लामो यात्रा तय गर्नु छ त्यो बच्चीले, जसलाई जीवन र सम्बन्धको अर्थ थाहा नै छैन। तर, उनको जीवन र सम्बन्धको अर्थ छ। ठूलो अर्थ छ उसको कोमल शरीरको स्पर्शको, सास फेर्दा निस्कने मधुरो आवाजको, मस्त निदाउँदा तल माथि गर्ने छातीको जसलाई महसुस गर्न पाएका छैनन् दीपक र उनकी श्रीमतीले।

'आफ्नो सन्तान पेटमा छँदै माया पलाउँदो रहेछ। एक पटक देखेपछि त झन् कहिल्यै आँखाबाट हटाउन मन नलाग्ने हुँदो रहेछ,' दीपकले भने, 'अहिले केहीबेरलाई हेर्न पाएको छु। छोरीलाई यो दु:खमा देख्दा गाह्रो हुन्छ। लाग्छ – अलिकति बढी होस पुर्‍याएको भए…।'

वाक्य पूरा गर्न सक्दैनन् उनी। उस्तै अधुरो छ अहिले दीपकको परिवारले बाँचिरहेको जीवनका केही हरफहरू।

गत वर्ष लकडाउनदेखि खप्टिएको घरभाडा तिरिसकेका छैनन्। साउदी अरबको एउटा होटलले कामको लागि स्वीकृति दियो तर पासपोर्टमा भिसाको छाप लागिसकेको छैन। श्रीमतीको शरीरमा प्रसव बेदनासँगै लागेका चोट, अनि भोगेको पीडा कम भइसकेको छैन।

भर्खरै जन्मिएकी छोरीको तौल अपूरो। आजकाल त गाँस पनि आधा मात्रा रुच्छ। भोक पनि आधा मात्र मेटिन्छ उनीहरूको। बोली र वचनले मान्छे जितेका थिए र पो जेनतेन जुटाइरहेछन् उपचार र औषधीको खर्च।

+++

सुत्केरी खर्च जुटाउनकै लागि जोखिम् मोलेकी थिइन् दीपककी श्रीमती रश्मीले। गर्भवती भएको सात महिना टेक्दा पनि उही दैनिकी - जोरपाटीदेखि रातोपुलसम्म स्कूटरको यात्रा। दिनभर म:म पोको पार्ने काममा खटिन्थिन्। बेलुकी उसैगरी फर्किँन्थिन्।

तीस दिन कटेपछि थाप्थिन् १५ हजार रुपैयाँ। तोकिएकै समयमा बच्चा जन्मिए, कमाउनका लागि अझै दुई महिना बाँकी थियो। त्यतिन्जेल काम गर्न सके दीपकको कमाइ घर भाडा तिर्न, रासन पानी किन्न खर्चने। आफ्नो कमाइ सुत्केरी हुँदा पौष्टिक खाने, बच्चालाई लुगा किनिदिने र अस्पतालमा खर्चने हिसाब गरेकी थिइन्, उनले।

तर, निषेधाज्ञा सुरु हुनुअघि नै उनको जागिर ठप्प भयो। त्यतिखेर उनलाई हल्का खोकी लाग्न थालेको थियो। खोकीसँगै बढ्दै गयो उनको रक्तचाप। काँप्न थालिन्। दाँत किट्ने, सुन्निएका हात खुट्टा बाङ्गो हुन थाल्यो।

नियमित जाँच गराइरहेको नेपाल मेडिकल कलेज पुर्‍याए दीपकले। समस्या पहिचान भयो तर उपचार सम्भव भएन त्यहाँ। कारण – कोरोना संक्रमितको चापका कारण आईसीयू खाली रहेनछ। घर फर्किए। राति फेरि उही समस्या दोहोरियो। 'अस्पतालले प्रेसर र ज्वरो जाँच गरिदिएको भए सायद बिमारले चाप्दैनथ्यो,' दीपकले गुनासो गरे।

डाक्टरहरूको सुझाव अनुरुप पाटन अस्पताल लगियो रश्मीलाई। त्यहाँ उनमा कोरोना भाइरसको संक्रमण परीक्षण गरियो। नतिजा आयो – पोजेटिभ। त्यहाँ पनि कोभिड-१९ आईसीयू कहाँ खाली हुनु?

'आईसीयूमै राखेर गर्नुपर्ने थियो उपचार तर थिएन। जे हुन्छ जसो हुन्छ भगवानमाथि नै भरोसा गरेर श्रीमतीलाई सामान्य वार्डमा राख्‍न राजी भएँ। विकल्प नै कहाँ थियो र?,' उनले सुनाए।

त्यसपछि श्रीमतीलाई देख्‍न पाएनन्, छुन पाएनन्। उनको पीडामा सँगै रुन पाएनन्। अस्पतालको प्यासेजमा कालो म्याट्रेस ओच्छ्याएर पर्खिए भित्रबाट आउने खबर। खबरसँगै आइलाग्थ्यो चुनौतीहरू पनि।

रश्मीलाई जोगाउन र गर्भको बच्चालाई जोगाउन तत्काल डेलिभरी गराउनु पर्ने कुरा आयो। सहमतिमा मुन्टो हल्लाउन बाहेक केही गर्न सकेनन्। औषधि दिएर व्यथा लगाउने र नर्मल डेलिभरी गराउने कुरा भएको थियो। तर, रश्मीको स्वास्थ्य जटिलताका कारण त्यो सम्भव भएन। शल्यक्रिया नै गर्नुपर्‍यो – उच्च रक्तचापले निम्त्याउने सक्ने दुर्घटनाको त्रास बिच।

डाक्टरहरूले त आमा जोगाउँ, बच्चा भन्न सकिँदैन भनेका थिए। तर, 'हस्' भन्न सकेनन् दीपकले। चुपचाप पर्खिए। 'डाक्टरहरूले आफ्नो काम गरुन् बाँकी काम भाग्यले गर्छ भन्ने सोचेँ,' उनले भने।

कोही नहुँदा, केही नहुँदा आखिर त्यही विश्वास रहेछ मान्छेसँगै बलियो भएर उभिने।

वैशाख २१ गते उनीहरूको छोरी जन्मिइन्, ८ सय २० ग्रामकी। सामान्यभन्दा हजार ग्राम कम तौल। समस्याले यसैगरी पच्छ्याइ रहेको थियो। भोलिपल्ट नवजातमा पनि कोरोनाको संक्रमण पुष्टि भयो। सात महिना पनि पूरा नभइ जन्मिएकी उनमा स्वास प्रस्वासको समस्या देखियो। कारण – शरीरका अंगहरू विकास हुन नपाउनु।

'यही सन्तानका लागि सजिलो होस् भनेर थियो मरिमेटेर काम गरेको। आखिरमा उसैले जन्मदै सबै दु:ख भोग्नु पर्‍यो,' दीपकले भने, 'काममा नगएको भए सायद यो दिन देख्‍नु पर्दैन थियो कि?'

नवजात छोरीले कोखबाट निस्किएर आमाको काख पाइनन्। जन्मनासाथ डाक्टरले 'छोरी भइन्' भनेर उचाल्दा रश्मीले झलक्क देखेकी थिइन्। दीपकलाई फोनमा सुनाइ हालिन् – नानी त निक्कै सानी छ। उनले खुशीको आँशु झार्दै जवाफ फर्काएका थिए – जत्री भए पनि छोरी त छ। आमा वा बच्चा जोगाउने विकल्पलाई विश्वासले जितेको क्षण थियो त्यो।

+++

रश्मी सन्तान जन्माएको चौथो दिन डिस्चार्ज भइन्। घर जानुअघि छोरीको अघिल्तिर पुर्‍याइदिएका थिए उनलाई। आफूले कल्पना गरेभन्दा सानी अनि पाइपहरूले बेरिएकी छोरी देख्दा पिल्पिलिइन्। केहीबेर बोलाएकी पनि थिइन्, प्रतिक्रिया जनाउँदिनन् भन्ने थाहा हुँदाहुँदै। कहीँ कतै स्वास्थ्यकर्मी बिच गाइँगुइँ सुनेकी थिइन् – बच्चा जति रोयो त्यति ठीक हुँदै जान्छ। तर, आफ्नी छोरीलाई शान्त देख्दा खिन्न मन लिएर फर्किइन् उनी।

घर फिरेपछि यस पटक कोखसँगै कोठा पनि रित्तो लाग्यो उनलाई। दीपकले अस्पतालबाट ल्याउने खबरको पर्खाइ हुन थाल्यो। सुखद् खबरले भर्न थाल्यो, हृदय।

'समय अगावै जन्मने शिशुहरूमा शरीरका अंग विकास नभएर हो जटिलता देखिने। यी नानीको हकमा पनि त्यही भएको हो। उसलाई स्वासप्रस्वास र पाचनमा समस्या थियो। औषधिको प्रयोगले बिस्तारै ठीक हुँदै गयो,' उनको उपचारमा खटिएकी बालरोग विशेषज्ञ डाक्टर अर्चना नेपालले भनिन्।

अहिले पनि छिनछिनमा सास धिमा हुने अनि खाना पचाउने औषधि चाहिँ दिइएको सुनाइन्। डाक्टरले भनेकी छिन् १८ सय ग्राम भएपछि छोरीलाई घर लग्न पाउनु हुन्छ। त्यसैले हरेक दिन दीपक सोध्न भुल्दैनन् – आज कति ग्राम पुगी? हाँस्न अनि चल्मलाउन थालेकी छोरीलाई देखेर दङ्ग दीपकलाई हेर्दै शुक्रवार डाक्टरले भनेकी थिइन् - ९ सय ५० ग्राम।

अस्‍पतालमै यो दम्पतीले भोगे – गर्भावस्थामा कोभिड, कोभिड भएकाको समय अगावै डेलिभरी, कम तौलको बच्चा र एनआईसीयूमा राखेर उपचार आफूले मात्र भोग्नु परेको होइन रहेछ। अरुको पनि उस्तै अवस्थामा देख्दा पीडा बाँडिएको महसुस गरे।

डाक्टर अर्चनाका अनुसार पछिल्लो महिना २६ जना मध्य ३ महिलाको समयअगावै ‘प्रि-मच्योर‘ डेलिभरी भएका छन्। सामान्यता ११ देखि १३ प्रतिशत महिलाको समय अगावै डेलिभरी हुने बताउँछिन् उनी। 'कोरोना संक्रमण भए प्रिटर्म डेलिभली हुने वा कम तौलको बच्चा जन्मने त्रास धेरैमा पाइयो। तर, त्यसो होइन। भएको खण्डमा पनि आवश्यक औषधि, उपचार सम्भव छ। त्यस्तो अवस्थाका लागि हामी छौं नि,' उनले भनिन्। 

उपचारमा खटेका डाक्टर र नर्सप्रति धन्य छन् दीपक र रश्मी। धन्य हुँदाहुँदै पनि अभाव भने उस्तै छ। अझै केही समय निषेधाज्ञा बढे कसरी खाने, छोरीको उपचारलाई कसरी जुटाउने, थपिँदै गएको घरभाडा कसरी तिर्ने? अन्यौलता छ। तर, पनि हरेक दिन छोरीको स्वास्थ्य सुधारको खबरले सुख दिएको छ। सुख स-साना संकेतहरूमा, डाक्टर नर्सको एउटा शब्दमा, रश्मीलाई देखाउन दीपकले खिचेको भिडियोमा छोरीले आँखा खोल्नुमा पाइरहेका छन्।

अस्पतालबाट फर्किएर दीपक फुरुङ्ग हुँदै रश्मीलाई सुनाउँछन् – आज छोरी रोइ रे! रश्मी औधी खुशी हुन्छिन्। किनकि डाक्टरले भनेका छन् – उपचार भइरहेको बच्चा रोएको राम्रो। राम्रो हुनुको अर्थ रश्मी र छोरीको छिट्टै भेट हुनु। छिट्टै भेट्नुको अर्थ पाइपको सहारामा बाँचिरहेकी ती सानी नानीले आमाको छातीको न्यानो र ममतामयी स्पर्श पाउनु।

(नोट : यो रिपोर्टमा उल्लेख गरिएका दुई पात्रहरु दीपक र रश्मी दुवैको नाम परिवर्तित हो। उनीहरुको चाहना बमोजिम हामीले फरक नाम दिएका हौं।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell