PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भारतमा विवादित 'कोरोनिल' : नेपालमा भने आयुर्वेदिक औषधिको मान्यता पाउने प्रक्रियामा?



स्वेच्छा राउत

भारतमा विवादित 'कोरोनिल' : नेपालमा भने आयुर्वेदिक औषधिको मान्यता पाउने प्रक्रियामा?

काठमाडौं : गत साता पतञ्जलि योगपीठले नेपाललाई कोभिड-१९ विरुद्धको किट उपलब्ध गरायो। तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले उक्त सहयोग बुझे। पतञ्जलिले स्वासारी ट्याब्लेट, कोरोनिल ट्याब्लेट र नाकमा राख्ने अणु तेलको १५ हजार प्याकेट मन्त्रालयलाई सहयोग गरेको हो।

तर, उक्त किटमा समावेश कोरोनिल नेपालमा दर्ता भएको छैन। दर्ता नभएको औषधि बिक्री तथा वितरण परको कुरा आयातसमेत गर्न पाइँदैन। प्रक्रिया अनुरुप दर्ता भएकै औषधि पनि आयात गर्नुअघि औषधि व्यवस्था विभागको अनुमति आवश्यक पर्छ। रोचक त कोरोनिल कसरी आयो पत्तो नपाइ एकजना मन्त्रीले दाताको तर्फबाट हस्तान्तरण गर्ने र अर्को मन्त्रीले बुझ्ने काम भयो।

पतञ्जलिले कोरोनिल दर्ताको लागि केही समय अगाडि नै प्रक्रिया अगाडि बढाए पनि हालसम्म दर्ता नभइसकेको पुष्टि गरे औषधि व्यवस्था विभागका औषधि व्यवस्थापक एवं सूचना अधिकारी सन्तोष केसीले। दर्ता प्रक्रिया पूरा नभइ त्यसलाई वितरण गर्न नमिल्‍ने उनको भनाई छ।

'हाललाई वितरण चाहिँ रोकेका छौं। दर्ता भएपछि आयुर्वेदिक औषधिको रुपमा बिक्री हुन्छ,' उनले प्रष्ट्याए। उनका अनुसार अनुमति बिना नै नेपाल भित्रिएको औषधिको हाल दर्ता प्रक्रिया अघि बढेको छ।

औषधि ऐन २०३५ को परिच्छेद – ४ को दफा १० बमोजिम प्रमाणपत्र लिएको व्यक्तिले दफा ८(क) बमोजिम दर्ता भएको औषधि मात्र बिक्री वितरण गर्न पाउने उल्लेख छ । यसरी कानून विपरित गरिएको आयातविरुद्ध कारवाहीको साटो अझै पनि कोरोनिललाई के गर्ने? टुङ्गो नभएको बताउँछ सम्बन्धित निकाय।

कोरोनिललाई नेपालमा अनुमति दिलाउन पतञ्जलिले गत वर्षदेखि नै प्रयास गरेको बताउँछन् तत्कालिन महानिर्देशक नारायण ढकाल। 'त्यतिबेला कोरोनाविरुद्धको औषधि भनिएको थियो। हामीले उहाँहरूको दाबीमा वैज्ञानिक आधार र प्रमाण माग्यौं,' ढकालले पहिलोपोस्टसँगको कुराकानीमा भने, 'फेरि औषधि बनाउने कम्पनी नै प्रश्नको कसीमा थियो।' त्यतिबेला उक्त कम्पनी नविकरण भएको थिएन।

आयातसँगै त्यसलाई सरकारको तर्फबाट बुझ्ने काम पनि प्रक्रिया नपुर्‍याइ भएको बताउँछन् स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेल।

'दर्ता नभएको औषधि मन्त्री ज्यूले नै बुझ्ने काम मन्त्रालयमा चिठ्टी काटेर, प्रक्रिया पुर्‍याएर भएकोजस्तो लाग्दैन,' प्रवक्ता पौडेलले भने।

उनले यस घटनाक्रमबारे जानकारी सामाजिक सञ्जाल एवं सञ्चार माध्यममा फोटोहरू सार्वजनिक भएपछि थाहा पाएका रहेछन्।

भने, 'विज्ञताको हिसाबले मलाई आयुर्वेदिक औषधिबारे खासै जानकारी छैन। तर हाललाई वितरणमा भने रोक लगाइएको छ।'

यो औषधिलाई विश्व स्वास्थ्य संगठनले कोरोनाविरुद्ध प्रयोगका लागि स्वीकृति दिएको छैन।  औषधि र मेडिकलजन्य सामाग्रीहरूको नियमनकारी संस्था ड्रग कन्ट्रोलर जेनेरल अफ इन्डियाले पनि औषधिको मान्यता नदिएको हिन्दुस्तान टाइम्समा जनाइएको छ। जसका कारण हाल कोरोनिल भारतमै पनि विवादित छ। पतञ्जलिले उत्तराखण्डको कोभिड-१९ किटमा त्यसलाई समावेश गर्ने प्रस्ताव राज्यमा पेश गरेपछि यसबारे विवाद चर्किएको हो।

उत्तराखण्डको इन्डियन मेडिकल एसोसियसनले भने कोरोनिलले विश्व स्वास्थ्य संगठनको स्वीकृति नपाएकै कारण पतञ्जलिको प्रस्ताव अस्वीकार गर्‍यो। एसोसियसनले उक्त औषधि राज्य स्तरको कोभिड-१९ किटमा समावेश गर्दा 'मिक्सोपेथी'मा परिणत हुने बताएको छ। मिक्सोपेथी अर्थात् न पूर्ण एलोप्याथी न पूर्ण आयुर्वेदिक। यसको मेडिकल विज्ञानमा कानूनी परिभाषा छैन।

एक वर्ष पहिले पनि उत्तराखण्ड सरकारले पतञ्जलिलाई 'कोरोना भाइरसको औषधि' उत्पादन गर्न कुनै अनुमति नदिएको बताएको थियो। कोरोनिललाई भारत केन्द्र सरकार अन्तर्गत आयुर्वेदिक औषधिहरूको निरीक्षण गर्ने 'आयुष'ले 'फुड सप्लिमेन्ट'को मान्यता दिएको थियो। तर, बाबा रामदेवले त्यहाँको राष्ट्रिय टेलिभिजनहरूमार्फत् त्यसलाई औषधि नै भएको दाबी गरिरहे। र, नेपालमा भने त्यसलाई आयुर्वेदिक औषधिको रुपमा दर्ता हुने प्रक्रिया अघि बढेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell